मिति : २०७३ फाल्गुन ९, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

स्विजरल्याण्डको डस्बिनमा फालिएको नेपाली फिल्म

सोम बिक्रम सिंह, काठमाण्डौ, २०७१ फाल्गुन १७, आईतवार
हुन त म फिल्म पारखी होईन, यद्यपी बच्चा छँदा फिल्म हेर्नुको मज्जा बेग्लै आउँथ्यो । फिल्म हेर्न घरमा सम्भव थिएन, हलमा गएर हेर्नु पर्थ्यो । बिस्तारै बिस्तारै नेपालमा भिडियो मार्फत फिल्म  हेर्ने चलन आएको थियो । हामी साथीभाई मिली कहिले भिडियो भाडामा लिएर हेर्ने गर्थ्यौ त कहिले काँहि स्कूलबाट भागेर हल पुग्थ्यौं ।
 
'सिन्दुर', 'जिवनरेखा', 'वसन्ती', 'के घर के डेरा' आदि फिल्म परिवारकासाथ हेर्न गएको थिएँ । 'आमा', 'माईतिघर' जस्ता फिल्म त्यति बुझ्ने नहुँदै पनि हेर्न गईयोे । त्यो ताका नेपाली फिल्म त्यति धेरै बन्दैन पनि थिए । हिन्दी फिल्मकै बर्चस्व थियो ।
 
पछि पढ्नको लागि स्विजल्याण्ड गएँ । उता गएपछि नेपाल र नेपाली भाषाको धेरै सम्झना हुन्थ्यो । नेपालीहरु नदेख्दा कता कता खल्लो महशुस पनि हुन्थ्यो । बिश्वका बिभिन्न देशबाट आएका बिद्यार्थी सामु आफुलाई एक्लो महशुस गर्थें । सबैसँग अंग्रेजी भाषा, जर्मन तथा फ्रेञ्च भाषा, त्यताको रहनसहन र संस्कृतिमा भिज्दा आफनो मातृभूमी र मातृभाषा बिर्सिएलाकी जस्तो भान हुन्थ्यो । सँगसँगै आफु यतै पो भासिने हो कि भन्ने पिर पनि लाग्थ्यो ।
 
बाजल भन्ने ठाउँमा काम गर्न जाँदा आफनो देशको सम्झनाले झनै सतायो । दिमागमा जुक्ति फिर्यो, नेपालबाट फिल्म मगाएर हेर्ने अनि न्यास्रो कम होला । मैले आफनो घरबाट करिब ७/८ वटा नेपाली फिल्मको भिसिडी कुरियर मार्फत मगाएँ । 
 
स्विसमा काम नगरी माम र बास नपाईने र आफ्नो नजिकको भन्नु नै काम र ब्यस्तता थियो । काममा लगाव, ब्यस्तता दुबै थियो । हप्तामा दुई दिनको छुट्टी पनि पाईन्थ्यो । छुट्टीमा आफनो घरायसी काम, महिनौं दिनको लागि सपिङ, सरसफाई, घुमघाम र मनोरञ्जनमै ब्यस्त भईन्थ्यो । कहिले काहि राम्रो फिल्मको प्रतिक्रिया सुन्ने बित्तिकै समय मिलाएर हेर्न जाने कार्यक्रम बनाईन्थ्यो ।
 
फिल्म हेर्न जानको लागि समय मिलाउनु पर्थ्यो । त्यसमाथि फिल्मको टिकट र खाजाको पैसाको जोरजाम गर्न कठिन हुन्थ्यो । फिल्म चित्त बुझेन भने समय र पैसा व्यर्थ जाने अर्को तनाव । 
 
बल्ल बल्ल छुट्टिको सदुपयोग नहुनु अर्को रोष । पछि नेपाली फिल्म कुरियरबाट प्राप्त भयो । बुवालाई मुरीमुरी धन्यवाद दिंदै फिल्म हेरिसकेपछि कथा सुनाउने बाचा गरें । अब अर्को साताको छुट्टीमा आफ्नी साथीसँग बसेर नेपाली फिल्म हेर्दै खुशी साटासाट गर्ने मिठो योजना बुने ।
 
