
‘जारी’ जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने फिल्म ‘रातो घेरा : द रेड सर्कल’ आगामी मंसिर १८ गतेबाट प्रदर्शनमा आउने भएको छ । बिहीबार पाटनस्थित बंगलामुखी मन्दिरमा फिल्मको शुभ मुहूर्त गर्दै प्रदर्शन मितिबारे जानकारी गराइएको हो । फिल्मको छायांकन भने यही असार २५ गतेबाट सुरु हुनेछ ।
‘घरज्वाइँ’ र ‘मितज्यू’का निर्देशक अनिल बुढा मगरको निर्देशनमा बन्ने यस फिल्ममा दयाहाङ र मिरुनासहित रजनी गुरुङ, अरुण पुन, सुनिल पोखरेल, भोला सापकोटा, सुरज तमु, खड्ग बहादुर पुन (खबपु), सुस्मिता कुवँर, भावना खपाङ्गी मगर, कविता आले, विजय पौडेल, बल बहादुर गुरुङ, रामबाबु रेग्मी, डिबी गुरुङलगायतका कलाकारहरूको अभिनय रहनेछ ।
विश्राम फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता जीवन गुरुङ हुन् । लौरो अभियानका गण्डकी प्रदेश संयोजक समेत रहेका उनले यसअघि गुरुङ भाषाको फिल्म ‘ङोल्स्यो रानी’ बनाएका थिए । उनका अनुसार ‘रातो घेरा’ सत्य घटनामा आधारित भएर बन्न लागेको हो । फिल्मलाई दुई श्रृंखलामा निर्माण गर्ने योजना रहेको उनले बताए ।
फिल्मको निर्माणमा जीवनलाई कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचनले सघाउने छन् । सह–निर्मातामा सुमन गुरुङ र खेम राना रहेका छन् । राजु स्याङ्तानको लेखन रहेको फिल्ममा शिशिर बिसंखेको छायांकन तथा मनोज थापा मगर र सागर आले मगरको संगीत रहनेछ । निर्माण नियन्त्रणमा सन्देश राई र कस्ट्युम डिजाइनमा जानकी कठायत रहेका छन् ।

