मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्रको स्तर प्रस्तुति कि प्रविधी ? : विजयरत्न तुलाधर

फिल्मीखबर, काठमाण्डौ, २०६८ भाद्र २९, बिहिवार

नेपालको चलचित्र वृत्तमा संधैजसो चलिरहने चर्चा भनेको स्तर नै हो । र, नेपाली चलचित्रलाई स्तरीय चलचित्र भएन भन्ने गुनासो पनि सधैं सुनिंदै आइरहेको गुनासो हो । यस्तो गुनासो अब कुनै नयाँ मानिदैन । जबकि परिवर्तनशील यो संसारमा धेरै कुराहरु परिवर्तित भईरहेका छन् । प्रविधी त यत्ति धेरै बदलिसकेको छ कि त्यो सबको चर्चा यहाँ सम्भव छैन । सामाजिक मूल्य र मान्यता पनि अहिले धेरै बदलिसकेको छ । परिवर्तन भनेको वास्तवमा विकासको सम्वाहक हो । परिवर्तनलाई समय सापेक्षित रुपमा आफुभित्र समायोजन गर्न सक्नु जरुरी छ । अन्यथा अस्तित्वको युद्धमा पराजित हुन केही बेर लाग्ने छैन ।


नेपाली चलचित्र पनि अहिले त्यहीं संघारमा आइपुगेको छ । यत्तिबेला यहाँ स्तरका कुराहरु चलिरहेको छ । चलचित्रलाई स्तरीय बनाउन कमसल प्रविधीमा निर्माण हुने चलचित्रलाई पाखा लगाउने तयारी भई रहेको छ । चलचित्र निर्माणको विश्वव्यापी मान्यता प्राप्त प्रविधी भनेको सॆलुलोयड हो । नेगेटिभ फिल्ममा खिचेर पोजिटिभ फिल्ममा प्रिन्टबाट प्रदर्शन गरिने प्रविधी नै सेलुलोयड प्रविधी हो । यसमा पनि साधारणतय ३५ एमएमको फिल्म प्रयोग गरीने गरिन्छ भने नेपाली चलचित्रहरु भनॆ १६ एमएमको नेगेटिभमा सुटिङ गर्ने चलन छ । जुन प्रविधी अहिले चलचित्र विश्वमा त्यत्ति प्रयुक्त हुने गर्दैन । यसरी १६ एमएममा छायाङ्कन गरिएका चलचित्रलाई पछि ३५ एमएमको पोजिटिभ फिल्ममा ब्लो अप अर्थात विस्तारित गरी प्रदर्शन गर्ने गरिन्छ । नेपालमा यही नै अहिले मानव प्रविधीको रुपमा अंगिकार गरिरहेका छन् ।


स्तरको कुरा उठाइरहेका चलचित्रकर्मीहरुको सुझावमा नेपाल सरकार  चलचित्र बिकास बोर्डले अब सेलुलोयड प्रविधी लगायत डिजिटल प्रविधीमा उच्च स्तरीय मानिने फोर के रेड वा टू के बाट छायाङ्कन गरिएकालाई मात्र चलचित्रको दर्जामा राख्ने  योजना प्रकाशमा ल्याएको छ । यो योजनाको औचित्यलाई लिएर अहिले यहाँ चर्चा चलिरहेको छ । डिजिटल प्रविधीको कुरा गर्दा यो अति विहङ्गम चर्चाको विषय हुन सक्छ । वास्तवमा यो विगतको भि एच एस अर्थात भिडियो फम्यार्ट फिल्मको अत्याधुनिक विकसित रुप हो । यसका अनगिन्ती अशंहरु छन् । जसमध्ये अहिले रेड फोर के र टू के उच्चस्तरको भन्ने गरिएको छ भने डिजिटल अन्तर्गत नै ईएक्स थ्री र मार्क टू डि फाइभ समेत पर्दछ । यी सब क्यामेराका नामहरु हुन् । अहिले चलिरहेको चर्चाले मूर्त रुप लिने हो भने भोलिका दिनहरुमा थुप्रै चलचित्रले चलचित्रको दर्जा नपाउने सम्भावना बलियो हुँदै गईरहेको छ । किनभने अहिले बनिरहॆका धेरैजसो चलचित्र यही ईएक्श थ्री प्रविधीमा बनिरहेका छन् र मार्क टू डि फाइभमा पनि धमाधम चलचित्र बन्न थालिसकेको छ ।