बल्ल बल्ल त्यो दिन आईपुग्यो । बिहानैदेखि मासु भात तथा मःम बनायौं, स्विस वाईनलाई सितन होस् भनेर । स्विस हवाईट वाईन पिउँदै खाना तयार पार्न लाग्यौं । अनि मःम अगाडि राखेर त्यहाँको नामी रेड वाईन फोड्यौं । धेरै समयदेखिको नेपाली फिल्मको तृष्णा मेट्न ठूलै उत्साहकासाथ भिसिडी खोलेर लगायौं । 
 
वाईनको चुस्कि लिंदै फिल्ममा केन्द्रित भयौं । त्यहाँका प्रत्येक शब्द, आवाज र दृष्य नछुटोस् भन्ने लाग्यो । तर, फिल्म ५ मिनेट हेर्दै जाँदा खासै मन अडेन । झन् समय अगाडि बढ्दै जाँदा फिल्म हेर्ने रहर नै अमिलो भयो । 
 
कास्टिङ नै झुर भनेझै फिल्मले शुरूदेखि नै त्यति मनोरञ्जन दिन सकेन । पछि तिर राम्रो छ कि भनेर फरवार्ड गर्दै हेर्न थालियो । एक घण्टामै सातवटा फिल्म हेरिएछ । नेपाली फिल्म हेर्ने, रमाईलो गर्ने सपना त पानीमै गयो गयो, महंगो वाईनको नशा पनि उत्रियो ।
 
सबै फिल्म डस्बिनमा हालें । आफ्नो समय, पैसा र कुरियर पठाउँदा बुवाको परिश्रम खेर गएको देखेर फिल्म निर्माताप्रति रिस उठ्यो । भन्ने कसलाई ? म र मेरी साथी फ्रेस हुन सपिङ मल चाहार्न गयौं ।
 
उता चलन के थियो भने चार/पाँच वटा नेपाली परिवार आफुले ल्याएको नेपाली फिल्म साटासाट गरि हेर्ने । साथीहरुले मलाई नेपालबाट मगाएको फिल्म देउन भनेर आग्रह गरे । मैले नकारें, समय बर्बाद हुन्छ भनेर । कर गर्न थालेपछि बाध्य भएर डस्बिनमा फालेको फिल्ममा लागेको फोहोर पुछ्दै झिकेर दिएँ । उनीहरुको पनि त्यहि हालत ।  
 
नेपाल फर्किएँ । कहिले काहि समय पाए फिल्म हेर्न जान्थें । एकदुई वटा नेपाली फिल्म पनि हेर्न गईयो । हलको साउण्ड प्रबिधिले धोका दिंदा मज्जै आएन । तर, फिल्म र सेलिब्रेटीप्रतिको चाख, मानप्रतिष्ठा हेर्दा यसप्रति जो कोहि आर्कषित हुने, त्यसमा म पनि परें ।
 
मेरो परम मित्र शिषिर राणा यस क्षेत्रमा लागेको २ दशक भईसकेको थियो । ऊबाट यो क्षेत्रका कुरा सुनेर मजा लिईन्थ्यो । फिल्म बनाउने बारम्बार कुरा हुन्थ्यो तर आफ्नो बिगतको स्विसको घटना सम्झिंदा ह्या ब्यर्थको कुरा झैं लाग्थ्यो ।
 
करिब पाँच बर्ष अगाडि शिषिरले मलाई एउटा फिल्मको स्क्रिप्ट सुनायो । जसले मन साह्रै छोयो । बनाउनु पर्छ, लागत यति उति लाग्छ भन्दा मनमा कता कता डर लाग्थ्यो । कसले हेर्ला र नेपाली फिल्म भनेर । 
 
धेरै समय पश्चात शिषिरले आफ्नो फेसबुकको स्टाटसमा मैले फिल्म बनाउने भेँ भनेर राखेको देख्दा खुशि लाग्यो । लाईक पनि गरें । फोनमा बार्तालाप पनि भयो । उसले तलाई एउटा सुहाँउदो रोल छ भन्यो र मैले जिस्केर दामी रोल देउ ओस्कारसम्म पुग्ने खाले भनें ।
 
