.jpg)
काठमाडौं । गत वर्षको व्यावसायिक सफल फिल्म ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी ऊनको स्वीटर’को सिक्किमको युमथाङ उपत्यकाबाट छायांकन सुरु गरिएको छ । सोमबार लामा गुरुहरूद्वारा मन्त्र उच्चारणसहित शुभ मुहूर्त गरेसँगै फिल्मको छायांकन थालिएको हो । फिल्मका लागि पहिलो शट भारतीय कलाकार पीयूष मिश्रा र अभिनेता एलेक्स पारसले दिएका थिए ।
फिल्मको मुहूर्त समारोहमा सिक्किम फिल्म प्रवर्धन बोर्डका अध्यक्ष टासी छिरिङ भुटिया, कल्चरल बोर्डका अध्यक्ष सञ्जय दिल्पाली राई, एडीसी, भारतीय सेनाका प्रतिनिधि तथा स्थानीय लामा गुरुहरूको उपस्थिति रहेको थियो । उनीहरूले फिल्म सफलताको शुभकामना दिँदै चर्चित फिल्मको सिक्वेलको छायांकन सिक्किममा हुन लागेकोमा खुसी व्यक्त गरे ।
नेपाल, दार्जिलिङ, सिक्किम र दिल्लीमा छायांकन हुने फिल्ममा पीयूष र एलेक्ससँगै पहिलो भागका मुख्य जोडी विपिन कार्की (धरणीधर काफ्ले) र मिरुना मगर (फूल गुरुङ) पनि देखिनेछन् । फिल्ममा परीक्षा लिम्बू, टेरिया फौजा मगर, सुरज तमु, शारदा देवी सिलवाल, भुवन सिंह राई र रुश्मा राईलगायतका कलाकारको समेत अभिनय रहनेछ ।
‘ऊनको स्वीटर’बाट राष्ट्रिय अवार्ड जितेका नवीन चौहानको निर्देशनमा बन्ने फिल्ममा उनी स्वयंको लेखन रहेको छ । यो उनको दोस्रो निर्देशकीय फिल्म हो । फिल्ममा अभिषेक सुवेदी सह-लेखक तथा मुख्य सहायक निर्देशक (चिफ एडी)का रूपमा छन् भने छायांकनको जिम्मेवारी चिन्तन राजभण्डारीले सम्हालेका छन् । फिल्मका गीतमा कोविद बज्रको संगीत रहनेछ ।
.jpg)
निर्देशक चौहानले ‘ऊनको स्वीटर’को कथा अधुरो भयो भन्ने दर्शकको गुनासोलाई मध्यनजर गर्दै दोस्रो भाग बनाउन लागेको बताए । उनका अनुसार फिल्मले काफ्ले, फूल, डम्बर र ईक्षाका कथासँगै प्रेम, जीवन र मानवीय संवेदनाका नयाँ आयामहरू खोज्नेछ । ‘ऊनको स्वीटर’ले दर्शकको मनमा छोडेका कथा, पात्र र अनुभूतिलाई सिक्वेलले अझ फराकिलो संसारमा जोड्ने उनले बताए ।
अन्तरजातीय प्रेमकथामा आधारित ‘ऊनको स्वीटर’ले घरेलु बक्स अफिसमा करिब १२ करोडको व्यापार गरेको थियो । यो २०८२ सालको पहिलो सुपरहिट फिल्म हो । भारतका हलमा समेत फिल्मले डेढ करोड भारु कमाउँदै ५१ दिन मनाएको थियो । यो फिल्ममा समावेश ‘फूल’, ‘मखमली’, ‘काफ्ले’ र ‘चाईनेजो जिन्दगानी’ गीत दर्शकमाझ निकै लोकप्रिय छन् ।

