मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्रकर्मका लागि अबको बाटो : प्रदिपकुमार उदय

फिल्मीखबर, काठमाण्डौ, २०६८ वैशाख २०, मंगलवार

नेपाली चलचित्रको विकासक्रमलाई या निर्माणक्रमको इतिहासलाई नियाल्ने हो भने २०२२ सालमा 'आमा' को प्रदर्शनबाट सुरू भएको चलचित्र निर्माणक्रम आज ४४/४५ बर्षको अवधिमा आइपुग्दा ५५/६० वटा सम्म चलचित्र निर्माण हुने अवस्थामा आइपुगेको छ । समग्रमा चलचित्र निर्माणक्रमलाई नियाल्ने हो भने निर्माणमा जुन किसिमको फड्को मार्नुपर्थ्यो त्यस किसिमको अवस्था नपाइए पनि निराशै मान्ने अवस्था भने छैन ।


गुणात्मक भन्दा संख्यात्मक बृद्वि भइरहेको हाम्रो चलचित्र उधोगमा चलचित्रकर्मीहरूले सोचिदिने र निर्माताहरूले बुझेर मात्रै लगानी गरिदिने वातावरण सिर्जना गरेमा अत्यन्त आशाजनक उधोगका रूपमा चलचित्र क्षेत्र बन्नेछ भन्ने कुरामा कुनै दुई मत छैन । पछिल्लो चरणलाई हेर्ने हो भने नेपाली चलचित्र निर्माणको विस्तार तिव्र रूपमा भइरहेको छ । खासगरी नेपालमा डिजिटल फर्म्याट विस्तार भएपछि चलचित्र निर्माणक्रम द्रुततर हिसाबले विस्तार भईरहेको कुरालाई हामीले स्विकार गर्नुपर्छ । चलचित्र निर्माणक्रम जसरी विस्तार हुँदै जान्छ वा चलचित्र उधोगमा जसरी चलायमान हुन्छ, त्यसैगरी निर्माणसँगै चलचित्र उधोग जसरी चलायमान हुन्छ, त्यसरी नै निर्माण सँगसँगै प्रदर्शन व्यवसाय पनि फस्टाउँदै जाने कुरा त विदितै छ । त्यति मात्र नभएर यससँग सरोकार राख्ने निर्माता र प्रदर्शक मात्र होइनन् । यिनीसँगै जोडिएका कलाकार, प्राविधिक लगायत सम्पूर्णलाई रोजगारीको ग्यारेण्टी वातावरण पनि बन्दै जान्छ । यस हिसाबले चलचित्र निर्माण बृद्विदरलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ र लिएका पनि छौं । किनभने निर्माण बृद्विदरसँगै गुणस्तरको पनि विकास हुँदै जाने हो । दर्शकले चलचित्रलाई राम्रो र नराम्रो छुट्याउन थालेपछि चलचित्रको गुणस्तर पनि बृद्वि हुँदै जाने अवस्थालाई हामीले मध्यनजर गर्नुपर्दछ ।



चलचित्र निर्माणको हिसाबमा प्रदर्शन अझै जेठो व्यवसाय हो । नेपाली चलचित्र निर्माण नहुँदै भारतीय चलचित्र प्रदर्शन गरेर भएपनि सुरू भएको चलचित्र प्रदर्शन व्यवसाय झ्याङ्गिदै, लहरिंदै अगाडी बढिरहेको छ । नेपाली चलचित्रको निर्माण क्रमको विस्तार र चलचित्र प्रदर्शनको विस्तार एक अर्काका परिपूरक भएका कारण पनि प्रदर्शन व्यवसाय र निर्माण व्यवसाय सँगसँगै विकास हुँदै जाने एक अर्कासँग जोडिएका दुई पाटा हुन् । जनसेवा हल, रञ्जना हल, श्री सिनेमा, अशोक सिनेमा, जयनेपाल चित्रघरबाट चलचित्र व्यवसाय प्रदर्शन व्यासायको रूपमा शुरू भएको इतिहास छ । दु:खका साथ भन्नुपर्छ यि हलहरू मध्ये जयनेपाल मात्रै अहिले सञ्चालनमा छ । तर पनि यि हलहरूबाट सुरू भएको चलचित्र प्रदर्शनको व्यवसाय विकास क्रममा आजसम्म आईपुग्दा पछिल्लो चरणमा निर्माण हुन थालेका 'मल' सम्म चलचित्र भवन निर्माणले विस्तारित रूप लिएको छ । यसरी हेर्दा चलचित्र निर्माण र प्रदर्शन घर अहिलेको अवस्थामा सँगसँगै तीब्र रूपमा विकासको चरणमा छन् । पक्कै पनि यो सकारात्मक पक्ष हो ।

