
हरेक प्रकारका चरित्रलाई विश्वसनीय बनाउने खुबी भएका अभिनेता हुन्, विपिन कार्की । हास्य होस् वा नकारात्मक या पाको उमेरको चरित्र, हरेकमा उनले आफूलाई अब्बल प्रमाणित गरेका छन् । अब यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ऊनको स्वीटर’मा उनी दुई दशकअघिको समयमा बाँचेको युवक भएर देखिँदैछन् । उनलाई अधवैंशे चरित्रमा पनि देख्न पाइनेछ ।


गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘दान्भी’का निर्देशक रुपेश तामाङसँग अभिनेत्री पूजा शर्माले एकपटक फेरि सहकार्य गर्ने भएकी छन् । गत बुधबार जन्मदिन मनाएकी उनले सोही अवसरमा निर्देशक तामाङको नयाँ फिल्म सम्झौता गरेकी हुन् । नाम तय हुन बाँकी रहेको फिल्ममा उनी एक्सन भूमिकामा देखिनेछिन् । ‘दान्भी’मा पनि उनको एक्सन भूमिका थियो ।

यही बैशाख २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जार’को नेपाली भाषीहरुको बाहुल्यता रहेको भारतका दुई सहर सिक्किम र सिलिगुडीमा प्रिमियर गरिएको छ । निर्देशक र निर्मातासहित फिल्मका मुख्य अभिनेताद्वय सौगात मल्ल र अनुप विक्रम शाहीको उपस्थितिमा गत बुधबार (बैशाख १७ गते) सिक्किमको गान्तोक र शनिबार सिलिगुडीमा प्रिमियर आयोजना गरिएको हो ।

अभिनेता सलोन बस्नेतको पहिलो निर्माण रहेको फिल्म ‘रंगी’ अब बेलायतको राजधानी लण्डनमा प्रदर्शन हुने भएको छ । आगामी मे ९ तारिख (बैशाख २६ गते)बाट लण्डनको २७ वटा हलमा फिल्म प्रदर्शन हुन लागेको हो । महारानी प्रोडक्सनका विक्रम जोशीले फिल्मलाई लण्डनमा वितरणको जिम्मा लिएका छन् ।

निर्माणको तयारीमा रहेको फिल्म ‘महाराजधिराज’मा कलाकारको ‘लाइनअप’ बलियो हुँदै गएको छ । आगामी दशैंको फूलपातीमा रिलिजको तयारी गरिएको फिल्ममा पल शाह र रमेश उप्रेतीपछि अब अभिनेता आर्यन सिग्देल भित्रिएका छन् ।

