
काठमाडौं । कात्तिक २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पाँच पाण्डव’को पहिलो गीत ‘दाजुभाइजस्ता हुँदैनन् अरु’ सार्वजनिक गरिएको छ । दाजुभाइबीचको मिलन र आत्मीयता दर्शाउने गीतमा सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर छ । अर्जुन पोखरेलले गीतमा संगीत दिएका छन् । शब्द डा. कृष्णहरि बरालको हो ।
गीतको भिडियोमा फिल्मका पाँच मुख्य कलाकार हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी र सुशील सिटौलालाई दाजुभाइका रूपमा प्रस्तुत गरिएको छ । युधिष्ठिरको भूमिकामा रहेका हरिवंश स्वर्गलोकबाट आफ्ना भाइहरूको खोजीमा पृथ्वीलोक आएको भिडियोमा देखाइएको छ । भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् ।
वसन्त निरौलाको निर्देशन रहेको फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, इभा गिरी, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेललगायतका कलाकारको पनि अभिनय छ । फिल्मलाई काली रानी श्रेष्ठले निर्माण गरेकी हुन् । नवीन श्रेष्ठ प्रस्तुतकर्ताका रूपमा छन् । उनले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए ।
पत्रकार सुशील पौडेलको लेखन रहेको फिल्ममा श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन तथा रंग संयोजन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको पार्श्व संगीत, पुकार धिमालको भिएफएक्स, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी छ । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ ।

