
डेढ दशकअघिको चर्चित हाँस्य टेलिश्रृंखला ‘तितो सत्य’मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोराको भूमिकामा राज आचार्यले अभिनय गरेका थिए । यो सिरियलले उनलाई बाल्यकालमै दर्शकमाझ लोकप्रिय बनायो । हाँस्य सिरियलको चाम घट्न थालेपछि ‘तितो सत्य’ सधैंका लागि बन्द भयो । त्यसपछि अध्ययनमा केन्द्रित भएका राजले २०१९ मा चार्टर्ड एकाउन्टेन्टको पढाई सकाए ।

अभिनेता रमित ढुंगानाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनको जीवनीमा निर्माण गर्न लागेको फिल्म ‘मुस्कान’मा वन तथा वातावरण मन्त्री प्रदीप यादवले अभिनय नगर्ने भएका छन् । सोमवार उनले फिल्ममा विशेष भूमिकामा अभिनय गर्न लागेको खबर बाहिरिएको थियो । तर, मंगलवार फेसबुकमा स्टाटस लेख्दै उनले कार्यव्यस्तताले गर्दा फिल्ममा काम गर्न नसक्ने बताएका छन् ।

नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पदमा सरकारले अभिनेता भुवन केसीलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई दुई वर्षका लागि बोर्ड अध्यक्षको जिम्मेवारी सुम्पने निर्णय गरेको हो । तर, भुवन बोर्ड अध्यक्षमा नियुक्त भएको आधिकारिक घोषणा भने सरकारले मंगलवार मात्र गर्दैछ ।

कमल एक्चै मगर निर्देशित फिल्म ‘डेसान’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी मंसिर २३ गतेलाई प्रदर्शन मिति तोकिएको छ । दुईवटा पोस्टरमा कलाकारको ‘मुड’ फरक-फरक छ । एउटा पोस्टरमा अभिनेत्री पुनम थापा र अभिनेता निशान चौहान रोमान्टिक अवतारमा प्रस्तुत छन् भने अर्को पोस्टरमा उनीहरुसँगै नम्रता सापकोटा र भोला सापकोटा गम्भीर मुद्रामा देखिन्छन् ।

टेलिभिजनको दुनियाँमा हाँस्य टेलिश्रृंखलाबाट ठूलो नेम र फ्रेम बनाएका कलाकारहरु केदार घिमिरे (माग्ने बुढा), सिताराम कट्टेल (धुर्मुस), जितु नेपाल (मुन्द्रे) लगायतलाई एकजुट बनाएर दीपकराज गिरी र दीपाश्री निरौलाले पहिलो पटक फिल्म ‘६ एकान ६’ निर्माण गरे । पहिलो फिल्म नै हिट भएपछि यो समुहले ‘बडा नम्बर ६’ निर्माण गर्यो । यो फिल्मपछि सिताराम टिमबाट अलगिए ।

दीपकराज गिरी र दीपाश्री निरौला समुहको ब्लकबस्टर सिरिज फिल्म हो, ‘छक्का पञ्जा’ । यसका तीनवटै सिरिजले बक्सअफिसमा कमाईको ठूलो रेकर्ड बनाएका छन् । पहिलो सिरिजदेखि नै निर्देशनको जिम्मेवारी दीपाश्री निरौलाले सम्हाल्दै आएकी थिइन् । तर, यसको चौथौं सिरिजमा भने उनी कलाकारको रुपमा मात्र देखिनेछिन् । फिल्म निर्देशनको जिम्मेवारी हेमराज विसीको काँधमा छ ।

