.jpg)
‘विश्वभरीका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ भन्ने नाराका साथ हरेक वर्ष आयोजना हुँदै आएको नेपालको प्रतिष्ठित फिल्म महोत्सव ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) काठमाडौंमा सुरु भएको छ । चैत २१ गते (पाँच दिन) सम्म हुन लागेको महोत्सवको बिहीवार राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा मेयर शाक्यले कोरोनाले सबैभन्दा बढी प्रभावित भएको फिल्म क्षेत्रलाई चलायमान बनाउन यो महोत्सवले भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । त्यस्तै, कार्यक्रममा उपस्थित भएका चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली फिल्म क्षेत्रलाई सरकारले सहयोग गर्न कुनै कन्जुस्याइँ नगरेको बताउँदै फिल्मकर्मीलाई राम्रो फिल्म बनाउन सुझाव दिएका छन् ।
डकुमेन्ट्री ‘गोरु पर्व’ प्रिमियर गर्दै सुरु भएको महोत्सवमा ३८ देशका ८९ फिल्म स्क्रिनिङ गरिने आयोजक संस्था नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले जानकारी दिए । विश्वसामु नेपाली फिल्मको प्रवद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमा सघाउनु महोत्सवको उद्देश्य रहेको उनले बताए । उक्त फेस्टिभलमा विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रमहरु पनि हुनेछन् ।
महोत्सवमा स्क्रिनिङ हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरुबीच ७ वटा विधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । शुक्रवारबाट पर्यटन बोर्ड प्रेक्षालयमा हुने फेस्टिभलमा भौतिक र अनलाइन दुवै माध्यमबाट फिल्महरु प्रदर्शन हुनेछन् । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको यो पाँचौं संस्करण हो ।

