मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शक्तिले चलेको चलचित्र उधोग - सुमन गैरे

फिल्मीखबर, काठमाण्डौ, २०६८ कार्त्तिक ४, शुक्रवार

नेपालीमा एउटा उखान छ नि 'नेपालको कानुन दैवले जानुन्'। हो, यस्तै छ नेपालको हरेक क्षेत्रमा । कानुन त छ तर लागु हुँदैन । त्यसैले त माथिको उखान सधैं भरी लागु भईरहने गर्दछ । नेपालको हरेक क्षेत्रमा जस्तै चलचित्र क्षेत्रमा पनि माथिको उखान सान्दर्भिक हुने गरेको छ ।

 

नेपाली चलचित्र क्षेत्र भित्र राजनैतिक चलखेल भईरहेको कुरा सर्वविदितै छ । पछिल्ला घटनाहरू हेर्ने हो भने त यस क्षेत्रमा न नियम छ न कानुन नै । सबैतिर ठूलाठालाको हैकम चलेको छ । निर्धाहरू पिल्सिएका पिल्सियै छन् । नियम नभएको क्षेत्रमा के हुन्छ पक्कै पनि अनुमान लगाउनु भएकै होला । उदाहरणहरू प्रशस्तै छन् । होल्डओभर कायम हुँदाहुँदै चलचित्र रिप्लेस गरिनु, चलचित्रमा सेन्सर लागेका दृश्य, संवादहरू नकाटी प्रदर्शन गर्नु, हिन्दी चलचित्रलाई बढावा दिनु, बितरकको मनोमानी हुनु आदि इत्यादी घटनाहरू अझै पनि ताजै छन् ।

 

अहिले पछिल्लो उदाहरणको रूपमा क्यू सिस्टमको लफडा रहेको छ । बर्षौं देखि चलचित्रकर्मीहरूले क्यू सिस्टम भन्दै आफ्ना चलचित्रहरूलाई लाईनमा राखेर प्रदर्शन गर्दै आएको हामीसँग रेकर्ड नै छ । तर पनि बेला बेलामा यो क्यू सिस्टमको बिबाद आईरहेको हुन्छ र अहिले त यो बिबाद चरमउत्कर्षमा पुगेको छ । यो बिबाद निम्त्याउने काम दुई चलचित्र 'मेरो लभ स्टोरी' र 'अन्दाज' ले गरेका हुन् ।

 

राजधानीको बिश्वज्योती हल र गंगा हललाई क्यू सिस्टम अर्न्तगतको हलमा राखिएको छ । जहाँ बर्षौं देखि पालो कुरेर बसेका चलचित्र प्रदर्शन हुने गर्दछन् । तर यो दशैंको बेला भने चलचित्र 'मेरो लभ स्टोरी' र 'अन्दाज' क्यू तोडेर प्रदर्शन भए । शुरूमा 'मेरो लभ स्टोरी' चल्यो भने त्यसको एक साता बित्न नपाउँदै 'अन्दाज' चल्यो । तर नियमले चल्नुपर्ने चलचित्र 'राज्य' थियो ।

 

खासमा त शोभित बस्नेत निर्देशित चलचित्र 'राज' को होल्डओभर पुगेकै बेला 'मेरो लभ स्टोरी' चलेपछि बिबाद उत्पन्न भएको हो । चलचित्र 'राज' चल्दाचल्दै बितरकको दबाबका कारण बिश्वज्योती हलमा 'मेरो लभ स्टोरी'  चल्यो । 'मेरो लभ स्टोरी' ले उत्साहजनक व्यापार गर्न नसकेपछि 'अन्दाज' रिलिज गरियो । दर्शकलाई त के भो र चलचित्र हेरे मज्जा लिए तर बिचरा क्यूमा बसेका निर्माताहरू भने चाडबाडको बेला खिन्न भए । सम्बन्धित संघसंस्थाहरू भने मुखदर्शक भएर टोलाएर बसे । न नियम न कानुन ।

 

हुनत क्यू सिस्टमको कुनै लिखितम कुरा छैन । चलचित्रकर्मीको मौखिक सहमतिमा नै क्यू सिस्टम चल्दै आएको हो । तर क्यू सिस्टम कस्ले तोड्यो भन्ने कुरा नै ठूलो बिबाद हो । पावर कम भएका निर्माताहरूले यो सिस्टम तोडेको भए सायद कानुन लाग्थ्यो तर मै हूँ भन्ने निर्माताहरूले नै नियम नमाने पछि कस्को के लाग्दो रहेछ र । जस्को शक्ति उसको भक्ति !

 

अब कुरा आउँछ क्यूमा बसेका चलचित्रले गर्ने के ? यदि क्यू सिस्टम तोडिएको हो भने बर्षौं देखि ऋणको भारी बोकेर क्यूमा बसेका चलचित्र कहिले रिलिज हुने ? यसरी ठूलाठालाले आफ्नो चलचित्र मनपरी चलाउँदै जाने हो भने पक्कै पनि क्यूमा बसेका निर्धन निर्माताहरूले आफ्नो चलचित्र चल्छ भनेर आश मारे हुन्छ । निर्माता ज्यूहरू, बल प्रयोग गर्न जान्नु भएको छ भने मैदानमा उत्रेर आफ्नो सिनेमा चलाउनुस् नत्र भने ऋणको भारी बोकेर बस्नुको अर्को विकल्प छैन ।

 

यहाँ क्यू सिस्टममा मात्र हैन हरेक बितरकका बिचमा पनि राजनितीक चलखेल छ । चलचित्र चलेको साता दिन बित्न नपाउँदै बितरकले अर्को चलचित्र घानमा हालिदिन्छन् । अनि आफू पनि मर्छन् र अर्कालाई पनि मार्छन् । भनिन्छ नि, 'बाँदरले आफ्नो घर पनि बनाउँदैन र अर्काको घर पनि बन्न दिन्न' । यस्तै भएको छ यहाँ , निर्माता तथा बितरकहरू न आफ्नो चलचित्रको लगानी उठाउँछन् न अर्काको चलचित्रको लगानी उठाउन नै दिन्छन् । चलचित्रले राम्रो व्यापार गर्दागर्दै पनि कसरी हुन्छ त्यो चलचित्रलाई पछारेर आफू राजा बन्न खोज्छन् निर्माता वितरकहरू । यसरी चलचित्र क्षेत्र भित्रको घिनलाग्दो खेलमा तछाडमछाड गरिरहेका निर्माताहरू आफ्नै खुट्टामा बन्चरो हानेर छाति ठोक्दै बसिरहेका छन् । चलचित्रहरू बनिरहेका छन् निर्माताहरू लडिरहेका छन् । आखिर यो कहिले सम्म ?