भोलीपल्ट फोनको घण्टी बज्यो । निर्देशक बबि भुपाल सिंहले भेट्न चाहे । ख्यालख्यालमै साँच्चिकै पो भेट्न पुगियो । भेटपश्चात निर्देशकबाट हजुरले एउटा सानो रोल गर्नुपर्छ 'माला'मा भन्ने कुरा आयो । मैले भने, 'स्क्रिप्ट पहिले पनि सुनेको हो, फेरि सुनाउनुस् न ।' 'माला'का स्क्रिप्ट फेरी सुनें । 'माला'देखि साह्रै लालायित भएँ । कता कता 'माला'को अंश हुन पाए भन्ने लोभ जाग्दै आयो । यसको सानो अंशमा भलै सहि म पनि पर्ने हुँदा भित्र भित्रै गदगद् भएँ ।
 
अब भन्नुहोला 'माला'मा त्यस्तो के छ र ? 'माला'ले एउटा समाज र नारीको ब्यथा उत्कृष्ट कथाकासाथ बोकेर आएको छ । समाजमा जानि नजानी अरुलाई छल गर्नुको महाभुलले जीवनलाई कतातिर डोर्‍याउँछ भन्ने सन्देश बोकेको छ । 
 
यस फिल्ममा शिषिर जस्ता दिग्गज कलाकार, प्रमोद तथा किशोर कार्की जस्ता मेहनती र भिजन भएका ब्यक्ति, बबि भुपाल जस्ता यहि पेशामा सिंगापुरबाट पढे लेखेर आएका तथा सर्ट फिल्ममा अनुभव बटुलेका निर्देशक, आर्यन सिग्देल र प्रिंयका कार्कीजस्ता अनुशासित र कामप्रति अनुभव बटुलेका ब्यक्तिहरुको जमघटको टिममा आफुलाई पनि निर्माता तथा कलाकारको रुपमा उभ्याउन पाउँदा चरम खुशीको अनुभव महशुस गरेको छु ।
 
'माला'को सम्पूर्ण सुटिङ, मेकिङ र कथा हेर्दा हेर्दै पनि आफ्नो मन थाम्न सकिन र आँखाबाट आशु झारें । कुनै कुनै दृष्यमा त डरले सत्तो पनि लियो । फिल्मको केहि दृष्य हेर्दा मेरी श्रीमती तृप्ती डरले राती सुत्न पनि सकिनन् । 
 
अहिले नेपाली फिल्महरू त्यति नचलेको र नेपाली फिल्ममा दर्शकहरुले चासो नदिईरहेको अवस्थामा हामी 'माला' दर्शकको सामु उपहार लिएर आएका छौं । दर्शकलाई 'माला'ले सहि रुपमा सम्मान दिन सक्नेछ भन्ने लगेको छ । दर्शकहरुको पैसा र समयको ब्यर्थ खर्च हुन्न होला भन्नेमा म विश्वस्त छु । 
 
यो फिल्ममा लाईट व्वाय, स्पट व्वाय, क्यामेरा पर्सन, असिस्टेन्ट निर्देशक, कलाकारहरु, साउण्डमा मुकेश शाह, ग्राफिक्स डिजाईनर अकि, सम्पादक बनिश शाह, गायिका सिमा राई र एड्रिन प्रधानको स्वर, बिशेष गरेर मनोज केसीको उत्कृष्ट ब्याकग्राउण्ड म्युजिकले 'माला'लाई साँच्चिकै बिभिन्न फूलका थुंगाहरुले उनिएको एक उत्कृष्ट फिल्म बन्न सम्भव बनाईदिएको छ भन्ने मेरो विश्वास छ ।
 
'माला' हेरिसकेपछि यसलाई दर्शक, समाज तथा बिभिन्न कलाकारहरुबाट उचित सम्मान, माया र सकारात्मक प्रतिक्रिया पाउँछ भन्ने मेरो धारणा र बुझाई छ । ईती श्री !
 
 
singhsom@hotmail.com