
अभिनेता पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘यानीमाया’को छायांकन पूरा नहुँदै आक्रामक रूपमा विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ । छायांकन सुरु भएयता ६ देशमा फिल्म बिक्री भइसकेको छ । निर्माता चन्द्र ज्योति आलेका अनुसार हङकङ, जापान, कोरिया, मलेसिया, कतार र थाइल्याण्डमा फिल्मको प्रदर्शन अधिकार बिक्री गरिएको हो ।
फिल्मको छायांकन समेत नसकिँदै विदेश प्रदर्शन अधिकार बिक्री हुनुमा पल शाहका पछिल्ला फिल्मको व्यापारिक नतिजालाई मुख्य कारण मानिएको छ । गत वर्ष उनका दुई फिल्म ‘मोहर’ र ‘आ बाट आमा’ व्यावसायिक रूपमा सफल भएका थिए । यही कारण ‘यानीमाया’को प्रदर्शन अधिकार लिन विदेशका वितरकहरू लालायित भएको देखिन्छ ।
अन्तरजातीय प्रेमकथामा आधारित यो फिल्मको करिब एक सातादेखि भक्तपुरको गुन्डु क्षेत्रमा छायांकन भइरहेको छ । अबको केही दिनमा बाँकी छायांकनका लागि पर्वत प्रस्थान गर्ने तयारीमा निर्माण पक्ष छ । पर्वतमा २५ दिनसम्म फिल्मको छायांकन हुनेछ । आगामी फागुन ७ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्ममा चन्द्र ज्योति आलेसँगै पल शाहको पनि लगानी छ ।
ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भइरहेको फिल्ममा पलसहित अञ्जना मगर, शिशिर वाङ्देल, गजित बिष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा, नारायणी खत्री, शान्न अधिकारी, मोनिका भण्डारीलगायतका कलाकारहरूको अभिनय रहनेछ । फिल्मको छायांकन नवराज उप्रेतीले गरिरहेका छन् भने सम्पादन भूपेन्द्र अधिकारीले गर्नेछन् ।

