Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘क्रिटिक्स फिल्म अवार्ड’मा क–कसले जिते अवार्ड ?

फिल्मीखबर, काठमाडौं, 2026/06/20

film critics society (fiction)

 

चलचित्र समीक्षक समाज (फिक्सन)ले २०८१ र २०८२ सालको ‘क्रिटिक्स फिल्म अवार्ड’ एकसाथ वितरण गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच २०८१ सालको १० वटा र २०८२ सालको ८ वटा विधामा अवार्ड प्रदान गरिएको हो । विजेताहरूलाई महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)देखि नवीन सुब्बासम्मले अवार्ड प्रदान गरे । 

२०८१ सालको उत्कृष्ट फिल्मको अवार्ड ‘शाम्बाला’ले पाएको छ । यही फिल्मबाट मीनबहादुर भामले उत्कृष्ट निर्देशक र थिन्ले ल्हामोले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरे । उत्कृष्ट अभिनेतातर्फको अवार्ड भने फिल्म ‘गाउँ आएको बाटो’बाट दयाहाङ राईले उचाले । यही फिल्मबाट उत्कृष्ट साउण्ड डिजाइनको अवार्ड किशोर आचार्यले पाएका छन् । 

त्यस्तै, पटकथा लेखनको अवार्ड ‘सानो संसार’बाट सरिष्मा खत्री र सिद्धार्थ पुडासैनीले प्राप्त गर्दा ‘आँखा’बाट आलोक शुक्लाले छायाङ्कन र ‘राजागञ्ज’बाट जे. हिम ली र एलेक्स गुर्भिट्सले उत्कृष्ट सम्पादनको अवार्ड पाए । अभिनयतर्फ स्पेसल मेन्सन अवार्ड ‘बोक्सीको घर’बाट सुपला सापकोटाले पाइन् भने कला निर्देशनतर्फ ‘पूर्ण बहादुरको सारङ्गी’बाट रोशन दिवानाले अवार्ड उचाले ।

२०८२ सालको उत्कृष्ट फिल्म भने ‘ऊनको स्वीटर’ बनेको छ । यही फिल्मले निर्देशन (नवीन चौहान), पटकथा लेखन (नवीन चौहान र सुरज कटुवाल) र पार्श्व संगीत (कोविद बज्र) विधामा पनि अवार्ड प्राप्त गर्‍यो । यो फिल्मले हिजो शुक्रबार मात्र उत्कृष्ट फिल्मसहित निर्देशन र अभिनेत्रीको विधामा राष्ट्रिय चलचित्र पुरस्कार जितेको थियो ।

‘क्रिटिक्स अवार्ड’मा उत्कृष्ट अभिनेताको अवार्ड हरिवंश आचार्यले पाएका छन् । उनले फिल्म ‘भूठान’बाट यो अवार्ड प्राप्त गरेका हुन् । उत्कृष्ट अभिनेत्रीको अवार्ड भने फिल्म ‘रमिताको पिरती’बाट आना शर्माले पाइन् । उनले यही फिल्मबाट हिजो शुक्रबार राष्ट्रिय चलचित्र पुरस्कारमा राष्ट्रपति रामचन्द्र पौडेलबाट निर्णायक समिति प्रोत्साहन पुरस्कार प्राप्त गरेकी थिइन् ।

त्यस्तै, छायाङ्कन र सम्पादन विधामा ‘भूठान’ उत्कृष्ट ठहरिएको छ । सुशन प्रजापतिले छायाङ्कन र अञ्जय खड्काले सम्पादनतर्फको अवार्ड प्राप्त गरे । समीक्षक समाजले २०८२ सालका लागि स्पेसल मेन्सन अवार्ड भने प्रदान गरेन । कार्यक्रममा निश्चल बस्नेत, स्वस्तिमा खड्का, सञ्चिता लुइँटेल, पशुपति राई, अबिनास विक्रम शाह, बुद्धि तामाङलगायतको उपस्थिति रहेको थियो ।

Most Visited News (monthly)