मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र उधोग र चलचित्रकर्मीलाई शुभकामना - गणेश भण्डारी

फिल्मीखबर, काठमाण्डौ, २०६८ आश्विन १, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले चलचित्र उधोग र चलचित्रकर्मीलाई दिएको शुभकामना सन्देश -

 

आदरणीय जनसमुदाय,
दाजुभाइ तथा दिदी बहिनीहरु,

 

नेपाली चलचित्रको साढे चार दशकिय इतिहासमा शुभारम्भको रुपमा 'राष्ट्रिय चलचित्र दिवस-२०६८' सुसम्पन्न हुन लागेकोमा अपार हर्षका साथ चलचित्र क्षेत्रका स्रष्टा सर्जक र साधकहरुमा यो दिवसबाट चलचित्रकर्ममा समर्पितहरु र समाजको सन्निकटतामा वृद्धि भई राष्ट्र राष्ट्रियता र जनताप्रति सधै इमान्दार बनी समाजका रचनात्मक कार्यमा सक्रिय रहन थप उर्जा प्राप्त हुने छ भन्ने विश्वास सहित मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

चलचित्र र समाजको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । चलचित्र समाजको प्रतिविम्बका रुपमा अङ्कन भएको हुन्छ । त्यसैले समाज चलचित्रबाट प्रभावित रहेको हुन्छ । चलचित्र र समाजको यो परिपूरकतालाई 'राष्ट्रिय चलचित्र दिवस-२०६८' ले अझ उजागर गरी आदरणीय जनसमुदायमा कला कलाकारिताको मर्म र सम्मानलाई बोध गराउने काम गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।

चलचित्र बहुआयामिक र जटील उत्पादन हो । धेरै पक्ष र धेरैथरी शिल्पीहरुको सीपको समष्टिगत योगका रुपमा चलचित्रको अस्तित्व सम्भव हुन्छ । चलचित्रमा कला साहित्य भाषा संस्कृति विषयवस्तु कल्पनाशिलता जस्ता सबै विधाको उपस्थिति हुन्छ । तर, चलचित्र धेरै पक्ष र सीपको संयोजन मात्र होइन चलचित्र आफ्नै विशिष्टता भएको स्वयंमा सम्पूर्ण माध्यम हो ।

चलचित्र एकातिर अभिव्यक्तिको माध्यम हो भने अर्कातिर व्यापारिक उत्पादन पनि हो । अरु उपभोग्य सामाग्री भन्दा फरक चलचित्र बौद्धिक वस्तुको उत्पादन हो । चलचित्रले सूचना र भावनाको माध्यमले दर्शकको मानसमा प्रभाव पार्छ । यसले मानिसको दृष्टिकोणलाई सकरात्मक वा नकरात्मक रुपमा परिवर्तन गर्न प्रेरक भुमिका खेल्न सक्छ । यसले समाजलाई प्रभावित गर्न सक्छ । त्यसैले यसलाई साँस्कृतिक उत्पादन भनिन्छ । त्यसैले स्वदेशी साँस्कृतिक उत्पादनको संरक्षण गर्न आम जनसमुदायमा हार्दिक अपिल गर्दछु ।

कुनै पनि विषयमा चलचित्र बनाउँदा त्यसको अनुसन्धान पटकथा पुनर्लेखन र परिमार्जन जस्ता कुरामा पूर्णरुपमा ध्यान पुग्न सकेको छैन । सिनेमा क्षेत्रको विकास गर्न बहुसंख्यक दर्शकहरुलाई सिनेमा घरसम्म जान उत्प्रेरित गर्ने खालको वातावरण सिर्जना हुनु अत्यावश्यक छ । यस अवस्थामा नेपाली चलचित्रकर्मीहरुले उच्चस्तरीय मौलिक समाजोपयोगी गहकिला मनोराजनात्मक र वास्तविकताको प्रतिनिधित्व गर्ने चलचित्रको निर्माण गर्नु अत्याश्यक छ । चलचित्रकर्मीहरुमा त्यस दिशातर्फ कार्य गर्न यस दिवसले प्रेरणा प्रदान गर्छ भन्ने आशा लिएको छु ।

हाम्रा अब निर्माण हुने चलचित्र उडन्ते उत्ताउला र अवास्तविक चलचित्रहरुको साटो आजको विषम परिस्थितिको नेपालका लागि उपयोगी हुने सिर्जनात्मक एवं रचनात्मक परिपाटीका चलचित्रहरुको निर्माण गर्न समेत यस दिवसबाट प्रेरणा मिल्नेछ भन्ने मैले विश्वास लिएको छु । चलचित्रको माध्यमबाट देश राष्ट्रिय जीवन संस्कृति तथा कलाको सम्वद्र्धनमा योगदान पुर् याउन चलचित्र क्षेत्रलाई अनुशासित ता संगठित बनाउन तथा चलचित्रको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको प्रतिष्ठा अभिवृद्धि गर्न यस दिवसले सहयोग गर्ने छ भन्ने मैले आशा गरेको छु ।

समृद्ध चलचित्र उद्योगको आशा तथा सपनाको यस घडिमा विचार असहमति र अविश्वासलाई चिर्दै सहकार्य, सद्भाव नयाँ सङ्कल्प र दृढताका साथ समृद्ध चलचित्र उद्योगको सपना साकार पार्न यस दिवसले जागृत गराओस भन्ने हार्दिक शुभकामना व्यक्त गर्दै यस दिवसलाई सफल बनाउन सम्पूर्ण चलचित्रकर्मी तथा आम जनसमुदायमा हार्दिक अपिल गर्दछु ।
 
(गणेश भण्डारी )
अध्यक्ष
    चलचित्र विकास बोर्ड
    चाबहिल, काठमाडौं