मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

व्यक्ति होइन संस्था बलियो बनाऔं : राजकुमार पोखरेल

फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख २०, मंगलवार

नेपाली चलचित्र क्षेत्रको मात्र नभएर नेपालमा व्यवासायिक हकहितका लागि स्थापना भएका संघ संस्थाहरुमा पुराना संस्थाको रुपमा नेपाल चलचित्र संघ रहेको कुरा आज फेरी एकपटक स्मरण गराउन चाहन्छु । साधारणसभाको कुरा गर्दा ४० औंले हामीबीच केही भ्रम सिर्जना गर्नसक्ने कुरा नकार्न सकिँदैन । यथार्थ यथार्थै हुन्छ । पुराना अभिलेख हेर्दा संस्था वि. सं. २०१३ सालमा नै क्रियाशिल भएको देखिन जान्छ । वि.सं. २००८ सालदेखि चलचित्र प्रदर्शन सुरु भएको नेपालको पहिलो चलचित्र भवन जनसेवा हल जसमा पहिला चलचित्र राम विवाह प्रदर्शन गरिएको थियो। २०१३ सालअघि नै संचालनमा रहेका उपत्यकाका हलहरु र उपत्यका बाहिरका हलहरुले आफ्नो व्यवसायिक क्षमता बृद्धि मर्यादित चलचित्र व्यवसायका साथै हक र हितका लागि एउटा साझा थलोको आवश्यकता महसुस गरी वि.सं.२०११ सालमा तात्कालिन मेजेष्ट्रिीमा नेपाल मोसन पिक्चर्स एशोसियसनको रुपमा यो संस्था विधिवत स्थापना भएको हो । हामीसँग २०१३ सालदेखिको अभिलेख भएकोले त्यसैलाई स्थापना बर्ष मानिआएका छौं । वि.सं. २०१३ देखि यो संस्था नेपाल मोसन पिक्चर्स एशोसिएसन २०४२ देखि भने नेपाल चलचित्र संघको नाममा क्रियाशिल छ ।


विदेशी भाषामा निर्मित चलचित्र मात्र पाइने सो बेलामा विदेशी भाषामा निर्मित अझ सिधै भन्दा हिन्दी चलचित्र मात्र प्रदर्शन गरिन्थ्यो । चाहे जे होस् त्यो बेला चलचित्र घर निर्माण गरेर साहस देखाउने हाम्रा अग्रजहरु नै आजका नेपाली चलचित्र क्षेत्रको पहिलो पथ प्रदर्शक हुन् भन्ने गौरव सबैले गर्नुपर्दछ । त्यही साहसको परिणाम चलचित्र घरहरु भएपछि नेपाली चलचित्रहरुको निर्माण सुरु भइ आज नेपाली चलचित्र क्षेत्रको उपस्थिति मुलुकमा देखिन्छ । आज नेपाली चलचित्र क्षेत्रमा व्यवसायिक र पेशागत थुप्रै संघ संस्था क्रियाशिल छन् । नेपाली चलचित्र क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा लाखौंले रोजगारी प्राप्त गरिरहेका छन् । यसमा सबैभन्दा बढी गौरव चलचित्र संघले गर्नु स्वाभाविक हो भन्ने मलाई लाग्दछ । हिजो एक्लै चलचित्र क्षेत्रको अगुवा गरिरहेको संघलाई आज थुप्रै संस्थाहरुको साथले हौसला प्रदान भइरहेको मैले महसुस गरिरहेको छु । मैले यसो भनिरहँदा सबैलाई सहज लागिरहेको छ नै भन्ने पनि होइन । यथार्थ र धरातलीय सत्यता भन्दा म बाहिर गएको ठान्न छुट पनि छ । तर म जे भनिरहेछु सत्य भनिरहेछु । हामीबीचको समान सोचाइहरुको म मूल्यांकन गरिरहेछु । किनकी म सकारात्मक सोचको धनी हो । सकारात्मक सोच राखेर हेर्दा चलचित्र क्षेत्रमा कि्रयाशील सबै संघ संस्था आजको दिनमा यस क्षेत्रका समान आधार स्तम्भहरु हुन् । एकले अर्को संस्थाको अवमूल्यन गर्नु भनेको समग्र चलचित्र क्षेत्रको उन्नतिको बाधक बन्नु हो । कुनै एक संस्थाको कुनै कारणले हुने अवसानले समग्र चलचित्र क्षेत्रमा भुकम्प आउँछ भन्ने हाम्रो ठम्याई हो । त्यसैले समग्र चलचित्र क्षेत्रलाई जोगाएर राख्न हामीले आफ्नो पेशा व्यवसाय र आफू संलग्न संघ संस्था मात्र जोगाएर पुग्दैन भन्ने हो ।


