मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेलिब्रेटी र पत्रकार बिच नसोझिएको माखेसाङ्लो - शान्ति प्रिय

फिल्मीखबर, काठमाण्डौ, २०६८ भाद्र ८, बिहिवार

भनिन्छ 'पत्रकारहरूको समाचार, समाचार नभएर विज्ञापन हो, समाचार त उनीहरूले लुकाउँछन्' व्याख्या गर्नेका आधार आ-आफ्नै होलान् । अभिव्यक्ति, प्रस्तुती, विचार र सम्प्रेशण फरक-फरक पनि होला । र, पनि पत्रकार, पत्रकारको बिषय अनि समाचार सम्वद्व व्यक्ति वा संस्था बिभिन्न बेला बखत टकराव आइरहेकै हुन्छ । थोरै मात्र यस्तो बेला हुन्छ कि आफ्ना माथि लेखेका शब्दबाट (विज्ञापन भन्दा पनि हुन्छ) सम्बद्व व्यक्तिहरूले पत्रकारलाई धन्यवाद दिएको होस् । यस लेखको मूल विषय पनि यहि नै छ । आखिर किन समाचार सम्बद्व व्यक्ति र पत्रकार बिच धेरै जसो नै टकराव पैदा हुन्छ ? यहि टकरावका बिचमा पनि हामी मनोरञ्जन पत्रकार र यससँग आवद्व समाचार अनि समाचार सम्बद्व व्यक्ति बिचको टकरावलाई विश्लेषण गर्न लागिएको छ ।


समाचारकै कारण नायिका श्रीषा कार्कीले आत्महत्या सम्म गर्न पुगिन् भने समाचारकै कारण धेरै पटक धेरै अवस्थामा चलचित्र पत्रकार पनि कुटिएका छन् । कतिपय अवस्थामा पत्रकारले आफ्नो मर्यादा बिर्सिएर नियक कानुन अथवा भनौं आचारसंहिता विपरित समाचार लेखेकै भरमा बिभिन्न घटना पनि भएका छन् । तर, धेरै जसो अवस्थामा कलाकारिता ऐनसँग आवद्व व्यक्तिहरूले 'अर्काको आङमा जुम्रा देख्ने तर आफ्नो आङमा भैंसी नदेख्ने' आचरणबाट पनि तथ्यपूर्ण समाचारमा समेत पत्रकार पिडित हुन पुगेका छन् । आफ्नो आचरणलाई भन्दा समाचार प्रवाहलाई अवरोध पैदा गरेर कलाकारहरू पन्छिन खोजेको घटना धेरै पटक दोहोरिएको छ । हामीहरूको परिवेश सानो छ । सेलिब्रेटीले तरकारी किन्ने ठाउँ र दर्शकले तरकारी किन्ने ठाउँमा अन्तर छैन । आम्दानी कम हुनुको पीडामा फुटपाथमै धेरै पटक सेलिब्रेटी र दर्शकको जम्काभेट हुने गरेको छ । जसका कारण सेलिब्रेटी साँच्चिकै सेलिब्रेटी हुन सकेका छैनन् ।


सेलिब्रेटीका पीडाहरू आफ्नै ठाउँमा होला, यहि अवस्थालाई परिवर्तन गर्ने हो भने सेलिब्रेटी साँच्चिकै सेलिब्रेटी हुन सक्छ । तर यसो नभएर सेलिब्रेटीले आफ्नो हैसियत र मर्यादा बिर्सिएर समाजमा अनैतिक क्रियाकलाप गरेकै कारण सेलिब्रेटीले आफ्नो अस्तित्व नबुझ्नु र यिनै अवस्थाका समाचारले स्थान पाउनुले नै पत्रकार र सेलिब्रेटी बिचको खाडल बढिरहेको छ । एउटा सेलिब्रेटीले डिस्कोमा मातेर अभद्र व्यवहारको परिचय दिने कि सभ्यता प्रदर्शन गर्ने ? एउटा सेलिब्रेटीले जथाभावी रक्सी खाएर सडकमा मात्दै हिड्ने कि आफूमा संयमता जनाउने काम गर्ने ? भावनाको कुरालाई गोप्यता दिलाउन यी र यस्ता धेरै बिषय छन् । जसका कारण सेलिब्रेटी र पत्रकार बिचको दुरी यसै बिषयका समस्याको विवादमा छन् । सेलिब्रेटीमा आफूसँग संयमताको अभाव छ, प्रतिक्रिया र आलोचना सुन्न सक्ने क्षमता छैन । फेरी पत्रकार औपचारिक समाचार भन्दा बढि यस्तै बिषयमा कलम चलाउन रूचाउँछन् । पत्रकार औपचारिक र प्रशंसा भन्दा गसिपमा रम्न चाहन्छन् । यसैले सेलिब्रेटी र पत्रकारको बिषय विवादमा रूमलिरहेका छन् ।