 
 
चलचित्र निर्माता, निर्माणक्रम अनि चलचित्र प्रदर्शक, प्रदर्शन भवनसँग मितेरी पुलको सम्बन्ध बनाउने भनेको वितरकले नै हो । चलचित्र निर्माणलाई चलचित्र प्रदर्शन घरसम्म ल्याएर व्यवस्थित प्रदर्शन गराइदिन वितरक वा वितरण व्यवसायकै हुन्छ । प्रदर्शकहरूका लागि त निर्माता भन्दा पनि वितरकसँगको सम्बन्ध अझै सुदृढ हुनुपर्छ । यसैले वितरण र प्रदर्शन बिचको सामन्जस्यता कायम गर्न पनि वितरण शैलीलाई अझै प्रभावकारी बनाउनु जरूरी समेत पर्दछ । चलचित्र प्रदर्शन व्यवसायमा हिन्दी चलचित्र, अंग्रेजी चलचित्र लगायतका बिदेशी चलचित्रले ठाँउ पाउने वा पाउन सक्ने अवस्था भएपनि नेपाली चलचित्र प्रदर्शनले नै मुख्य हिस्सा लिईआएको छ र लिनुपर्छ पनि ।

 

सकेसम्म नेपाली चलचित्र प्रदर्शनको विस्तार नै हुनुपर्छ । हामीले जुनसुकै भाषाको वा जुनसुकै देशको चलचित्र प्रदर्शन गरेपनि मुख्यत: हामी नेपाली चलचित्रकर्मी नै हौं । नेपाल सरकारको कानुन र चलचित्र उधोगका सम्बन्धमा हाम्रो व्यवसाय हुने गर्दछ । यति हुँदाहुँदै पनि चलचित्र प्रदर्शक र नेपाली चलचित्रका निर्माताहरू बिच असमझदारी भएको अवस्था वर्तमानमा छ । बिना प्रमाणका आधारमा कुनै तुकविना बेलाबेलामा प्रदर्शक, वितरक र निर्माता बिच चलचित्र प्रदर्शनमा आर्थिक हिनामिनाको आरोप देखि दबाबका आधारमा चलचित्र चलाउन दबाब दिने क्रियाकलापले गर्दा व्यवसाय व्यवसायिक रूपमा अगाडि नबढेको देखिन्छ ।


राज्यले चलचित्र भवन दर्ता गर्दा नै दिएको सुविधा तथा हलले कर तिरेर देखाउने विदेशी चलचित्र प्रदर्शन व्यवसायमा पनि बेलाबेलामा प्रश्न चिन्ह खडा नभएको हैन । बिदेशी चलचित्रलाई सतोसराप गरेर हैन स्वदेशी चलचित्र राम्रो बनाएर दर्शकको मन जिते मात्रै नेपाली चलचित्र उधोग अगाडी बढ्न सक्दछ । देशको कानुन सम्मत गरी आफ्नो पेशा व्यवसाय गर्न पाउने कुरालाई कतैबाट थुनछेक गर्नुहुँदैन । व्यवसाय भनेको त दुई व्यवसायी बिच हुने समझदारी हो । यसैले व्यवसायी बिचको समझदारीका आधारमा गरिने व्यवसायमा तेस्रो पक्षको चासो हुनु नै हुँदैन । यसैले राज्यको कानुन भित्र रही व्यवसायी बिचको समझदारीमा गरिने व्यवसाय कोही कसैले औंला ठड्याउन हुँदैन । प्रदर्शकलाई आउने अप्ठ्याराहरूमा अरूलाई मात्रै दोष दिएर उम्कने ठाँउ हाम्रा लागि पनि छैन । हामीले पनि आत्मालोचना गर्नुपर्छ । हामी बिचमै केही नगन्य मात्राका प्रदर्शकहरूले कतिपय अवस्थामा छिटो कमाउँ भन्ने प्रवृति पनि राखेका होलान्, त्यसलाई निर्मूल पार्नुपर्दछ । यदि यस्तो गर्ने कोहि पाईएमा हामी आँफैले त्यसलाई निरूताहित गर्नुपर्छ । जसका कारण हामी स्वच्छ व्यवसायमा उत्रिन पनि सक्दछौं । ढोकामा राम्रोसँग गजबार लगाईयो र आफ्नो घर बलियो बनाईयो भने कोही कसैले हस्तक्षेप गर्न सक्दैन । हाम्रो सामूहिक समस्यामा हाम्रो समस्या पनि निर्मूल पार्दै जानु पर्ने हुन्छ ।


