अन्तरजातीय प्रेमकथामा आधारित फिल्म ‘जदौ’ यही शुक्रबार (९ असोज)बाट प्रदर्शन हुँदैछ । ‘जदौ हजुर’ र ‘तिमीसँग नबोली’ बोलका दुई गीतले फिल्मप्रति दर्शकको चासो बढाइरहेको समयमा निर्माण पक्षले दोस्रो विस्तारित ट्रेलर सार्वजनिक गरेको छ । साढे दुई मिनेट लामो ट्रेलरमा जातीय विभेद र त्रिकोणात्मक प्रेमकथालाई समेटिएको छ ।
ट्रेलरलाई युट्युबमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । कतिले कलाकारहरूको संवाद मन पराएका छन् भने कतिले समाजको यथार्थ कथा पस्किएको भन्दै निर्मातालाई धन्यवाद दिएका छन् । फिल्मका मुख्य अभिनेता प्रभात पाल ठकुरीको लुक्स र अभिनयको पनि धेरैले प्रशंसा गरेका छन् । ट्रेलरलाई प्राप्त प्रतिक्रिया हेर्दा फिल्मप्रति दर्शकहरू उत्साहित रहेको देखिन्छ ।
अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको यस फिल्ममा ऋचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी, मुकुन भुसाल, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, खड्ग बहादुर पुन मगर (खबपु), सुन्दर धिताल, गीता अधिकारी, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा, रोहित कार्कीलगायतका कलाकारहरूको छ । फिल्ममा निर्देशक लिम्बू स्वयंको लेखन छ ।
सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता रहेको फिल्ममा श्याम तामाङ र नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, मनोज चौलागाईं र भुपेन्द्र बज्राचार्यको पार्श्व संगीत तथा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत छ । फिल्मको हलहरूमा बुकिङ खुल्न सुरु भइसकेको छ ।