सेलिब्रेटी आफ्नो व्यक्तिगत जीवनलाई खोल्न चाहँदैनन् । उनीहरूले आफ्नो निजी जीवनमा हस्तक्षेप भएको मन पराउँदैनन् तर पत्रकार सेलिब्रेटीको जीवन आफैमा सार्वजनिक हुने ठोकुवा गर्छन् । पत्रकारहरूको भनाईमा सेलिब्रेटी भएपछि हरेक कुराको चासो हुनु स्वाभाविक रहने बताउँछन् । लेडि डायनाको मृत्यु पत्रकारहरूले उनको निजी जीवन खोतलेर भएको भन्ने आलोचनाहरू पनि नआएका हैनन् । सेलिब्रेटीको जीवन अथवा भनौं निजी जीवनको व्याख्या-अपव्याख्यामै सेलिब्रेटी र पत्रकार विवादमा अल्झिरहेका छन् । निजी जीवन खोतली दिएर सेलिब्रेटी आफ्नै पीडामा होलान् तर पत्रकारले गोली, मुड्की, लात्ती, गाली सबै सहेर आएको अवस्था पनि छ । यथार्थमा दुबैले आफ्नो मर्यादा भुलेर नै यो विवादको जड बनेको छ । समाचार के हो, गसिप के हो भन्ने कुरामा हामी अझै अल्मलिएका छौं ।



मनोरञ्जन देखाउने ग्ल्यामरको दुनियाँ हो । यहाँ समाचार भन्दा गसिपले प्रश्रय पाउछ । यो क्षेत्रको पाठक समाचार भन्दा बढि गसिपमा रमाउन चाहन्छन् । एउटा कलाकार वा सेलिब्रेटीले के बोल्यो भन्दा पनि उसको निजी जीवन र उसको क्रियाकलाप थाहा पाउन पाठकहरू लालायित हुन्छन् । यौन जीवन रंगिन क्षेत्रका मान्छेमा मात्र हुँदैन । यौन जीवन त सामाजिक परिवेशमा जहाँ त्यहिं हुन्छ । डाक्टर र नर्सको, शिक्षक र शिक्षिका वा बिद्यार्थीको, हाकिम रा कारिन्दाको विचको यौन जीवन आम जनतालाई खासै वास्ता हुँदैन । तर सेलिब्रेटीका यस्ता घटनाहरूलाई भने दर्शकले ध्यान दिन्छन् र पत्रकारहरू पनि लागी पर्छन् । जब पत्रकारले सेलिब्रेटीका यौन जीवनलाई छताछुल्ल पारिदिन्छन् तब उनीहरूले आफ्नो आवेगलाई रोक्न सक्दैनन् र पत्रकार माथी जाई लाग्छन् । यो क्षेत्र नि यस्तै हो । यहाँ अन्य यथार्थ भन्दा सेलिब्रेटीका निजी जीवनका प्रसङ्गहरूले प्रश्रय पाएको हुन्छ । यस्तै माखेसाङ्लोमा नेपाली 'शोवीज' को पत्रकारिता पनि उनिएको छ ।


यस लेखमा तथ्यपरक सूची प्रस्तुत गर्नु भन्दा पनि यथार्थताको विश्लेषण गर्न खोजिएको छ । सेलिब्रेटी पिडित भएका र पत्रकार पिटिएका धेरै यस्ता घटनाहरू छन् । जसको अवस्था माथी उल्लेखित विषयकै चौघेरोमा बाँधिएको छ । सेलिब्रेटीले आफ्नो हैसियत नबुझ्नु, आफ्नो आचरण सुधार्न नसक्नु, निजी जीवनको व्याख्या गर्न नसक्नु र पत्रकारले पनि औपचारिक समाचार र गसिपको भिन्नता नबुझ्नु, सेलिब्रेटी कतिसम्म सार्वजनिक जीवन बाँच्न सक्छन् भन्ने अवस्था निर्क्योल गर्न नसकेकै अवस्थामा सेलिब्रेटी र पत्रकार विचको नङ र मासुको सम्बन्ध सन्तुलित हुन नसकेको हो । सेलिब्रेटी आफैमा उधोगको प्रतिनिधी हो । साहित्य, कला, संस्कृती जुन क्षेत्रको सेलिब्रेटी छ, उसको आचरणले संगीत उधोगको, चलचित्र उधोगको अवस्थालाई बोक्छ । आफूमा उधोगको जिम्मेवारी भएपछि त्यस अवस्थाको बोध सलिब्रेटीले गर्न सक्नुपर्छ । आखिर सेलिब्रेटी र पत्रकार विचको साझेदारीमा अथवा भनौं सकारात्मक साझेदारीमा विकास एवं प्रवर्द्वन लुकेको हुन्छ । यो कुराको पहिचान हुन सक्यो भने अथवा पत्रकार र सेलिब्रेटीले एक अर्कामा हातेमालो गर्न सके भने साँच्चिकै उधोग प्रवर्द्वनको दिशामा दुबैले आफूलाई लान सक्ने अवस्थाको सिर्जना हुन्छ ।


चलचित्र तथा संगीतको क्षेत्रमा सेलिब्रेटी दादागिरीको हैन वौद्विकताको प्रदर्शन हुनुपर्दछ । पत्रकारले डराएर भाग्ने अवस्थाको सिर्जना नगरी समाचारको अस्तित्व स्विकार्नु पर्दछ । सेलिब्रेटीले पनि चलचित्र क्षेत्र गसिपमै रमाउने क्षेत्र भएको कुरालाई स्विकार गर्नुपर्छ भने पत्रकारले गसिपको बहानामा धेरै व्यक्तिगत कुरालाई महत्व दिनु हुँदैन । हामी मुक्कामा भन्दा बैद्विकतामा गएर समझदारीमा हातेमालो गरौं र नेपाली चलचित्र क्षेत्रलाई सम्बृद बनाऔं । जय सिनेमा ।