.jpg)
कोरोना भाइरसको महामारीका कारण महिनौंदेखि सिनेमा हलहरु बन्द छन् । गत वर्ष लकडाउनपछि तीन महिना खुलेका सिनेमा हल दर्शकको साथ नपाउँदै कोरोनाको दोस्रो लहर फैलिएसँगै बन्द भयो । अब सरकारले सिनेमा हलमाथि लगाएको प्रतिबन्ध हटाएर सञ्चालनको अनुमति कहिले दिन्छ, टुंगो छैन । सिनेमा हल बन्द हुँदा निर्माण भइसकेका दर्जनौं फिल्म अलपत्र परेका छन् ।
कोरोना महामारीपछि हलिउड/बलिउडका धेरै फिल्म डिजिटल रिलिज भए । तर, नेपालमा सञ्चालित डिजिटल प्लेटफर्मले लाखौं खर्चिएर नयाँ फिल्म किन्ने आँट नगर्दा निर्माताहरु सिनेमा हलकै भरमा बसेका छन् । यद्यपि, केही निर्माताले जोखिम उठाएरै डिजिटल प्लेटफर्ममा फिल्म रिलिज गरेका छन् । लकडाउनमा ‘हिरो रिर्टन्स, कपिला’ फिल्म डिजिटल प्लेटफर्ममा रिलिज भए ।
शुक्रवारबाट अर्को फिल्म ‘लभ सर्कल’ पनि डिजिटल रिलिज भएको छ । लोकप्रिय प्लेटफर्म डिसहोमको सिनेमा घर च्यानल नम्बर ५५५ मा फिल्म रिलिज भएको हो । केही दिनमा अरु डिजिटल प्लेटफर्ममा पनि फिल्म रिलिज गर्ने तयारी रहेको निर्माता ओम प्रकाश अग्रवालले जानकारी दिए । बसन्त निरौलाको निर्देशन रहेको फिल्म कमेडी र सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको हो ।
मुकुन भुषाल, नाजिर हुसेन, पवित्रा आचार्य, रबिन्द्र झा, रिस्ता बस्नेत र सुमन कोइरालाको मुख्य भूमिका रहेको फिल्ममा अंकित बाबु अधिकारीको संगीत, अभिमन्यु निरवीको लेखन, दिव्य सुवेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी र साहिल खान/मिलन श्रेष्ठको सम्पादन छ । मि टिभीको प्रस्तुतिमा ओम अग्रवाल र रोशन पौडेलले संयुक्त रुपमा फिल्मको निर्माण गरेका हुन् ।

