मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालि चलचित्रमा साहित्य र साहित्यिक व्यक्तित्व - बिष्णु सुवेदी

फिल्मीखबर, काठमाण्डौ, २०६८ आषाढ २३, बिहिवार

नेपाली चलचित्रको जन्म सँगसँगै साहित्यिक व्यक्तित्वको प्रवेश र साहित्यिक कृतिमाथी चलचित्र वन्ने क्रमजारी रहे पनि नेपालको साहित्यिक जमातले चलचित्र विद्यालाई साहित्य मान्न अझैसम्म आफूलाई मानसिक रुपले तयार गरिसकेको छैन । तर पनि केही साहित्यकारहरुले भने साहित्य र चलचित्र एक अर्कोमा अन्तर सम्बन्धित भएको स्विकारेका छन् । त्यसो त प्रश्न उठ्छ  नाटकलाई साहित्य मानिन्छ भने चलचित्र किन साहित्य नहुनु ? नाटकमा हुने सम्पूर्ण तत्वहरु चलचित्रमा  भए पछि यो भेदभाव किन ? समय सापेक्ष प्राविधिक पक्षको परिवर्तनसंगै नाटकमा देखाउन नसकिएका दृष्यहरु समेत चलचित्रमा समावेश गर्न सकिन्छ । यसरी चलचित्र अझै वढी सशक्त र प्रभावकारी वन्न पुगेको छैन र ?

 

चलचित्र भन्ने कुरा निर्देशकको अभिव्यक्तिको माध्यम हो । उसको आफ्नो विवेक, कल्पना र सिर्जनाको माध्यम हो । आज चलचित्रलाई विश्व भरिनै छैठो ललितकलाको मान्यता प्राप्त भै सकेको छ । साहित्यलाई जसरी प्रस्तुत गरिए पनि चलचित्र साहित्य नै हो । अहिले प्राविधिको विकास सगैं नाटक तथा मञ्चमा देखाइने दृष्यहरु चलचित्रको माध्यमद्वारा देखाइयो । के अव प्राविधीको विकास सगैं रङ्गमञ्चमा भएका परिवर्तनलाई साहित्य नमान्ने ? नेपालमा बनेको पहिलो कथानक चलचित्र 'आमा' का लेखक दुर्गा प्रसाद श्रेष्ठ नेपाली र हिन्दी छापाखानामा निरन्तर देखिइरहने लेखक हुन् भने यसका गीतकार म.वि.वि. शाह र लक्ष्मण लोहनी पनि साहित्यकार नै हुन् । नेपालमा वि.स. २०३४ बाटै श्यामस्वेत सिनेयुगको अन्त्य र रंगीन चलचित्र निर्माणको सुरुवात भयो ।

 

साहित्यकार विजय मल्लको उपन्यास 'कुमारी शोभा' मा आधारित रहेर निर्देशक प्रेमवहादुर वस्यालले कुमारी चलचित्र निर्देशन गरे । यो चलचित्र पहिलो रंगीन नेपाली चलचित्र मात्रै नभएर साहित्यीक कृति माथी बनेको पहिलो नेपाली चलचित्र पनि हो । नेपाली चलचित्रमा 'आमा' चलचित्रबाट साहित्यीक व्यक्तित्वहरुको प्रवेश र 'कुमारी' चलचित्रबाट साहित्यीक कृति माथि चलचित्र वन्ने क्रम सुरु भएको हो । आज यो क्रम निकै झांगिएको छ । हास्य विद्याका वरिष्ट लेखक तथा वरिष्ट पत्रकार श्रीधर खनाल 'हिजो आजभोली' र 'मनको बाँध' का लेखक हुन् भने नाटककार, कथाकार, उपन्यासकार, गीतकार र कवि चेतन कार्की 'परिवर्तन' का पटकथाकार हुन् । 'परिवर्तन' कै कथाकार जर्नादन सम नेपाली साहित्यका महारथी वालकृष्ण समका सुपुत्र मात्र नभै स्वयं पनि गीतकार, गायक र नाटककार थिए ।  प्रसिद्ध साहित्यकार विजय मल्ल चलचित्र 'कुमारी', 'वदलिदो आकाश' र 'पच्चीस वसन्त' का लेखक हुन्  भने दौलत विक्रम विष्टको पनि नेपाली उपन्यास र कथा बिधामा बिशिष्ट योगदान छ । उनि चलचित्र 'सिन्दुर' का कथाकार हुन् ।

 

'जिवन रेखा' का लेखक केशवराज पिंडाली कवि गजलकार, उपन्यासकार र हास्यबिधाका विशिष्ट व्यक्तित्व हुन् । नेपाली कथा साहित्यका जेष्ठ पुरुष गुरुप्रसाद मैनाली नेपाल वाहिर वने पनि नेपाली आत्मा भएको उच्च कोटीको चलचित्र 'परालको आगो' का कथाकार हुन् भने चर्चित साहित्यकार बालकृष्ण समको अमर कृति 'प्रेम पिण्ड' पनि चलचित्रमा आएको छ । 'वसन्ती' का रचनाकार डायमण्ड शभ्शेरको नाउँ नसुन्ने त सायद कमै नेपाली साहित्य अनुरागी होलान् । त्यो कृतिमा आधारीत चलचित्र बसन्ती बनीसकेको छ । त्यसो त ध्रबचन्द्र गौतमको कट्टेल सरको चोट पटकमा आधारित 'वासुदेव', वासु शशीको नगदनारायणमा वनेको 'लोभी पापी', मोदनाथ प्रश्रितको सपनाहरु देशलाईमा आधारित 'वलिदान', नह थापाको 'सिमारेखा' लीलवहादुर क्षेत्रीको 'बसाईं', महाकवि लक्ष्मी प्रसाद देवकोटाको 'मुनामदन' लगायतका साहीत्यिक कृतीमा चलचित्र बनी सकेका छन् । यस्तै प्राज्ञ सरुभक्तको मलामी नाटकमा आधारित लघुचलचित्र 'मलामी' लगायतका साहित्यीक रचनाहरुमा निर्माण गरिएका चलचित्रहरुले साहित्य र नेपाली चलचित्र बिच रहेको अर्न्तसम्वन्धलाई सहजै प्रस्तुत गर्दछ ।

