मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 1.80/5.00)
Text size:-
+
-

नेपाली फिल्मका `आलोक`

फिल्मीखबर, काठमाण्डौ, २०७१ कार्त्तिक २१, शुक्रवार
रसाएका आँखाहरु टोलाएका छन्, भक्कानिएका आवाजहरु बोल्न खोजिरहेका छन् । तर, दुबै मौन छन्, मात्र खोज्छन् त आलोक तिमी फेरी जन्मन्छौ या जन्मदैनौ ? भिजेका परेलीहरुका टिलपिलाइले आलोकको मिठो मुस्कानको भेल खोज्दै गर्दा उनी भगवानको प्यारा भैसकेका छन् । बिहीवार बेलुकी आफ्नै घरमा आलोकले जुन निर्णय गरे, त्यो उनका लागि अनायासै सहज बन्यो होला तर उनको कदमले चलमलाएका हजारौं पाइलाका लागि कठिन बनिरहेको छ ।
 
आलोकका मुस्कानले हजारौं मानिस हाँसेका थिए । म्यूजिक भिडियोमा उनले पात्रलाई मुस्कान छर्दै आफ्नो प्रतिबिम्ब भरिदिंदा दर्शकका मुहारमा पनि खुशी उम्लन्थ्यो । तर, तिनै आलोकले मुस्काइरहेका हजारौं ओठमा रोदन छोडेर गए, फेरिएका श्वासमा निस्साहस भरिदिए ।
 
उनले भिडियो र फिल्ममा प्रेमको रसायन छरे । दर्शकको चाहनालाई आफ्नो सफलताको कसी सम्झिए । उनी न त कसैको आँखामा नै विझाए न त उनका रंगिन भिडियोहरु कसैको आँखाका लागि नै बिझाउने दृश्य बने । 
 
अमेरिकाबाट फिल्म नै पढेर नेपाल आएका आलोक नेम्वाङ म्युजिक भिडियोलाई मिनि फिल्म सम्झन्थे । उनले हरहमेशा यही क्षेत्रलाई नै बढुवा दिन पाइला चालेको देखियो । बलिउडमा यश चोपडाको फिल्ममा काम नगर्ने हिरोइन जसरी अपुरा बने, आलोकको भिडियो र फिल्ममा नरमाउने पात्र पनि अधुरै काम गरिरहेका हुनेछन् ।
 
नेपाली फिल्मको मुटु बनेका आलोक हरेक नेपाली फिल्म टिकट काटेरै हेर्ने गर्थे । हरेक फिल्ममा रमाउथे । कहिले अर्काको फिल्मलाई नराम्रो भन्ने आँट गरेनन् । यही कुरा नेपाली फिल्मकर्मीलाई प्रेरणा बन्न सकोस् ।  वास्तवमा भन्नुपर्दा उनी नेपाली फिल्म र कलाका  `आलोक` हुन् । 
 
झरना बज्रचार्य, नम्रता श्रेष्ठ जस्ता दर्जनौं मोडललाई आलोकले नै म्युजिक भिडियोमा स्थापित गरिदिए । 'सानो संसार' निर्देशन गरेर नेपाली फिल्ममा नयाँ आयाम ल्याए । चल्तीको कथामा भिन्नता थपे । दर्शकको ढुकढुकी बने । 'कोही मेरो'मा उनले प्रेमको भाव दर्शाए । 'अझै पनि'मा उनी यूवायूवतीलाई प्रेम गर्न सिकाउन चाहन्थे । तर, आफ्नो कोखबाट अन्तिम बच्चाको रुपमा 'अझै पनि'लाई जन्म दिंदै गर्दा आलोकले आफ्नो लिला त्याग गरे । 
 
आलोकमा सानैदेखि मानिस भन्दा पनि जनावर र पशुपंक्षीमा लगाव थियो । बाटोमा कुकुर भेट्दा खानेकुरा बाँड्दै हिड्थे उनी । यसैले त उनले घरमा ४ वटा कुकुर र २ वटा बिरालो पालेका थिए । केही समयअघि आफूले पालेको एक कुकुरको मृत्यु हुँदा आलोकलाई सम्हाल्न निक्कै गाह्रो भएको उनी निकट कलाकार सुनाउँछन् ।
 
आलोकले आत्महत्या गर्न केही मिनेट अघि मात्र मोडल एलिजा बस्नेतलाई फोन गरी आफूले केही गरेको खण्डमा आफ्ना कुकुर र बिरालालाई आफूसँगै गाडिदिनु भनेका थिए । यसबाट पनि उनको जनावर प्रेम झल्कन्छ ।
 
आलोक प्राय एक्लै बस्न रूचाउँथे । उनले केही समयअघि धापासीस्थित ग्रान्ड कोलनीमा खरिद गरेको हाउजिडमा पनि उनी एक्लै बस्थे । उनको एक्लोपनले उनको मृत्युमा ठूलो भूमिका खेलेको धेरैको अनुमान छ ।
 
म्यूजिक भिडियोमा नेपालमा सबैभन्दा ज्यादा माग भएका यी होनाहार प्रतिभालाई गुमाउँदा यसको बजारमा ठूलो धक्का पक्कै लाग्नेछ । एउटा बत्ती निभ्दा अन्य हजारौं दियो त बल्लान् नै तर आलोक चन्द्रमा थिए । जसलाई नौलाखा ताराको प्रकाशले पनि रोक्न सकेन । नौलाखा ताराको प्रकाश भन्दा एक्लो चन्द्रमा बनेर चम्किएका आलोक सदा सदाका लागि सम्साँझै निभेका छन् । 
 
एकान्त मन पराउने आलोकले अल्पायुमै एकान्त रोजे, कहिल्लै नभेटिने गरी । उनको आत्माले शान्ती पाओस्, हजारौं मनहरु यही कामना गरिरहेका छन् । तर, सबैको मनमा एउटै प्रश्न खेलिरहनेछ, आखिर तिमीले हाँस्दा हाँस्दै किन रुवायौ ? किन रुवायौ ?