हामी कोही प्रदर्शक कोही निर्माता कोही बितरक कोही कलाकार त कोही प्राविधिक अनि पत्रकार सर्जक हेर्दा हाम्रो भूमिका फरक फरक छ तर जसरी एउटा चलचित्र निर्माण गर्दा धेरैको भूमिका हुन्छ र चलचित्र निर्माण हुन्छ त्यसैगरी चलचित्र क्षेत्र बनाउन हामी सबैको भूमिका महत्वपूर्ण हुन्छ भन्ने कुरा मस्तिष्कमा राख्न जरुरी छ । एउटै पेशा वा व्यवसायमा सम्मिलितहरुबाट उक्त संघ बने झैं संघ संस्थाहरु जो चलचित्र क्षेत्रमा क्रियाशिल छन् ती संघ संस्थाहरुका सामुहिक प्रतिनिधित्व चलचित्र क्षेत्रले गर्दछ । अध्यक्षले साधारणसभामा बोल्ने कुरा अलि फरक हुनुपर्ने हो की  आफ्नो कार्यकालका उपलब्धी समिक्षा र भावी कार्यनीति आदि । तर यहाँ चलचित्र क्षेत्रको इतिहास अनि संरचनाको चर्चा मात्र भयो होला भन्ने पनि यहाँहरुलाई लाग्दो होला । जे सुनेको त्यही भन्नुपर्छ नै । फेरी म मेरै कुरामा पुग्न अनुमति चाहन्छु । मैले चलचित्र क्षेत्रमा आफ्नो संस्थालाई अगुवाको रुपमा प्रस्तुत गरे भने अर्कोतर्फ सबै संस्थाहरु समान आधार स्तम्भ हुन् पनि भने । कुरा सिधा छ अगुवा भनेर मैले इतिहास दोहोर्‍याएको मात्र हो र समान आधार भनेर वर्तमान धरातलीय सत्यतालाई उजागर गरेको छु । मैले सुरुदेखि नै चलचित्र क्षेत्र भनिरहेँ । उद्देश्यमूलक ढंगले मैले यसो भनेको हुँ । अहिले पनि नेपाली चलचित्र क्षेत्र उद्योगको रुपमा विकास नभएर मैले त्यसो भनेको हुँ । चलचित्र संघमा हाम्रो कार्यसमितिले सबैभन्दा पहिले यो क्षेत्रलाई मर्यादित प्रतिष्ठित र व्यवस्थित बनाउन यस क्षेत्रमा कार्यरत सबै संघ संस्थासँग भातृत्व विकास गर्ने प्रयत्न गर्‍यौं । धेरै हदसम्म नेपाल चलचित्र संघसँगको सहकार्य अझ भनौं एक संघ र अर्को संघबीचको सहकार्य गर्ने वातावरण तयार भयो । दूरी घटाउने काम पनि भयो । एक अर्कोको सहयोगी रुपमा कतिपय ठाउँमा प्रस्तुत भयौं पनि । औपचारिक अनौपचारिक रुपमा नेपालमा नेपाली चलचित्रको विकास र प्रर्वद्धनका लागि विचार मन्थन पनि गर्‍यौं तर पनि हामी आशातित सफल हुन सकेनौं । नेपाली चलचित्र क्षेत्रलाई उद्योगमा परिणत गर्न सफल भएका छैनौं । भन्न त कतिले यसलाई चलचित्र उद्योग पनि भन्छन् नामले उद्योग हुने होइन । कार्यले उद्योग हुनुपर्‍यो । हामी कहाँ जे कुरामा पनि सरकारको मुख ताक्ने बानी छ । सरकारसँग वातावरण सिर्जना गर्ने कुरामा मुख ताक्न सकिन्छ तर सबै कुरा सरकारले गरिदिने भए हाम्रो भूमिका के त  भूमिका विनाको नायक पात्रको इज्जत पनि के  सरकारले यस क्षेत्रलाई उद्योग बनाइदिने होइन । हामीले उद्योग बनाएर सरकारलाई स्वीकार्न लगाउने हो ।

