मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

माया नगरीमा माया कै खडेरी : सुरेश दर्पण पोखरेल

फिल्मीखबर, काठमाण्डौ, २०६८ ज्येष्ठ ३, मंगलवार

लगभग ९ बर्षको चलचित्र पत्रकारिताको दौरानमा आज पहिलो पटक पाठकहरूमाझ केहि लेखौं भनेर बसेको छु । लेख्ने त लेख्ने तर बिषय...? मैले धेरै बिषयहरूमा कलम चलाउने प्रयास गरें तर अहँ... किन हो किन सुरू गर्नै सकिन । मलाई राम्रोसँग सम्झना छ करिब ९ बर्ष अघि रेडियो लुम्बिनीमा पहिलो पटक कार्यक्रम चलाउन लाग्दा पनि यस्तै भएको थियो । के बोल्ने ...? कहाँबाट शुरू गर्ने ...? रेडियो लुम्बिनीमा काम गरेको करिब एक बर्ष पछि चितवनको सिनर्जी एफएममा पहिलो पटक लाइभ सो (सिनेदर्पण) सञ्चालन गर्न लाग्दा पनि फेरी त्यस्तै लाग्यो । खै कहाँबाट शुरू गर्ने ? जे होस् शुरू गर्नु नै थियो, मैले पनि शुरू गरे । त्यही प्रारम्भले आज मेरो पहिचान बनेको छ । म फेरि एउटा अलि फरक यात्रामा लागेको छु फिल्मीखबर डटकम मार्फत पाठकहरू माझ पुग्ने । मलाई विश्वास छ मेरो यो यात्रा पनि सफल हुनेछ । आफ्नो बारेमा धेरै लेखेकी जस्तो लाग्यो त्यसैले अब म विषय तिरै केन्द्रित हुन चाहन्छु ।


हो मैले के लेख्ने भनेर धेरै सोचेपछि एउटा बिषय भेटें त्यो हो प्रेम । म अहिले जुन क्षेत्रमा छु त्यो क्षेत्रलाई माया नगरी पनि भनिन्छ । हो, चलचित्र क्षेत्र एउटा माया नगरी नै हो ।  चलचित्रको माध्यमबाट कलाकारहरूले माया गर्न सिकाईरहेका हुन्छन् । बिग्रेको घर कसरी मिलाउने भनेर लागि परेका हुन्छन् तर दुर्भाग्य माया गर्न सिकाउने तिनै कलाकारहरूको घर गृहस्थी दिन प्रतिदिन बिग्रदैं गएको हामीले देखेका छौं ।  आखिर किन ? चलचित्रको दुनियाँ सपनाको संसार रंगीन संसार । भनिन्छ यो माया नगरी हो तर किन हुँदैछ माया नगरीमा माया कै खडेरी ?



चलचित्र क्षेत्र बाहिरबाट हेर्दा निकै रंगीन देखिन्छ । कलाकारहरूको क्रेज, निर्देशक, निर्माताको शान, सञ्चारमाध्यममा उनीहरूको चर्चापरिचर्चा, सम्हाल्नै गार्‍हो हुने गरी नेम र फेम । त्यसैले हरेक आम दर्शकहरूको सपना हुन्छ चलचित्रका काम गर्ने । म यि कुराहरू हचुवाको भरमा लेखिरहेको छैन । पत्रकारिताको दौरानमा मैले थुप्रै राजनेताहरू सँग कुरा गरेको छु । चाहे राष्ट्रपति रामवरण यादव हुन् वा पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोईराला, माधब नेपाल, अमिक शेरचन, पुष्पकमल दाहाल 'प्रचण्ड' वा अहिलेका प्रधानमन्त्री झलनाथ खनाल । मैले उनीहरूको जीवनको कुनै न कुनै मोडमा चलचित्रप्रतिको झुकाव र आकर्षण पाएको छु । नेता ज्यूहरूको मात्रै के कुरा गर्नु, शिक्षाविद्, व्यापारी, साहित्यकार लगायतका हरेक क्षेत्रमा कार्यरत अधिकांश महानुभावहरूको एक समयमा कुनै न कुनै रूपमा चलचित्रको संसार तिर आकर्षित भएको पाईन्छ । सबैका सबै सपना पूरा हुँदैनन् । उहाँहरूमा पनि सायद यही कुरा लागू भएको होला । जेहोस् हरेक तह र तप्काका मान्छेहरूको रूचिको विषय हो, चलचित्र । फेरि धेरै टुट्फुट यहाँ नै किन हुन्छ ?



