
अभिनेता दिलजीत दोसांझ, मनोज बाजपेयी र फातिमा सना शेख अभिनीत फेमिली कमेडी फिल्म ‘सूरज पे मंगल भारी’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर कमेडीले भरिएको छ । यो फिल्मका निर्देशक अभिषेक शर्मा हुन् । फिल्ममा अन्नू कपूर, सुप्रिया पिलगांवकर, विजय राज, मनोज पाहवा, नीरज सूद, मञ्जुल शर्मा, अभिषेक बनर्जी, करिश्मा तन्नाको पनि अभिनय रहेको छ ।

मोहन राई निर्देशित फिल्म ‘महानगर’ कोलकाता फिल्म फेस्टिभलमा छनोट भएको छ । ‘दि नेटवर्क फर दि प्रमोसन अफ एसियन सिनेमा’ (नेटप्याक) अवार्डका लागि प्रतिस्पर्धात्मक विधामा फिल्म छनोट भएको हो । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि प्रदर्शनमा आउन नसकेको यो फिल्म नोभेम्बर महिनाको ५ तारिखदेखि १२ तारिखसम्म हुने फेस्टिभलमा वर्ल्ड प्रियिमर हुनेछ ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेपछि अभिनेता पुष्प खड्का करीब ६ महिना फिल्म र म्यूजिक भिडियोको काम रोकिँदा फुर्सदिला भए । लकडाउनमा उनको दैनिकी घरभित्रै वित्यो । निषेधाज्ञा खुकुलो भएपछि लगातार म्यूजिक भिडियोमा काम गरिरहेका उनले लकडाउनभन्दा अगाडि फिल्म ‘चालबाज’ को छायांकन सकाएका थिए ।

कोरोनाका कारण सात महिनादेखि सिनेमा हलमा ताल्चा लागेको छ । जसले गर्दा निर्माण सम्पन्न भएका फिल्म प्रदर्शनमा आउन सकेका छैनन् । अघिल्ला वर्षमा दशैंको छेकोमा सिनेमा हलमा फिल्म हेर्ने दर्शकको भीड हुन्थ्यो । तर, यसपालीको दशैंमा सिनेमा हल सुनसान छन् । दशैंलाई प्रदर्शन मिति घोषणा गरेका फिल्मको कोरोनाका कारण छायांकन समेत पूरा हुन सकेको छैन ।

फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिजको २५ वर्ष पूरा भएको अवसरमा लण्डनको लिसेस्टर स्क्वायरमा अभिनेता शाहरुख खान र काजोलको काँसको मूर्ति राखिने भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले ट्विटरमार्फत् यसको जानकारी दिएका हुन् । उनका अनुसार, यो प्रतिमा अर्को वर्ष (२०२१) अनावरण गरिनेछ । यो यूकेमा बनाइएको पहिलो बलिउड फिल्मको प्रतिमा हुनेछ ।

नेपालमा पहिलो पटक विद्यालयको पाठ्यक्रममा फिल्म समेटिएको छ । आउँदो शैक्षिक सत्रदेखि ११ र १२ कक्षामा फिल्म र डकुमेन्ट्री विषयको पढाई हुने भएको छ । चलचित्र विकास बोर्डले आधारभूत तहदेखि नै फिल्म पढाउने तयारी अन्तिम चरणमा पुगेको बताए पनि पाठ्यक्रम विकास केन्द्रले आउँदो शैक्षिक सत्रदेखि ११ र १२ कक्षामा मात्र फिल्म पढाइने जानकारी दिएको छ ।