 

पछिल्लो समय लेखक कर्ण शाक्यको लेखनमा चलचित्र पल तयार भएको छ भने साहित्यकार स्वर्गिय गोपालप्रसाद रिमालको नाटक 'मसान' मा आधारीत रहेर 'मसान' नामको चलचित्र बन्दै छ । निर शाहले निर्देशन गरीरहेको यो चलचित्रको अहिले सुटिङ भै रहेको छ । यसरी थुप्रै साहित्यकारहरु आजपनि नेपाली चलचित्रका निर्माता निर्देशक, कथाकार गीतकार, गीतकार तथा निर्देशक रहेका छन् । के यसले नेपाली चलचित्रको गौरव वढाउदैन र ? साहित्य व्यक्ति, परिवार, समाज र राष्ट्रकै हित गर्ने रचना हो । अनि हरेक तहका व्यक्तिलाई जस्तो सुकै साहित्यीक कुरा पनि सजिलै बुझाउन सक्ने कुरा चलचित्रमा पनि लागू हुन्छ । विश्वका कयौ देशहरु विशेष गरि यूरोप, अमेरीका र भारतमै पनि कयौ चलचित्रहरु साहित्यिक रचना माथि प्रारम्भीक काल देखिनै बन्दै आएका छन् । ति चलचित्रहरु कालजयी वन्नुको पछाडी तिनमा भएको साहित्यिक आत्माको नै प्रमुख भूमिका रहेको कुरालाई नकार्न सकिदैन । आज विश्वमा नै विश्व प्रसिद्ध साहित्यकारहरुका साहित्यिक रचनाहरुमा चलचित्र निर्माण भै रहेका छन् र यो क्रम नेपालमा पनि वढ्दै छ ।

 

चलचित्र निर्देशकको क्षमता, खुबी र कुशलतामा भर पर्दछ । यदि निर्देशकमा खुवी छ भने उसले साहित्यिक रचनाको आत्मा नमारी हात समाएर आफ्नै ढंगले शरिर निर्माण गर्न सक्ने प्राज्ञ सरुभक्तको कथन छ । उनको भनाईलाई हेर्ने हो भने उनको नाटक मलामीमा नभएका पात्रहरु मलामी नामको लघु चलचित्रमा छन् । तर नाटकको भाव नमरेकोले मलामी नाटक माथी चलचित्रले न्याय गरेको छ । तर केही साहित्यीक कृति माथि वनेका चलचित्रहरुले ति कृतिलाई यथेष्ट न्याय गर्न नसक्दा त्यो चुनौतिको विषय वनेको छ । त्यसो त केहि चलचित्र समिक्षकहरुले साहित्यकार गुरुप्रसाद मैनाली जिवितै भएको भए र उनले आफ्नो कृति माथि बनेको चलचित्र 'परालको आगो' हेरेर आफ्नो कृति बिगारे भनेर एकपटक धुरुधुरु रुन्थे पनि भनेका छन् । यसले पनि साहित्य माथि चलचित्र बनाउनुलाईं झन् गम्भीर विषय बनाएको छ ।

 

साहित्यलाई पर्दामा कसरी आर्कषक, मनोरञ्जक, प्रभावशाली र सशक्त ढंगले प्रस्तुत गर्न सकिन्छ भन्ने कुरामा निर्देशकको ध्यान हुने हुँदा केही दृष्यहरु साहित्यले भने जस्तै नहुन पनी सक्छ । यो प्रविधिमा भएको परिवर्तन हो त्यसैले नै साहित्यकारले पनि प्रविधिलाई बुझ्नु आवश्यक छ । साहित्यिक कृति माथि चलचित्र वनाउने विषय चुनौति पूर्ण भए पनि धेरै चलचित्रमा साहित्य अत्यन्तै वढी भेटीन्छ ।  चलचित्रलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा निर्देशकमा भर पर्दछ । त्यसैले यो विषयमा सवैभन्दा वढी निर्देशक चनाखो हुनु पर्दछ । नेपाली चलचित्रको इतिहासलाई हेर्ने हो भने चलचित्रमा साहित्यिक व्यक्तिहरूको प्रवेश र साहित्यिक कृति माथि चलचित्र वन्ने क्रम शुरु देखिनै थियो । अहिले पनि साहित्यिक कृति माथि चलचित्र वन्नु पर्छ भन्ने कुरामा प्रायः चलचित्रकर्मी र साहित्यकार एक मुख छन् । तर यस्ता चलचित्रहरुलाई दर्शक, चलचित्र समिक्षक र साहित्यकार स्वंयले स्विकार गर्नु पहिलो आवश्यकता हो । यदि त्यसो भयो भने नेपाली चलचित्र र साहित्य बीचको सम्वन्ध अझै झांगिने थियो ।