Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘काजी’को ‘वारि बर पारि पिपलु’ गीतमा प्रेमिल देखिए विपिन र केकी

फिल्मीखबर, काठमाडौं, 2026/04/30

Kaji

 

आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘काजी’को पहिलो गीत ‘वारि बर पारि पिपलु’ सार्वजनिक गरिएको छ । बिहीबार निर्माण पक्षले काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित एक कार्यक्रमका बीच प्रेमिल भावको उक्त गीत दर्शकमाझ ल्याएको हो । गीतले युवायुवतीबीचको प्रेम, आत्मीयता र समर्पणको भाव व्यक्त गरेको छ ।

कथानक शैलीमा तयार पारिएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी विपिन कार्की र केकी अधिकारीलाई केन्द्रमा राखिएको छ । नवविवाहित जोडीको भूमिकामा प्रस्तुत भएका उनीहरूको एकअर्काप्रतिको प्रेम, हेरचाह र सम्मानलाई भिडियोमा सुन्दर ढंगले देखाइएको छ । ग्रामीण परिवेशको प्रेमकथालाई फिल्मले मुख्य विषयवस्तु बनाएको संकेत भिडियोले दिन्छ ।

लक्ष्मण रिजालको निर्देशनमा बनेको यस फिल्ममा विपिन र केकीसहित गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीप बाबु लोहनी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुवेदी, बाल कलाकारहरू दीक्षिता अर्याल, आरव बराल, सुपला सापकोटा लगायतको अभिनय रहेको छ । 

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा राम प्रसाद रिजाल, नेहान रिजाल र विकासराज जोशी रहेका छन् । प्रदीप भारद्वाजको लेखन रहेको फिल्मलाई चिन्तन राजभण्डारीले छायांकन गरेका हुन् । यसमा कालीप्रसाद बास्कोटाको संगीत, सुजिल कर्माचार्यको पार्श्व संगीत, कविराज गहतरजको नृत्य निर्देशन तथा विपिन मल्लको सम्पादन रहेको छ । 

Most Visited News (monthly)