
काठमाडौं । छायांकनको अन्तिम चरणमा रहेको हास्यप्रधान फिल्म ‘कंगाल करोडपति’का निर्देशक राजु श्रेष्ठले दसैं सकिएलगत्तै नयाँ फिल्मको घोषणा गरेका छन् । उनले दोस्रो फिल्मको रूपमा ‘नौ डाँडा काटेर’ निर्माण गर्न लागेका हुन् । यस वर्षको अन्त्यसम्ममा छायांकन गर्ने लक्ष्य राखिएको फिल्मको कथावस्तु र कलाकारबारे भने जानकारी गराइएको छैन ।
सिनेमा पाठशालाको ब्यानरमा निर्माण हुने फिल्मको निर्मातामा अनिल कुमार बुढाथोकी छन् । फिल्मका कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती हुन् भने लाइन प्रोड्युसरको रूपमा सुरज कुमार छन् । रंग पत्रकार रघुनाथ सापकोटाले फिल्मको कथा तथा पटकथा तयार पार्नेछन् । लेखनका हिसाबले उनको यो पहिलो फिल्म हुनेछ ।
निर्देशक श्रेष्ठले ‘कंगाल करोडपति’को छायांकन सकिएपछि ‘नौ डाँडा काटेर’का कलाकार, प्राविधिक टोली र प्रदर्शन मितिबारे जानकारी गराइने बताए । उनका अनुसार फिल्म सामाजिक कथावस्तुमा निर्माण हुनेछ । नेपाली फिल्म क्षेत्रका लागि नयाँ र फरक कथा लिएर आउन लागेको उनको भनाइ छ । फिल्मले दर्शकको मन जित्नेमा उनी आशावादी छन् ।

