
विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ‘अन सर्टेन रिगार्ड’ विधातर्फको ‘जुरी प्राइज’ अवार्ड जितेको नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’को टोलीलाई चलचित्र विकास बोर्डले नगदसहित सम्मान गरेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच बोर्डले २ लाख ५० हजार रुपैयाँसहित फिल्मका निर्देशक-निर्मातादेखि कलाकारसम्मलाई खादा र मालाले सम्मान गर्यो ।
चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको आयोजनामा भएको सम्मान समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार तथा फिल्म निर्देशक असीम शाह, बोर्डका अध्यक्ष बोर्डका अध्यक्ष दिनेश डीसीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले फिल्मको टोलीले कान्स फेस्टिभलमा प्राप्त गरेको उपलब्धि केवल पुरस्कार मात्र नभइ राष्ट्रकै लागि अमूल्य उपहार भएको बताए । उनले भने, ‘यहाँहरूले प्राप्त गर्नुभएको सफलताको मूल्य दुई लाख ५० हजार वा दुई करोड ५० लाख रुपैयाँले पनि मापन गर्न सकिँदैन । यो देशकै लागि गौरवको विषय हो ।’
उनले गुणस्तरीय एवं देशको आवाज बोल्ने फिल्म निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षमा करिब साढे तीन करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै फिल्म क्षेत्रको विकासका लागि आवश्यक कानुनी तथा नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले आगामी वर्ष थप बजेट वृद्धि गर्न पहल गर्ने पनि प्रतिबद्धता जनाए ।
नागरिक उड्डयनमन्त्री पौडेलले ‘इलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउने महत्त्वपूर्ण काम गरेको भन्दै फिल्मको टिमलाई धन्यवाद दिए । ‘धेरैको सपना रहने अन्तर्राष्ट्रिय मञ्चमा यो फिल्मले नेपाललाई चिनाएको छ । यस सफलताले समग्र नेपाली फिल्म क्षेत्रलाई थप प्रेरणा दिएको छ,’ मन्त्री पौडेलले भने ।
सम्मान ग्रहणपछि फिल्मका लेखक तथा निर्देशक अविनाश विक्रम शाहले यो उपलब्धि आफ्नो टिमको मात्र नभइ सम्पूर्ण नेपाली फिल्मकर्मीको साझा सफलता भएको बताए । उनले फिल्म मनोरञ्जनसँगै देशको भाषा, कला, संस्कृति, पहिचान र कथालाई संसारसामु पुर्याउने सशक्त माध्यम भएकाले यसको प्रवर्द्धनमा राज्यले विशेष जोड दिनुपर्ने पनि धारणा व्यक्त गरे ।