चलचित्र उधोगको विस्तारमा, प्रवर्द्वनमा, सम्बर्द्वनमा, बिकासमा, निर्माणमा चलचित्र प्रदर्शकको प्रमुख भुमिका रहन्छ । चलचित्र निर्माण हुने तर त्यो प्रदर्शन हुन नपाउने हो भने त्यसले कुनै औचित्य राख्दैन । यसैले प्रदर्शनको भुमिका अत्यन्तै महत्वपूर्ण हुँदाहुँदै पनि बेलाबेलामा बुझ्दै नबुझी वा बुझेर पनि बुझपचाएर प्रदर्शकहरूलाई होच्याउने गरिने प्रयासहरू हाम्रा लागि चुनौतीका रूपमा छन् । आज चलचित्र उधोगको बिकास हुन र चलचित्र गाउँदेखि शहरसम्म फैलाउन, नेपाली चलचित्र प्रति दर्शकको रूचि बढाउन चलचित्र प्रदर्शककै प्रमुख भुमिका छ । त्यसैले आ-आफ्ना परिभाषा सान्दर्भिक हिसाबमा सबै चलचित्रकर्मीले गर्लान् तर प्रदर्शन व्यवसाय चलचित्र उधोगको प्रमुख हिस्सा हो भन्ने कसैले भुल्नु हुँदैन ।


सबै कुरा हुँदाहुँदै पनि प्रदर्शन एवं बितरणमा धेरै नै समस्या भने छ । व्यवसायी भित्र इमान्दारिताको खाँचो टड्कारो रूपमा छ भने स-साना विवादमा अल्झिएर व्यवसायीहरू बिच एक अर्कासँग समझदारीको बिकास नहुनु पनि टड्कारो समस्याको रूपमा छ । कतै निर्माताहरूलाई हल नपाएर सास्ती त कतै हललाई चलचित्र नपाएर हुने सास्ती पनि समस्या नै हो । वैज्ञानिक हिसाबमा चलचित्र निर्माण र प्रदर्शन भवन दुबै नमिलेकाले पनि यस्ताखालका समस्या भित्रने गरेको हो । अझै देशमा शान्ति, अमनचयनको व्यवस्था हुन नसक्नुले सबै व्यवसायी त्रसित मात्र हैन चन्दा माग्नेहरूको समूह बढ्नु, धम्की आउनु, बन्द हड्ताल हुनु जस्ता कुरा पनि हाम्रा लागि प्रमुख समस्या नै हुन् । त्यसैमाथी सरकारी निकायहरूबाट समेत अबुझ बनेर बेलाबेलामा दिने दु:ख हाम्रा लागि दु:खदायी छन् । यसका लागि समस्याको समाधान समझदारीमै टिकेको छ । चलचित्र व्यवसायी देखि पेशगत सबैले हामीबिचको समस्यालाई साझा समस्या नमान्दासम्म चलचित्र उधोग गुणस्तरीय हिसाबमा बिकास हुन सक्दैन ।


चलचित्रकर्मीहरूको व्यवसायी वा पेशागत संघका हिसाबमा पनि हामी सबैभन्दा जेठो हौं भने प्रदर्शन व्यवसाय, नेपाली चलचित्र उधोगको जेठो व्यवसाय हो । प्रारम्भिक कमिटिका हिसाबमा ०११ सालतिरबाटै सुरू भएको हाम्रो संस्था ०१३ सालदेखि सक्रिय नै देखिन्छ । सम्पूर्ण चलचित्रकर्मीहरूलाई एक सुत्रमा बाँध्न पेशादेखि व्यवसायीसम्म एकै थलोमा उभ्याउन नेपाल चलचित्र संघले प्रयास नगरेको पनि हैन । अहिलेको खुला प्रतिस्पर्धामा पेशागत एवं व्यवसायी संघ खुल्नुलाई हामीले सकारात्मक रूपमै लिएका छौं । तर समस्याको सन्दर्भमा हुने बिभिन्न अफ्ठ्यारामा र चलचित्र उधोगको प्रदर्शनमा आउने समस्या निराकरणका लागि र बिश्वासका लागि भने हामी सबै एकजुट हुनैपर्छ । तसर्थ चलचित्र क्षेत्रलाई प्रतिष्ठित, मर्यादित र व्यवस्थित बनाउन हामी सबै लागौं र यस क्षेत्रलाई नेपालीको मनभित्र बसाउने प्रयास गरौं ।

 

                                                                                                    लेखक नेपाल चलचित्र संघका महासचिव हुनुहुन्छ ।