
आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोल नं १’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार युट्युबमार्फत सार्वजनिक झन्डै २ मिनेट लामो टिजरले फिल्मको कथावस्तु र सेटिङबारे जानकारी दिएको छ । ग्रामीण परिवेशमा आधारित फिल्मले बालबालिकामा पढाइको बोझले पार्ने मानसिक दबाबको कथा पेस गरेको छ ।
आर्थिक अभावका कारण पढ्नका लागि छात्रवृत्तिको भर पर्नुपर्ने बाध्यता र समाजमा इज्जतका लागि बालबालिकालाई परिवारले दिने पढाइको दबाबलाई टिजरमा मर्मस्पर्शी रूपमा देखाइएको छ । बाबु-छोराको सम्बन्ध, बाबुको इज्जतका लागि छोराले पढाइमा गरेको मिहिनेत, कमजोर स्मरण शक्तिका कारण बच्चामा पर्ने प्रभावलाई पनि टिजरले देखाउने प्रयास गरेको छ ।
कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले निर्माण गरेको यस फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई जोन योञ्जनले निर्देशन गरेका हुन् । उनले यसअघि ‘आँखा’ निर्देशन गरेका थिए ।
विनोद पौडेल र जाह्नवी पौडेल निर्माता रहेको फिल्मको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । फिल्ममा महेश दवाडीको लेखन, शिवराम श्रेष्ठको छायांकन, मदन घिमिरेको सम्पादन, रोहित शाक्यको पार्श्व संगीत तथा उत्तम प्रधानको साउन्ड डिजाइन रहेको छ । यो फिल्मले अहिलेको शिक्षा प्रणालीले बालबालिकामा पारेको प्रभावलाई मुख्य कथावस्तु बनाएको छ ।

