मिति : २०७३ फाल्गुन १४, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

चलचित्र 'भक्कानो ७.८'

राजन कठेत, काठमाण्डौ, २०७२ श्रावण १०, आईतवार

पूर्वी पहाडी जिल्लाबाट काठमाडौँ पढ्न छिरेको राम बहादुर अमृत साइन्स कलेज प्लस टुमा साइन्स पढ्थ्यो। सरले पढाएको बेला सिनेमा सम्बन्धी कुरा खेलाउँदै बस्नाले उसको दिमागमा थियोरम र प्राक्टिकल्स्हरू कहिले घुसेनन्। प्लस् टु झुण्डेर पास गर्ने बित्तिकै उसले रत्न राज्य क्याम्पसमा पत्रकारिता विषय पढ्न नाम लेखायो। करिब एक वर्ष पछि मात्र उसको यो व्यक्तिगत निर्णय परिवारलाई थाहा भयो। छोरालाई सिभिल इञ्जिनियर बनाउने सपना साँचेका उसको बा हृदयघातबाट भाग्यले बाँचे।

बाउलाई इञ्जिनियर पढ्दैछु भन्दै राम बहादुरले फि तिर्नको लागि पैसा मगाउँथ्यो। त्यो पैसाले उसले डेल कम्पनीको एउटा सस्तो ल्यापटप, एउटा अम्याचुअर डि एस एल आर क्यामेरा र सस्तो ट्राइपड किनेको थियो। कलेज छुट्टी भएपछि उसको दिनचर्या क्यामेराको वरिपरि बित्ने गर्थ्यो।

पत्रकारितामा स्नातक गरेपछि उसले साँझ साँझमा प्रकाशित हुने एउटा ट्याबलोइड पत्रिकामा रिपोर्टर र लेखकको काम पायो। उसले समाचार लेख्न स्थलगत रिपोर्टिङ गर्दै हिँड्नु पर्दैनथ्यो। नाम चलेका ब्रोडसिट पत्रिकाहरूको समाचारलाई भाषा मिलाएर काँटछाँट गरी छपाए पुग्थ्यो। दिनौँको एउटै काम, त्यसमाथि पनि तलब हतपत्त नआउने र आएपनि २-३ महिनापछि १५ दिनको मात्रै आउने, उसलाई आफ्नो मानसम्मानमा आघात पुगेजस्तै लाग्थ्यो। उसलाई कामदेखि दिक्दारी लाग्न थालिसकेको थियो।

राम बहादुर क्षेत्रपार्टीमा एउटा सस्तो कोठा लिएर बस्थ्यो। उसको कोठा पुग्न मोबाइलको बत्ति बालेर काठको सिँढी उक्लँदै जानुपर्थ्यो। घरको भुइँतल्लामा एउटा मात्र चर्पी थियो। एकदिन उसलाई के झोँक चल्यो कुन्नी बिहान सबेरै चर्पी जाँदा ट्राइपडमा क्यामेरा राख्यो र दिसा गर्दै क्यामेरालाई आफ्ना मर्महरू पोख्न थाल्यो। उसले यो क्यामेराले आफू खिच्ने कामलाई नित्यकर्म नै बनाउन थाल्यो। ऊ आफ्ना जिन्दगीका फ्रस्टेसन, अफिसमा बोससँगको कचकच, आफ्नो गर्लफ्रेन्डसँगको पिरती र झगडा दिसा गर्दै क्यामेरामा सुनाउँथ्यो।

त्यही घरमा बस्ने अरू डेरावालहरू चर्पी जान पालो कुर्थे र बाहिरबाट ढोकामा ढकढक हान्थे। उसलाई पागल भन्दै चिच्याउँथे। ऊ पनि 'जरुर साथी म पागल' भन्दै उत्तर फर्काउँथ्यो। यही दिनचर्या चलिरह्यो। उसको यो बानीदेखि वाक्क भएर डेरावालहरू बिहानै अलार्म लाएर उठ्दै चर्पी जाने गर्न थाले। चर्पीभित्र अरू मान्छे भएको बेला ढोकाअगाडि क्यामेरा राखेर कुर्दै फेरी आफ्ना वितृष्णाका कुराहरू पोख्थ्यो, चर्पीभित्र डेरावालहरूसँग बाझाबाझ गर्थ्यो। पछिपछि अरूले उसको वास्ता गर्न छोडे बरू उसँग राम्रा कुरा गर्न थाले। अढाइ महिनासम्म उसको यो दिनचर्या चलिरह्यो।