त्यसैले यस क्षेत्रलाई उद्योगमा रुपान्तरण गर्ने दायित्व हामी सबैको हो भन्ने कुरा बुझ्न जरुरी छ । अमुक व्यक्ति वा संस्थाहरुको बक्यौता हुन सक्दैन न त जिमिन्दारी नै । यस क्षेत्रमा लागेका हामी सबैसँग केही न केही खुबी र दक्षता छ भन्ने सबैले स्वीकानु जरुरी छ । एक थुकी सुकी सबै थुकी नदी भनेझैं सबैको सामुहिक प्रयासको जरुरी छ । पेशा र व्यवसायले फरक स्वार्थ हुनु स्वभाविक नै भए पनि सबैको साझा स्वार्थमा नै सबैको हित लुकेको कुरा बुझ्न जरुरी छ । त्यो भनेको नेपाली चलचित्र उद्योगको स्थापना । उद्योग बन्न त्यसै प्रकारको चरित्रहरु हुन जरुरी छ । र त्यो चरित्र निर्माण गर्ने कार्य हामी सबैको हो । व्यक्ति होइन पेशा र व्यवसाय स्थापित हुने काम गर्नुपर्‍यो । व्यक्तिको निरन्तरता हुन सक्दैन तर पेशा र व्यवसायको हुन सक्दछ । अनि चलचित्र उद्योगमा समाहित हुनेहरुको भविष्य उज्वल हुन्छ । जहाँ उज्वल भविष्य देखिन्छ त्यहाँ लगानी मैत्री वातावरण बन्दछ । अनि जहाँ लगानी प्रशस्त हुन्छ त्यहाँ काम र दामको अवसर प्रशस्त हुन्छ । जहाँ काम र दाम प्रशस्त हुन्छ त्यो राज्यको नजरमा सम्मानित क्षेत्र हुन्छ । राज्यकै आशाको केन्द्र हुन्छ । अनि राज्य सधैं त्यो क्षेत्रको विकास र प्रवद्र्धनको लागि आफैं सजग रहन्छ । हामीले राज्यको मुख ताक्ने होइन राज्य हाम्रो उद्योगको मुख ताक्छ । आज नेपालीहरु संसारभरि छरिएका छन् । कोरियन चलचित्र नेपाली दर्शकमाझ विशेष गरी युवा पुस्तामा लोकप्रिय हुनसक्छन् भने नेपाली चलचित्र हिन्दी भाषीहरुका लागि सजिलै पाच्य हुनसक्छ भन्नु गलत हुँदैन कि ? यसरी हाम्रो बजारले नेपालको सीमा नाघ्न सके विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोत बनाउन सक्छौं । यसबाट हाम्रा वितरक साथीहरुलाई थप आत्मसम्मान प्राप्त हुन जान्छ भन्ने हामीलाई लाग्दछ ।


मेरो कुरा काल्पनिक पनि लाग्न सक्छ । किनकी मुलुक अहिले परिवर्तनको संघारमा छ । सरकारको मुख्य दायित्व शान्ति र संविधान निर्माण हो । सरकार आफ्नो दायित्व पूरा गर्न सफल रहोस् हाम्रो शुभकामना छ । तर हाम्रो दायित्व देश विकासमा टेवा पुर्‍याउने  हो । यसका लागि हाम्रो क्षेत्रलाई वास्तविक उद्योगमा परिणत गर्न केही कुराले छेक्दैन होला । छेक्यो भने इच्छा शक्तिको कमी सहकार्यको कमी र नकारात्मक सोचले मात्र छेक्न सक्छ । लगानी मैत्री वातावरण सिर्जना गरे लगानीकर्ताको कमी हुँदैन । ठूला उद्योगपतिहरुले यस क्षेत्रमा हात नहालेका होइनन् तर तिनीहरुलाई निराशा पार्ने काम हामीबाटै भयो । व्यवसायिकता हामीबीच अझैं छैन । नत्र नेपालीहरुले लगानी गर्ने ठाउँ नभेटेको कुरा बैंकहरुको शेयर खरिदबाट थाहा हुन्छ । सहकारीको सोचाइ पनि नेपाली चलचित्र उद्योगमा भित्र्याउन सकिन्छ । अहिलेकै अवस्थामा पनि नेपाली चलचित्र क्षेत्रलाई उद्योग बनाउन सकिन्छ त्यसैले एकअर्कामा सहकार्य गरी अगाडि बढ्न सबैमा अनुरोध गर्दछु ।


