Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित, शपथलगत्तै गरे पदभार ग्रहण

फिल्मीखबर, काठमाडौं, 2026/10/26

manish pandit

 

काठमाडौं । नेपाली फिल्म क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले पद तथा गोपनीयताको शपथ लिएका छन् । गत असोज ३० गते मन्त्रिपरिषद्को बैठकबाट बोर्ड अध्यक्षमा नियुक्त भएका उनले सोमबार सिंहदरबारस्थित सूचना तथा सञ्‍चार मन्त्रालयमा मन्त्री डा. विक्रम तिमिल्सिनाबाट शपथ लिँदै नियुक्ति पत्र बुझेका हुन् । 

शपथलगत्तै अध्यक्ष पण्डितले चाबहिलको सरस्वती नगरस्थित बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेल बोर्ड अध्यक्ष हुँदा बक्स अफिस कन्सल्टेन्टको रूपमा काम गरेका मनिष बोर्डका १९औं अध्यक्ष हुन् । बोर्ड अध्यक्षको कार्यकाल दुई वर्षको हुने व्यवस्था छ । 

निवर्तमान अध्यक्ष दिनेश डिसीको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले असोज १ गते अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो । त्यसमा पण्डितसहित १२ जनाले आवेदन दिएका थिए । तीमध्ये सर्टलिस्टमा परेका मनिष पण्डित, निशा अधिकारी र नरेशकुमार पौडेलको नाम मन्त्रिपरिषद्मा पठाइएको थियो । तीन जनामा मन्त्रिपरिषद्ले पण्डितको नाम अनुमोदन गरेको हो । 

अध्यक्ष पण्डित फिल्म निर्माता तथा लेखक समेत हुन् । उनले सन् २०१७ मा प्रदर्शन भएको हेमराज बिसी निर्देशित फिल्म ‘ग्याङस्टार ब्लुज’बाट निर्माणमा हात हालेका थिए । यसमा उनी कार्यकारी निर्माता थिए । यसपछि केही समय बोर्डमा बक्स अफिस कन्सल्टेन्टको रूपमा काम गरेका उनी करिब ८ वर्षपछि सोही बोर्डमा अध्यक्ष बनेर पुगेका छन् ।