
गत वर्ष सबैभन्दा धेरै फिल्म रिलिज हुने अभिनेताको कीर्तिमानी दयाहाङ राईले बनाए । उनका ९ वटा फिल्म प्रदर्शनमा आएका थिए । दुईपटक त उनका आफ्नै फिल्मबीच भिडन्त भयो । यस वर्ष पनि उनकै फिल्म धेरै रिलिज हुने देखिन्छ । त्यो पनि गत वर्षकै हाराहारीमा । गत बैशाख, जेठ र असारमा उनका ३ वटा फिल्म ‘मनसरा’, ‘गाउँ आएको बाटो’ र ‘घरज्वाइँ’ प्रदर्शन भए ।

‘ह्वाइट’ सन (सेतो सूर्य) र ‘हाइवे’ फिल्मबाट अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका निर्देशक दीपक रौनियारको नयाँ फिल्म ‘पूजा, सर : राजागञ्ज’ आगामी चैत १ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्म थुप्रै अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा स्क्रिनिङ भइसकेको छ । गत भदौमा विश्वप्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुँदा फिल्मलाई १० मिनेट लामो ‘स्ट्यान्डिङ ओभेसन’ मिलेको थियो ।

कलाकार दीपकराज गिरी र निर्माता सरोज न्यौपानेले आगामी एक फिल्ममा सहकार्य गर्ने भएका छन् । दीपकराजले सरोजसँग हात मिलाएको एक तस्वीर बुधबार सामाजिक सञ्जालमा सेअर गर्दै फिल्ममा सहकार्य गर्न लागेको जानकारी गराएका हुन् । उनले भनेका छन्, ‘नयाँ वर्ष, नयाँ कामको सुरूवात ।’ तस्वीरमा दीपकराज र सरोजसँगै कलाकार निर्मल शर्मालाई पनि देख्न सकिन्छ ।

चर्चित हास्य सिरियल ‘सक्किगोनि’ समूहले निर्माण गरेको पहिलो फिल्म ‘लाज शरणम्’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा बुधबार सार्वजनिक तीनवटा पोस्टरले फिल्मको कथासार बुझाउँछ । तीनमध्ये दुई पोस्टरमा कफिन (शव राख्ने बाकस) देखिन्छ । यसले वैदेशिक रोजगारीमा जानुपर्ने देशको स्थिति र त्यसले निम्त्याएको कहालीलाग्दो कहर बोल्छ ।

यही पुष २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कार्साङ’को ट्रेलर सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर बुधबार सार्वजनिक तीन मिनेट लम्बाईको ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । शेर्पा समुदायको परम्परागत संस्कृति र आर्थिक समस्यासँग जुधिरहेको एउटा झाँक्री परिवारको कथालाई ट्रेलरमा मर्मस्पर्शी रुपमा देखाइएको छ ।

आगामी फागुन १४ गते (महाशिवरात्रि)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मायावी’को पहिलो गीत अंग्रेजी नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको छ । ‘त्यो माया हो’ बोलको रोमान्टिक भावको गीतमा फिल्मका मुख्य अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाइँ प्रस्तुत छन् । गीतले उनीहरुको प्रेम र समर्पणको भाव बोलेको छ । भिडियोमा दुवैलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

