.jpg)
काठमाडौं । नेपालमा फिल्मको प्रचारका लागि निर्माताहरू अनेकौँ तिकडम अपनाउने गर्छन् । कहिले कलाकारबीच अफेयरको हल्ला फैलाइन्छ त कहिले गीतमा दुईअर्थी शब्द राखेर विवाद सिर्जना गरिन्छ । यही शुक्रबारदेखि प्रदर्शन हुन लागेको फिल्म ‘ककाकिकी’का निर्माताले पनि ट्रेलर सार्वजनिक कार्यक्रममा एउटा तल्लो स्तरको प्रचार फन्डा अपनाए, त्यसले ठूलै तरंग ल्यायो ।
उक्त कार्यक्रममा नक्कली प्रहरी प्रयोग गरेर फिल्मका कलाकारलाई पक्राउ गरिएको नाटक रचिएको थियो । तर, त्यसले दर्शकमा भने ठूलो भ्रम सिर्जना गर्यो । जब त्यो फन्डा मात्र थियो भन्ने दर्शकले थाहा पाए, त्यसपछि सुरु भएको फिल्मको आलोचना अझै रोकिएको छैन । दर्शक झुक्काउने फिल्म नहेर्ने भन्दै दर्शकहरूले ट्रेलरको कमेन्टमै आक्रोश पोखिरहेका छन् ।
सुवर्ण कुमार नामका एक युट्युब प्रयोगकर्ताले कमेन्टमा लेखेका छन्, ‘यो फिल्मले अनावश्यक चर्चाको लागि नेपाल प्रहरीको बदनाम गराई कलाकारलाई पक्रेको भ्रम फैलायो । सस्तो लोकप्रियताको लागि यो हर्कत गर्ने र गराउनेलाई हदैसम्मको कारबाही होस । साथै, अनावश्यक भ्रम सिर्जना गरेकोमा यो फिल्म सबै नेपालीले बहिष्कार गरौं ।’
करण अर्जुन नामका अर्का प्रयोगकर्ताले ट्रेलर रिलिज गर्न प्रहरीको भ्यान र पोसाक दुरुपयोग गरेर दर्शकलाई बेवकूफ बनाएको भन्दै निर्मातालाई ‘ढोंगी’को संज्ञा दिएका छन् । ‘जनता झुक्याउने फिल्म बहिष्कार गरौँ’ भन्दै सोनम राई नामका एक दर्शकले पनि ट्रेलरमा कमेन्ट गरेका छन् । अर्का दर्शक आशिष आजबेगुले फन्डा गर्नेहरूको फिल्म नहेर्ने प्रतिक्रिया दिएका छन् ।
तर, ट्रेलरमा फिल्मको आलोचना गर्नेभन्दा प्रशंसाका शब्द खर्चिने दर्शक नै बढी छन् । धेरैले फरक शैलीमा ट्रेलर तयार पारिएको भन्दै निर्देशकको प्रशंसा गरेका छन् । कतिपयले ट्रेलरकै आधारमा फिल्म ब्लकबस्टर हुने दाबी समेत गरेका छन् । तृप्ती नाडकर, गौरी मल्ल, रेखा थापा, दीया मास्केलगायतका कलाकारको अभिनयलाई पनि दर्शकले रुचाएका छन् ।
तर, कलाकार पक्राउको फन्डाले भने फिल्मप्रति दर्शकमा नकारात्मक धारणा बनेको छ । सामाजिक सञ्जालमा फिल्म बहिष्कार गर्नुपर्ने माग समेत उठ्नुले उक्त फन्डा प्रत्युत्पादक बनेको प्रस्ट देखिन्छ । यस्तो अवस्थामा फिल्मका लागि अब प्रदर्शनपछि दर्शकबाट प्राप्त हुने प्रतिक्रिया नै निर्णायक बन्नेछ । आशा गरौँ, सामाजिक सञ्जालको आक्रोशले फिल्मलाई भने असर गर्ने छैन ।