बोसले भोली तलब दिन्छु भनेको भोलीहरू गन्तीमा ४५ पुगेपछि एकदिन उसले ट्याबलोइडको काम छोडिदियो। केही काम नभएपछि आफूले खिचेका भिडियो उसले कम्प्युटरमा राख्यो र एडोबी प्रिमियर प्रोको टाइमलाइनमा काँटछाट गर्न थाल्यो। अर्को एकमहिनासम्मको लगातार काँटछाँटले उसले खिचेको चर्पीको बिहानीहरूले एउटा अर्थपूर्ण स्वरुप लिइरहेको थियो। उ आफैँ आश्चर्यचकित भयो। तर यो कथात्मक जस्तो लागेको लामो भिडियोको स्वीक्वेन्सलाई कसरी अर्थपूर्ण ढङ्गले तुर्ने उसले सोच्न सकेन तर यसलाई एउटा मूर्तरुप दिनुपर्ने महसुस गर्यो। एक दिउँसो ऊ ट्वाइलेट बसेर क्यामेरामा अगाडि के भन्ने, के सुनाउने भनेर सोचिरहेको थियो, एक्कासी ऊ बसेको प्यान हल्लिन थाल्यो। साँघुरो चर्पीको भित्ता उसको गालामा म्वाइँ खाँदै टाढिँदै गर्न थाल्यो। केहीछिन पछि माथिको सिलिङ् खस्यो। ७.८ रिच्टर स्केलको भुकम्पमा राम बहादुर र उसको क्यामेरसेट च्यापियो।

नेपाली सेनाले  घरको भग्नावशेषदेखि तानेर बचाएको केही हप्तापछि राम बहादुरले ट्वाइलेटमा आफ्नो क्यामेरा खोज्न थाल्यो। क्यामेरा काम नलाग्नेगरी फुटिसकेको थियो तर त्यसको मेमोरी चिप्स सग्लै थियो। उसले आफ्नो बाँच्न सफल कम्प्युटरमा त्यो चिप्स लाएर हेर्यो। उसको फिल्मले उत्कृष्ट अन्त्य पाइसकेको थियो। उसको हर्षको सीमा रहेन। 

राम बहादुरले यो फिल्म आफ्ना थरका पछाडि क्वोटेसन मार्कमा "सिनेफाएल" लेखेर फेसबुक ट्वीटरमा आफूलाई प्रचार गर्ने साथीहरूलाई देखायो। उनीहरूले फेस्टिवल म्याटेरिएल बनेको जनाए र उसलाई यो फिल्म फेस्टिबल तिर पठाउन हौस्याए। उसले जोस्सिएर फिल्म फेस्टिबलमा फिल्म पठाउने निर्णय गर्यो तर उसँग पैसा थिएन। आफ्नो बाँचेको एउटै ल्यापटप बेचेर १०-१२ वटा फेस्टिबलमा फिल्म बुझायो। पछि फेस्टिबलहरूलाई फि तिर्न नसक्ने भन्दै उसले 'वेइभर कोड' माग्दै करिब १५-२० वटा फेस्टिबलतिर फेरी  फिल्म बुझायो।

१ महिना कुर्यो, २ महिना कुर्यो, पूरा १ साल नै कुर्यो, कतैबाट राम्रो इमेल आएन। हरेस खाएर उसले नेपालमा नै फिल्म रिलिज गर्ने निर्णय गर्यो। यसको लागि ऊ गोपिकृष्ण हल नजिकै अवस्थित चलचित्र विकास बोर्डमा कुरा बुझ्न गयो। उसले चलचित्र सम्बन्धी औपचारिक शिक्षा लिएको सर्टिफिकेट थिएन। न यो चलचित्र बनाउनु अगाडि कुनै ठूलो कथानक चलचित्रमा सहायक निर्देशन भएर काम नै गरेको थियो। उसले विकास बोर्डका बौद्धिकहरूबाट परामर्श नै नलिइ यत्रो दुस्साहस गरेको थियो। उसको यो कामलाई चलचित्रको स्वरुपमा स्वीकार गर्न नसकिने फैसला बिकासबोर्डबाट सुनाइयो। उसलाई के थाहा अहिलेको कम्प्युटरको जमानामा कला पनि मापन गर्न सकिन्छ भनेर !

राम बहादुर रूँदै घर फर्क्यो र मर्माहत हुँदै एक रात द्रुतगती इन्टरनेट भएको साथीको घरबाट  युट्युबमा आफ्नो चलचित्र अपलोड गरिदियो। 

करिब एक हप्तापछिको कुरा, राम बहादुरले आफ्नो इमेल यसै हेरिरहेको थियो। एउटा ठूलो विदेशी फिल्म फेस्टिवलबाट उसको फिल्मलाई प्रिमियरका लागि निमन्त्रण गरिएको नयाँ इमेल देखापर्यो।  तर, राम बहादुरको फिल्मलाई युट्युबमा एक लाख भन्दा बेसीले हेरिसकेका थिए। उसलाई भक्कानो छुटेर आयो।

राजन कठेत - चलचित्र निर्देशकलेखक

 (कठेतद्वारा निर्देशित कथानक चलचित्र 'शेर्ढाक द गोल्डेन हिल' ‘४१ओँ सियाटल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०१५'मा वर्ल्ड् प्रिमियर भएको थियो साथै अगस्ट अन्त्यमा क्यानेडामा सम्पन्न हुन लागेको प्रतिष्ठित 'मोन्ट्रियल वर्ल्ड फिल्म फेस्टिवल २०१५' का लागि पनि निमन्त्रित भएको छ।)

साभार : सेतोपाटी डटकम