.jpg)
काठमाडौं । अभिनेता अनमोल केसीका लागि यस वर्ष यादगार बनेको छ । उनको मुख्य भूमिका रहेको फिल्म ‘बाटुलो जून’ यस वर्षको सुपरहिट फिल्ममा दरिएको छ । ११ दिनमै ८ करोड ३५ लाखभन्दा बढी ग्रस कमाइ गरेको फिल्म अब दोहोरो अंक छुने लक्ष्यमा छ । फिल्मको व्यापार दोस्रो सातामा पनि सुखद रहेकाले अर्को आइतबारसम्म १० करोडको आँकडा पार हुने देखिन्छ ।
फिल्म प्रदर्शन भएसँगै अनमोलले केही दिन काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । त्यसपछि उनीसहित निर्देशक भुवन केसी र अभिनेत्री प्रिन्सी खतिवडा पश्चिम नेपालको यात्रामा निस्किए । दाङमा अवस्थित भिएफएक्स हलबाट सुरु भएको दर्शक भेटघाट कार्यक्रम नेपालगन्ज, धनगढी, चितवन र पोखरासम्म चल्यो ।
करिब एक सातासम्म चलेको पश्चिम नेपालको भ्रमणमा विशेषगरी अनमोलको क्रेज लोभलाग्दो देखिएको थियो । उनीसँग भेट्न दर्शकहरू दिनभर हलमा कुरेर बसेका थिए । दर्शकको भीड ठूलो हुँदा उनी कतिपय ठाउँमा गाडीबाट ओर्लिन समेत सकेनन् । र, गाडीको रुफटपबाटै दर्शकसँग सेल्फी खिच्दै धन्यवाद व्यक्त गरे । उनलाई प्रत्यक्ष देख्दा युवतीहरू रोइरहेका पनि देखिन्थे ।
पश्चिम नेपालको हल भ्रमणमा अनमोलजस्तै क्रेज प्रिन्सीको पनि देखियो । टिकटकमा निकै चर्चित रहेकी उनलाई दर्शकले ‘माउसुली’ र ‘छत्कुल्ली’ भन्दै बोलाएका थिए । फिल्मको पात्रको नामबाट चिनिन पाउँदा उनी खुसीले दंग देखिन्थिन् । उनीसँग सेल्फी खिच्न समेत दर्शकहरू झुम्मिएका थिए । उनलाई मन पराउने तन्नेरीदेखि वृद्ध उमेरका दर्शकसम्म देखिन्थे ।
अनमोल र प्रिन्सीको पश्चिम नेपालको भ्रमणले फिल्मप्रति दर्शकको आकर्षण बढाउन ठूलो भूमिका खेलेको छ । यसको प्रभाव बक्स अफिसमा समेत देखिएको छ । फिल्मको ‘वर्ड अफ माउथ’ पनि बलियो रहेकाले आगामी दिनमा व्यापार अझ बढ्नेमा निर्माण पक्ष विश्वस्त छ । फिल्मको कथावस्तु, छायांकन, पार्श्व संगीत र कलाकारको अभिनयलाई दर्शकले निकै रुचाएका छन् ।

