
गत बैशाखदेखि कात्तिकसम्म चलायमान देखिएको नेपाली फिल्मको बजार मंसिर लागेसँगै सेलाएको छ । मंसिरका दुई फिल्म ‘तेल भिसा’ र ‘अग्निदहन’ले अपेक्षित व्यापार नै गर्न सकेनन् । बरु मंसिरमा भारतीय फिल्म ‘पुष्पा २’ले बक्स अफिसमा सुनामी ल्यायो । पुष पहिलो र दोस्रो साता आएका ‘बमबहादुर’ र ‘देव वाणी’ले पनि कुनै चमत्कार गरेनन् । दुवै फिल्म हलबाट दुई दिनमै उत्रिए ।

कलाकार बुद्धि तामाङको निर्माणमा बन्न लागेको फिल्म ‘कुस्ती’मा फेसन डिजाइनिङ सम्बन्धी संस्था इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्लोलोजी (आईआईएफटी) भेषभूषा पार्टनरको रुपमा जोडिएको छ । मंगलबार एक समारोहका बीच आईआईएफटीको तर्फबाट प्रमुखद्वय सन्नी सुब्बा र उर्जा मानन्धर तथा फिल्मको तर्फबाट निर्देशक अनिल योञ्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यतिबेला निकै चर्चामा रहेको गीत हो, ‘मखमली’ । फिल्म ‘ऊनको स्वीटर’मा समावेश यो गीत धेरैको मुख-मुखमा झुण्डिएको छ । यसमा हजारौं टिकटक र रिल्स बनिसकेका छन् भने युट्युबमा भ्यूज मात्र ३७ लाख बढी छ । गीतले राम्रो हाइप लिइरहँदा विदेशमा आक्रामक रुपमा फिल्म पनि बिक्री भइरहेको छ । गीत रिलिजपछि निर्माताले १० भन्दा बढी देशमा फिल्म बिक्री गरिसकेका छन् ।

अर्जुन सुवेदीको निर्देशनमा बन्न लागेको फिल्म ‘सोल्टिनी’को छायांकन सुरु गरिएको छ । मङ्गलबार इलामस्थित सानो पाथीभरा मन्दिरमा शुभसाइत गरेपछि छायांकन थालिएको हो । ३१ दिनको तालिकामा इलाम तथा भोजपुरमा फिल्मको छायांकन हुनेछ ।

आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर: टेक वन’को गीत ‘के भरोसा गरम’प्रति दर्शकको राम्रो आकर्षण देखिएको छ । रिलिजको २ दिनमा गीतलाई युट्युबमा साढे १४ लाख बढीले हेरिसकेका छन् । २४ घण्टामै गीतलाई १० लाख भ्यूज मिलेको थियो । युट्युबमा गीतलाई प्रतिक्रिया पनि उत्साहजनक प्राप्त छ । गीतको अडियो र भिडियो दुवै दर्शकले रुचाएका छन् ।

एकपछि अर्को सफल फिल्म दिइरहेका निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘दुःखी आत्मा’ आगामी फागुन २ गते (भ्यालेनटाइन डे)बाट प्रदर्शनको तयारीमा छ । ‘डिग्री माइला’पछि एकपटक फेरि अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको जोडी बाँधिएकाले फिल्मलाई लिएर दर्शक उत्साहित छन् । यसैबीच, मंगलबार फिल्मको युट्युबमार्फत् टिजर सार्वजनिक गरिएको छ ।

