Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दक्षिणा’मा निरुताको कति थियो पारिश्रमिक ?

फिल्मीखबर, काठमाडौं, 2026/06/05

niruta shing

 

नेपाली फिल्मको ‘स्वर्ण युग’की सर्वाधिक सफल अभिनेत्री हुन्, निरुता सिंह । ५० र ६० को दशकमा उनी निर्विकल्पझैँ थिइन् । गाउँले र दुःखी चरित्रमा सबैभन्दा पहिला उनलाई नै खोजिन्थ्यो । त्यही समयमा उनले ५० भन्दा बढी फिल्ममा अभिनय गरिन् । तीमध्ये ‘दर्पण छायाँ’ (२००१)लाई उनको करिअरको ‘टर्निङ पोइन्ट’को रूपमा लिइन्छ ।

भारतको दार्जिलिङमा जन्मे-हुर्केकी निरुताको फिल्ममा डेब्यू भने ‘दक्षिणा’ (१९९४)बाट भएको थियो, जसलाई तुलसी घिमिरेले निर्देशन गरेका थिए । निरुतालाई निर्देशक घिमिरेले नै दार्जिलिङबाट नेपाल ल्याएर फिल्ममा अभिनय गराएका थिए । यो फिल्ममा काम गर्दा उनी जम्मा १६ वर्षकी थिइन् । यसमा उनको जोडी अभिनेता भुवन केसीसँग बाँधिएको थियो । 

बिहीबार काठमाडौंको चाबहिलमा रहेको चलचित्र विकास बोर्डमा आयोजित एक अवार्ड कार्यक्रममा रजत सम्मान ग्रहण गर्न पुगेकी निरुता त्यहाँ राखिएको ‘दक्षिणा’को पोस्टर देखेपछि एकाएक ‘नोस्टाजिक’ भइन् । र, सञ्चारकर्मीसामु फिल्ममा समावेश ‘सपनाभरि आँखामा आउने को होला’ गीत गाउँदै आफ्नो पहिलो पारिश्रमिक समेत खुलासा गरिन् । 

उनले भनिन्, ‘मेरो पहिलो फिल्म थियो ‘दक्षिणा’ । अहिले तीन दशक भइसक्यो । त्यसबेला मलाई फिल्म कसरी बनाइन्छ, कसरी खेलिन्छ, पोस्टर के हो भन्ने केही कुरा पनि थाहा थिएन । तुलसी दाइले जे-जे भन्नुहुन्थ्यो म त्यही गर्थे ।’ उनका अनुसार ‘दक्षिणा’बाट उनले पारिश्रमिकस्वरुप भारु १० हजार (नेपाली १६ हजार रुपैयाँ) पाएकी थिइन् । 

फिल्मबाट पाएको पैसाले नेपालमा सपिङ गरेर परिवारलाई उपहार लगेको स्मरण गर्दै उनी भन्छिन्, ‘मेरो जीवनमै पहिलो पटक त्यत्रो पैसा हातमा परेको थियो । फिल्मको छायांकन सकिएपछि मैले त्यो पैसाले परिवारका सबैलाई एक-एकवटा उपहार किनेर लगेको थिएँ । त्यसबेला मैले किनेका केही चिजहरू अझै पनि घरमा सुरक्षित छन्, कुनै दिन म त्यो देखाउनेछु ।’