अब हाम्रो कार्य समितिको कार्यकालको कुरा म गर्न चाहन्छु । सबै भन्दा पहिले अध्यक्षात्मक प्रणालीबाट हामीले सामुहिक नेतृत्वमा संस्थालाई अगाडि बढाउने परम्पराको थालनी गर्‍यौं । मैले माथि नै भनेको थिएँ चलचित्र क्षेत्रमा कुनै पनि संघ संस्थाका भूमिका कमजोर हुनु भनेको समग्र चलचित्र धरासायी हुनसक्छ । त्यसैले आफ्नो संस्थाको भूमिकालाई सशक्त बनायौं । संस्थाको आधार स्तम्भ सदस्यहरुको मनोबल उच्च पार्दै बन्द भएका हलहरु खोल्न वातावरण तयार गर्न डिजिटल प्रणालीको विकासमा काम गर् यौं । जसको नतिजा धेरै ठाउँका बन्द हलहरु खुले । संसारमै नभएको शुल्कमा तोकिएको न्यूनतम शुल्क तिर्नैपर्ने बाध्यताकारी नियमलाई सर्वोच्च अदालतद्वारा खारेज गर्न लगाउन सफल भयौं । नेपाली चलचित्रमा लगाइएको चलचित्र विकास शुल्क नेपाली चलचित्रको विकासका लागि बाधक भएकोले सो लाई खारेज गर्ने कार्यमा अन्य संघ संस्थाको पनि सहयोगमा हामी सफल भयौं । ठूला साना सबै हलहरुले एकैचोटी चलचित्र प्रदर्शन गर्न पाउने अवसर पनि हाम्रै पालादेखि शुरु मात्र भएन की चलचित्र प्रदर्शनका लागि वितरण र प्रदर्शकबीचको मतभिन्नतलाई कम गरी सुमधुर सम्बन्ध विकासको थालनी पनि  गर् यौं । यसबाट सबै सदस्यहरुले राहत महसुस गरेका छन् भन्ने हामीलाई लागेको छ ।


हामीले यस्ता प्रत्यक्ष अप्रत्यक्ष कामहरु गर् यौं तर पनि पूर्ण रुपमा सफल हुन सकिएन भन्ने मलाई लाग्दछ । प्रदर्शक वितरक सदस्यहरुको पक्षमा गर्नुपर्ने धेरै काम हामीले गर्न सकेनौं । वितरक साथीहरुको व्यवसायिक सुरक्षा र विस्तारमा काम गर्न खोज्दा खोज्दै अधुरो रह्यो । वितरण प्रणालीलाई राज्यको सीमा नघाएर अन्तर्राष्ट्रियकरण गर्ने सोचाई अधुरै रह्यो । समग्रमा भन्नुपर्दा नेपाली चलचित्र उद्योगमा रुपान्तरण गर्ने केही काम अधुरा रह्यो । तर पनि आगामी दिनमा निर्माण हुने नयाँ कार्यसमितिको नयाँ नेतृत्वलाई आफ्नो आफ्नो अनुभवका आधारमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाउन चाहन्छु । मेरो नेतृत्वको कार्य समितिसँग सहकार्य गरी अगाडि बढ्न खोज्ने नेपाली चलचित्र क्षेत्रमा संलग्न अग्रज र संघ संस्थाहरुप्रति आभार व्यक्त गर्दछु । चलचित्र विकास बोर्ड र सबै संघ संस्थाको सहकार्यले निरन्तरता पाउनुपर्छ । साथै विकास बोर्ड विकास कै लागि भएकोले नेतृत्वदायी भूमिकामा जहिले पनि रहनुपर्दछ । सबैलाई समेटेर लैजाँदा मात्र चलचित्र क्षेत्र उद्योगको रुपमा स्थापित हुन सक्छ । चलचित्र विकास बोर्डले हामीलाई गरेको सहयोगप्रति पनि आभार व्यक्त गर्दछु । साथै विकास बोर्डबाट आगामी दिनमा सहयोगको अपेक्षा समेत गर्दछु । चलचित्र पत्रकार संघ र सम्पूर्ण चलचित्र पत्रकार साथीहरुलाई वहाँहरुको रचनात्मक सहयोग प्रति आभार व्यक्त गर्दछु । कार्य समितिका सबै साथीहरु भूपू अध्यक्षज्यूहरु सबै प्रदर्शक, वितरक साथीहरुमा साथै संघका कर्मचारी मित्रहरु प्रति आभार व्यक्त गर्दछु ।


अन्त्यमा नेपाली चलचित्र क्षेत्रलाई मर्यादित प्रतिष्ठित र व्यवस्थित बनाउँदै यस क्षेत्रलाई उद्योगको रुपमा स्थापित बनाउन एकपटक यस क्षेत्रका हामी सबै एकजुट भएर लागौं । यही नवबर्ष २०६८ को मंगलमय शुभकामना सहित विदा हुन चाहन्छु ।

                                                                                          


                                                            लेखक नेपाल चलचित्र संघका नवनिर्वाचित अध्यक्ष हुनुहुन्छ ।