चलचित्रको वर्गीकरण अति आवश्यक छ । तर वर्गीकरणको आधार प्रविधी वा क्यामेरालाई मान्नु कति उपयुक्त देखिंदैन । किनभने एउटा राम्रो चलचित्र बन्न त्यसको प्रविधीमात्र सम्पूर्ण हैन । त्यसको प्रस्तुति पनि महत्वपूर्ण कुरा हो भन्ने एक वर्ग छ भने प्रविधीका पक्षधरहरुको मत भनेको प्राविधिक स्तर नै उच्च हुनु पर्छ भन्ने रहेको छ । प्रविधीलाई नै आधार मान्ने हो ध्वनी र सम्पादन पनि मूल्याङ्कनको दायरा भित्र पर्नु जरुरी छ । किनभने क्यामेरा  ध्वनी र सम्पादन भनेको चलचित्रको तीन अभिन्न अबयवहरु हुन ।


नेपाली चलचित्रको विगतमाथि दृष्टि दिने हो भने कस्ता चलचित्रले मन जितेको छ त  यो प्रश्नको उत्तर खोज्नु अहिलेको आवश्यकता हो । समय र समाज बदलिएर अहिले एक्काइसौं शताब्दीमा पुगीसकेको छ । विज्ञानको बिकास अहिले चरम रुपमा भईरहेको छ । यसै अनुरुप चलचित्रको संसारमा अत्याधुनिक प्रविधी पनि भित्रिरहेको छ । तर चलचित्रको विषय वा प्रस्तुतिमा भने कुनै परिवर्तन आईसकेको देखिंदैन । बदलिएको सामाजिक परिवेशमा महिला र पुरुष विवाह बिना पनि एकसाथ जीवन यापन गर्न सक्छन् भन्ने मान्यताको विकास भईरहेको छ । पश्चिमी देशमा यो सामान्य कुरा हो । भारतमा समेत अहिले यो मान्यताको विकास भईसकेको छ ।

 

बलिउडका केही चलचित्रहरुमा त्यस्को राम्रो चित्रण भएका उदाहरणहरु छन् । सैफ अलि खान र प्रिती जिन्टाले अभिनय गरेको हिन्दी चलचित्र 'सलाम नमस्ते' पनि त्यस्तै एउटा चलचित्र हो । त्यहि चलचित्रबाट प्रेरित भई बनाएको नेपाली चलचित्र 'के यो माया हो' मा यस्तो खालको लिभिङ्ग टुगेदर अर्थात लिभ इन रिलेशनको कुरा उठाउँदा धेरैलाई पाच्य भएन । यद्यपि परिवर्तनका पक्षधर युवा वर्गमा भने यो चलचित्र अलि भए पनि लोकप्रिय नै भयो । चलचित्रको सोचमा केही परिवर्तन ल्याउनु पर्छ भनि निर्माण गरिएको 'पलू'र हल्काफुल्का कमेडी भनिएको ब्रेकफेल भन्दा पनि पुरातनवादी शैलीको प्रस्तुति र कथा बोकेको 'मेरो राजेशदाई' नै व्यावसायिक रुपमा माथि हुनुले के स्पष्ट गराउँछ भने पुरातन मनस्थिती भएका दर्शकहरु अहिले पनि कम छैनन् ।


'के यो माया हो' र 'ब्रेकफेल; प्राविधिक रुपमा उच्च स्तरीय मानिएका चलचित्रहरु हुन् । तर दर्शकको मनमा प्रविधीले त्यत्ति राम्रो छाप छोड्न सकेको देखिएन । प्रस्तुतिले मन छुन सक्यो भने बरु चलचित्रले दर्शकलाई तान्न सकिने देखिन्छ । त्यसको उदाहरण 'मेरो राजेशदाई' हो । यसको प्रस्तुति अवश्य पनि दर्शकको मन जित्ने खालको हुनु पर्छ नत्र व्यावसायिक रुपमा कसरी अगाडि पर्न सक्छ  हैन ! प्राविधिक रुपमा उच्चस्तरीय मानिएका 'ब्याच नं १६' र 'बाटो मुनिको फूल' भन्दा प्रस्तुतिको कारण 'कसले चोर्‍यो मेरो मन' ले दर्शकको मन सजिलै चोर्न सफल  भयो । दर्शकको मात्र नभई  सीजी डिजिटल फिल्म अवार्ड २०६८ मा पनि  'कसले चोर्‍यो मेरो मन' ले धेरै अवार्ड जितेर देखाएको छ । 


