.jpg)
अभिनेता सन्दिप क्षेत्रीले कुनै कलाकार आफूले खेलेको फिल्मबाट उत्साहित हुँदैन भने त्यो कलाकार नै हुन नसक्ने बताएका छन् । शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हेल्लो जिन्दगी’को प्रचारमा मुख्य दुई अभिनेत्री प्रियंका कार्की र दीपिका प्रसाईं नहिँडेपछि फिल्मको प्रचारमा सघाउन पुगेका उनले कलाकार भएपछि आफूले खेलेको फिल्मप्रति चासो राख्नुपर्ने धारणा राखे ।
उनले भने- ‘फिल्मले मागे अनुरुपको समय उहाँहरु (प्रियंका कार्की र दीपिका प्रसाईं) ले आफ्नो विभिन्न कारणले दिन नपाउनु भएको हुनसक्छ । तर, त्यो भन्दैमा उहाँहरुको फिल्मलाई साथ नै छैन भन्ने चाहिँ होइन । कहिले काहिँ उपस्थित नभएपनि त्यसको अनुभूति हुनसक्छ । आँखाले देख्नै पर्छ भन्ने छैन । आफूले खेलेको फिल्मबाट कोही उत्साहित हुँदैन भने त्यो कलाकार नै होइन ।’
फिल्मको प्रचारमा कलाकारहरु उपस्थित नहुँदा टिमलाई खल्लो महशुस हुनु स्वभाविक भएपनि फिल्म कति स्वादिलो बनेको छ त्यो महत्त्वपूर्ण हुने उनको भनाई छ । ‘उहाँहरुले यसअघि निर्वाहा गरेको चरित्र जस्तै ‘हेल्लो जिन्दगी’मा पनि त्यस्तै प्रस्तुती छ भन्नेमा म विश्वस्त छु । उहाँहरु फिल्ममा हुनु नै साथको प्रतिक हो । अब फिल्म कति स्वादिलो बनेको छ त्यो महत्त्वपूर्ण हो,’ उनले भने ।
सन्दिप क्षेत्रीले ‘हेल्लो जिन्दगी’का निर्देशक एभरेष्ट सूर्य बोहोराको निर्देशनमा बनेको फिल्म ‘श्री’मा काम गरेका थिए । यो फिल्मलाई आफ्नो करिअरकै माइलस्टोन मान्ने गरेका उनले भविष्यमा अरु फिल्ममा पनि निर्देशक बोहोरासँग सहकार्य गर्न आफू इच्छुक रहेको बताएका छन् । त्यस्तै, निर्देशक बोहोराले अब सन्दिप क्षेत्रीलाई फिल्ममा लिनका लागि आफूले धेरै गृहकार्य गर्नुपर्ने बताए ।

