मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिशेष चलचित्रको बिगबिगी

अर्पण ढकाल, धरान, २०६८ आश्विन ५, बिहिवार

बर्षेनी चलचित्र निर्माण संख्यामा बृद्धि भइरहे पनि चलचित्रको व्यवसाय भने ओरालो लागिरहेको छ । प्राविधिक हिसाबमा नेपाली चलचित्र सबल बने पनि अझ गुणस्तरीय चलचित्र निर्माण हुन सकिरहेको छैन । एउटै कथा शैलीमा चलचित्र बन्नु, एकै डेटमा धेरै चलचित्र जुध्नु, चलचित्र क्षेत्र भित्र अस्वस्थ राजनीति हाबी हुनु लगायतका पक्ष यस उद्योगको बिकासको लागी बाधक बनिरहेका छन् ।
 

हरेक वर्ष निर्माण हुने सम्पूर्ण चलचित्रलाई नराम्रो भन्न सकिदैन । केही वास्तविक ऐतिहासिक एवं राजनीतिक विषयबस्तुलाई  समेटेर मुलधार भन्दा फरक चलचित्र पनि निर्माण भइरहेका छन् । पछिल्लो समय यस्ता कथामा निर्माण भएका चलचित्रलाई चलचित्र विकास वोर्डले विशेष चलचित्रको सम्मान पनि दिन थालेको  छ । फरक कथावस्तुलाई लिएर निर्माण हुने यस्ता चलचित्रले सिंगो चलचित्र उद्योगको प्रतिनिधित्व गरेर विभिन्न देशको फिल्म फेस्टिफलमा पनि पुगिरहेको पाइन्छ । विशेषतः साहित्यिक कृति, ऐतिहासिक, राजनीतिक विषयवस्तु, चर्चित व्यक्तिको जीवनी र समाजकै यर्थाथ घटनाक्रमलाई लिएर फरक चलचित्र बनाउने क्रम अहिले बढेको छ ।


नेपालीको चलचित्रको इतिहासलाई पल्टाउने हो भने फरक कथामा निर्माण भएर ख्याती कमाएको चलचित्रको रुपमा बलिदानलाई लिन सकिन्छ  । मह जोडीले अभिनय गरेको चलचित्रमा तत्कालीन ४६/४७ सालको राजनीतिक अवस्थालाई चित्रण गरिएको थियो । तत्कालीन सरकारबाट अनेक प्रकारका विरोध यो चलचित्रले झेल्नु परे पनि दर्शकको मन यसले जितेको थियो । राजनीतिक विषयलाई नै लिएर बलिदान बनेको एक दशक पछि लौहपुरुष गणेशमान सिंहको जीवनीमा रहेर वीर गणेशमान बन्यो । माओवादी जनयुद्धको समाप्तीसँगै त झन जनयुद्धको विषयलाई लिएर आधा दर्जन भन्दा बढी चलचित्र बने । आवाज, जनयुद्ध, नयाँ नेपाल, सहिद लगायत चलचित्रहरु विशेषत माओवादी पार्टी बिशेषलाई पक्षपोषण गर्दै निर्माण भए । अहिले पनि यसै विषयवस्तुमा बनेका किसान, जलजला आदी चलचित्र प्रदर्शनको क्रममा छन् ।
 

राजनीतिक विषयवस्तुलाई नै केन्द्रित गरेर दशगजा, कालापानी, देवयानी लगायतका चलचित्र पनि निर्माण भए । दशगजा र कालापानीमा सिमा विवादको समस्या देखाइएको छ भने दशै लगत्तै प्रदर्शनमा आउने बताइएको देवयानी दरबार हत्याकाण्ड माथि केन्द्रित छ । त्यस्तै साहित्यक कृति माथि चलचित्र बन्ने क्रमले पनि निरन्तरता पाइरहेको छ । बालकृष्ण समको नासो, डायमण्ड शमसेरको बसन्ती, लक्ष्मी प्रसाद देवकोटाको मुनामदन लील बहादुर क्षेत्रीको बसाईमा आधारित रहेर चलचित्र निर्माण भए । अहिले गोपाल प्रसाद रिमालको कृति मसानलाई लिएर चलचित्रमा निर्माण भएको छ ।

 
कतिपय चलचित्रले कृतिको वास्तविक तथ्यलाई न्याय दिन नसकेको कराहरु पनि बाहिर आउने गर्दछ  । यस्तै चर्चित व्यक्तिको जीवनीलाई पनि चलचित्रको कथा मार्फत बाहिर ल्याइएको छ । दिलिप रायमाझीले आफ्नो पहिलो चलचित्रमै आदीकवि भानुभक्तको भूमिकामा प्रस्तुत हुनु परेको थियो । जुन चलचित्रको नाम आदीकवि भानुभक्त राखिएको थियो । यस्तै निर्देशक मनोज पण्डित पनि मदन भण्डारी र उनको राजनीतिक जीवनलाई समेटेर दासढुङ्गा बनाएका थिए । भण्डारीको रहस्यमय हत्याको सर्न्दर्भलाई चलचित्रमा देखाएको थियो । पछिल्लो समय भजन शिरोमणी भक्तराज आचार्यको वास्तविक जीवनका घटनाक्रमलाई  लिएर आचार्य नामक चलचित्र निर्माण भएको छ । असोज ६ मा प्रदर्शन हुन लागेको चलचित्रमा भक्तराजकै छोरा एवं गायक सत्यराजले मुख्य भूमिका निर्वाह गरेका छन् ।


यी बाहेक क्याराभान, कागबेनी, गौथली, आगो, मैना, द निर्मला लगायतका मुलधार भन्दा फरक चलचित्रहरु पनि दर्शकले हेर्न पाईसकेका छन् । यहाँ बेकम्फुसे चलचित्र बनाएर बिशेष चलचित्रको नाम हात पार्ने खोज्नेको जमात पनि ठूलै छ । हुनत आफ्नो गोरूको बार्‍है टक्का भने झैं सबैलाई आफ्नो चलचित्र फरक र बिशेष लाग्छ । तर पनि कस्तो चलचित्रलाई बिशेष भन्ने कुरा नै अलमलमा छ । विकास बोर्डले पछिल्लो समयमा चलचित्रलाई बिशेष चलचित्रको नाम दिन थालेपछि पनि चलचित्रकर्मीहरूको बढि झुकाव बढेको हो ।  वास्तविकतालाई नमोडी यर्थाथ धारमा निर्माण हुने चलचित्रहरुलाई विशेष चलचित्रको दायरामा ल्याउन स्वागत योग्य कदम मान्नै पर्छ । तर हचुवाको भरमा निर्माण हुने चलचित्रलाई विशेष बनाएर दर्शक माथि झारो पर्ने काम चाहिं रोकिनु पर्छ ।