त्यसो त सम्बन्धहरू तोडिने र जोडिने केबल सिने नगरीमा मात्रै हुँदैनन् । हरेक क्षेत्रमा हुन्छ यस्तो । तर कलाकर्मीहरूको बारे धेरै हल्लाखल्ला हुन्छ र चासो पनि । दुई कलाकार बिच बोलचाल बन्द भयो त्यो समाचार बनिहाल्छ । फलानो र ढिस्कानो रेष्टुराँमा भेटिए, झनै राम्रो गसिप, यस्तै यस्तै । अनि कति बन्छन् बन्छन् घर गृहस्थी टुटेका स्कूपन्यूज । हो, यहाँ यस्तै भइरहेको छ । नेपाली कलाकर्मीहरूको टुटेको घर गृहस्थी जीवन हेर्ने हो भने अधिकांश जोडीहरू दुई मध्ये एक सफलताको एउटा बिन्दूमा पुगेको देखिन्छ र त्यहि सफलता नै ति दुई बिचको सम्बन्धको तगारो बनेको भेटिन्छ ।



सायद तपाईंले सम्झनु भयो होला, हो हिन्दी चलचित्र 'अकेले हम अकेले तुम' मा अमिर र मनिषाको कथा जस्तै । दु:खका दिनहरूमा सँगै संघर्ष गर्‍यो, आधी पेट खायो, एक अर्काको आँशु पुछ्यो, रूमाल भिजायो अनि च्यूरा, चाउचाउ र पानीले पेट भर्‍यो । संघर्षका दिनहरू लम्बिंदै जान्छन्, कतै आशाका, कतै निराशाका, कतै सम्भावनाका किरणहरू त कतै विकल्पहिन पर्खालहरू । अनि बिस्तारै एकलाई सफलताले पछ्याउन थाल्छ, रंगीनताले हात फैलाउँछ र उसले सँगैको सहयात्रीलाई लात हानेर दौडन्छ त्यो चरम सफलतालाई अंकमाल गर्न । त्यो बेला केही सम्झना आउँदैन । कोठाभाडा तिर्न नसकेको क्षण, त्यो आँशु, त्यो च्यूरा, चाउचाउ सबै बिर्सन्छ । यो त एउटा कारण भयो । अरू पनि छन् फिल्मी कलाकारहरूको घर गृहस्थी टुट्ने कारणहरू । एक अर्का बिचको अविश्वास, शंका अनि व्यक्तित्वको टकराव ।


विशेषत: अधिकांश नेपाली चलचित्रका नायिकाहरूको घर गृहस्थी तोडिएको पाइन्छ । यसका पछाडी मुलभूत केहि कारणहरू छन् । विवाह पूर्वको बिश्वास विवाह पश्चात अविश्वासमा बदलिन्छ अनि प्रेम घृणामा । विवाह अगाडी हरेक कुरामा सम्झौता गर्न सक्ने जोडी विवाह पश्चात कुनै कुरामा पनि सम्झौता गर्न चाहदैनन् र महत्वाकांक्षा झन् बढ्न थाल्छ । हिजो सम्मको हरियाली खडेरीमा बदलिन्छ अनि त के बाँकी रह्यो र ? पत्रकार साथीहरूका लागी गसिप समाचारहरू कति कति । यो दुनियाँ त रंगीन नै छ तर यहाँका मान्छेहरू रंगहीन भएका छन् । नाम त यसको माया नगरी नै हो तर यहाँ मायाकै खडेरी छ ।

 

http://www.facebook.com/missu.film