अन्तर्राष्ट्रिय चलचित्र जगततिर हेर्दा पनि यही देखिन्छ । हलिउडमा अत्याधिक लागत र उच्च प्रविधीमा बनेको 'अवतार' ले कमाई त राम्रै गर्‍यो तर विश्व प्रसिद्ध ओस्कार अवार्ड लगायत विभिन्न अवार्डमा 'द हर्ट लकर' अगाडि रहन सफल भयो । आम्दानी कै कुरा गर्ने हो भने 'अवतार' ले आफ्नो लगानीको दश गुणा आम्दानी गर्न सफल भएको थियो भने 'द हर्ट लकर' ले लागत भन्दा सय गुणा बढी रकम कमाएको थियो । बलिउडको चर्चा विगतका केही वर्ष भित्र त्यहाँ सानो बजेटमा बनाइने तर प्रस्तुतिमा रोचक मानिएको चलचित्र उडानले दर्शकको मन जित्न सफल भयो भने ठूलो लगानी र नाम चलेका स्टारहरु रहेको तीसमार खान, वीर, युवराज आदि जस्ता चलचित्र नराम्ररी मार खान पुगी वीरगति हासिल गर्न पुगे ।


चलचित्र अवश्य पनि स्तरिय हुनु पर्छ । त्यसमा दुईमत छैन । तर प्राविधिक रुपमामात्र नभई प्रस्तुतिमा पनि अब्बल हुनु जरुरी छ । सिनेमास्कोपमा बनाईएको 'राँको' भन्दा पनि १६ एमएममा छायाङ्कन गरिएको 'तृष्णा' ले गहिरो छाप छोड्न सफल भएको थियो भन्ने कुरा यहाँ स्मरणीय हुन आउँछ । त्यसैले चलचित्रको स्तरको कुरा गर्दा प्रविधी र प्रस्तुतिलाई समान रुपमा मापन विन्दु बनाइनु जरुरी छ । चलचित्रको वर्गीकरण नै गर्ने हो भने प्रविधीको आधारमामात्र नभई सिङ्गै चलचित्रलाई मूल्याङ्कनको विषय बनाइनु पर्छ ।


चलचिमा प्रयुक्त सबै पक्षको मूल्याङ्कन गरी त्यसको वर्ग छुट्याउनु उचित देखिनेछ भन्ने धारणाका पक्षधर एकातिर छ भने अर्कातिर सस्तो प्रविधीको कारण जस्ले पायो त्यसले चलचित्र बनाइ दिंदा चलचित्रको स्तर झनझनै खस्कंदै गईरहेको छ भन्ने विचार पनि गलत हैन । सस्तो प्रविधीको कारण चलचित्र जोसुकैलॆ पनि बनाउन सक्ने बस्तु भइदिएको छ । प्रतिभा र शिप विहिन व्यक्तिहरु चलचित्रकर्मीका रुपमा प्रवेश हुनाले चलचित्रको गरिमा पनि दिन दिनै क्षीण हुँदै गईरहेको छ । तर यो समस्याको निराकरण गर्न प्रविधीलाई नै 'माइनस' बनाउनु उचित हुँदैन । सस्तो प्रविधीमा बनेका चलचित्रहरु पनि राम्रा हुन सक्छन् भन्ने बारे माथि चर्चा भईसकेको छ ।


र,  अन्त्यमा चलचित्रको स्तर मापन प्रविधीको आधारमामात्र नभई समग्र चलचित्रको मूल्याङ्कन नै सबैभन्दा उत्तम तरिका हुन सक्छ । किनभने कुनै प्राविधिक पक्ष फितलो भएको चलचित्रको प्रस्तुति र विचार पक्ष लगायत अरु पक्ष अब्बल पनि हुन सक्छ भन्ने कुरा बिर्सन मिल्दैन । यसलाई पनि मनन गर्न जरुरी छ ।

 

Email : [email protected]