Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रक्षा मन्त्रालयले अनुमति नदिँदा सलमानको ‘मातृभूमि’को रिलिज अन्योल

फिल्मीखबर, काठमाडौं, 2026/10/26

salman khan

 

काठमाडौं । बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘मातृभूमि’ १७ अप्रिलमा रिलिज हुनुपर्ने थियो । तर, फिल्मको कथावस्तुका कारण रक्षा मन्त्रालयले अनुमति नदिँदा रिलिज नै अन्योल बनेको छ । दुईपटक रक्षा मन्त्रालयका अधिकारीहरूलाई फिल्म देखाउँदा समेत ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) प्राप्त भएको छैन, जुन बिना प्रदर्शन असम्भव छ ।

सन् २०२० मा लद्दाखमा भएको भारतीय र चिनियाँ सैनिकको झडपमा आधारित फिल्मको नाम पहिला ‘ब्याटल अफ गलवान’ राखिएको थियो । तर, फिल्मको कथावस्तुलाई लिएर चीनले आपत्ति जनाएपछि भारतको रक्षा मन्त्रालयले नामसहित फिल्मका केही दृश्य परिवर्तन गर्न निर्देशन दिएको थियो । यसपछि फिल्मको नाम ‘मातृभूमि’ राख्दै केही दृश्य पुनः छायांकन गरियो ।

अक्टोबरको सुरुवातमा फिल्मको संशोधित संस्करण रक्षा मन्त्रालयमा पेस गरिएको थियो । उक्त स्क्रिनिङमा सलमान खान र निर्देशक अपूर्व लाखिया उपस्थित थिए । तर, दोस्रो स्क्रिनिङपछि पनि फिल्मले प्रदर्शनको अनुमति पाउन नसकेको भारतीय मिडियाले उल्लेख गरेका छन् । अब फिल्मको रिलिज यस वर्ष हुने सम्भावना न्यून बनेको छ । 

फिल्म रिलिज गर्नुअघि निर्माताले सेन्सर बोर्डबाट अनिवार्य रूपमा प्रमाणपत्र लिनुपर्छ । तर, रक्षा मन्त्रालयबाट ‘एनओसी’ नपाएका कारण ‘मातृभूमि’को सेन्सर प्रक्रिया नै अघि बढ्न सकेको छैन । मन्त्रालयबाट ‘एनओसी’ प्राप्त भएर सेन्सर प्रक्रिया पूरा भएपछि मात्र फिल्म रिलिजको बाटो खुल्नेछ । यो सम्पूर्ण प्रक्रिया पूरा हुन अझै ३–४ महिना लाग्न सक्ने अनुमान गरिएको छ ।

फिल्ममा सलमानले भारतीय सेनाका कर्नेल सन्तोष बाबुको भूमिका निर्वाह गरेका छन् । उनको जोडी अभिनेत्री चित्रांगदा सिंहसँग बाँधिएको छ । नेपाली अभिनेता अनुप विक्रम शाहीको पनि फिल्ममा मुख्य भूमिका छ । उनले चिनियाँ आर्मीको भूमिकामा अभिनय गरेका छन् । फिल्ममा सलमान र अनुपको १३ मिनेट लामो एक्सन सिन रहेको बताइएको छ ।