Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आ बाट आमा २’को कमाइ ४ करोड पार, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’को कति ?

फिल्मीखबर, काठमाडौं, 2026/10/26

nepali movie

 

काठमाडौं । दसैंको अवसर पारेर प्रदर्शनमा आएका तीन सिक्वेल फिल्म ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’को व्यापारलाई लिएर धेरैमा चासो थियो । अन्ततः सोमबार चलचित्र विकास बोर्डले तीन फिल्मको व्यापारिक आँकडा सार्वजनिक गरेको छ । बोर्डको विवरणअनुसार तीन फिल्मले आइतबारसम्म साढे ८ करोडमाथिको व्यापार गरेका छन् । 

दसैंका तीन फिल्ममा ‘आ बाट आमा २’ बक्स अफिसमा अगाडि देखिएको छ । यसले १ लाख ३१ हजार ४९१ वटा टिकट बिक्रीबापत ४ करोड ११ लाख ४६ हजार ८४८ रुपैयाँ ग्रस कमाएको छ । यो फिल्मपछि कमाइको मामलामा ‘छ माया छपक्कै २’ दोस्रो स्थानमा छ । यसले २ करोड ७६ लाख ३९ हजार ६५ रुपैयाँ ग्रस कमाउँदै ८२ हजार ७५९ वटा टिकट बिक्री गरेको छ ।

एक्सनप्रधान फिल्म ‘१२ गाउँ २’ भने कमाइमा कमजोर देखिएको छ । यसले १० दिनमा १ करोड ८६ लाख ९४ हजार ८८६ रुपैयाँ ग्रस व्यापार गरेको छ । सो अवधिमा फिल्मका ५७ हजार ९८३ वटा टिकट बिक्री भएका छन् । दुई वर्षअघि प्रदर्शन भएको ‘१२ गाउँ’ले पहिलो साता नै ५ करोडमाथिको व्यापार गरेको थियो । सिक्वेललाई भने २ करोड कमाउन पनि धौधौ परेको छ ।

बोर्डले दसैंअघिका तीन फिल्म ‘गौँथली’, ‘पेन्सन पट्टा’ र ‘बाः एक योद्धा’को कमाइ विवरण पनि सार्वजनिक गरेको छ । यस वर्षको सर्वाधिक कमाउने फिल्म बनिसकेको ‘गौँथली’ले २६ करोड ३ लाख १४ हजार ९० रुपैयाँ, ‘पेन्सन पट्टा’ले १० करोड २३ लाख ५६ हजार १३८ रुपैयाँ र ‘बाः एक योद्धा’ले ३ करोड ५१ लाख ३९ हजार ४८ रुपैयाँ ग्रस कमाएका छन् ।