नेपाली फिल्ममा एक्सनमा नयाँ ट्रेन्ड भित्राउने द्वन्द्व निर्देशकको रुपमा चिनिन्छन्, चन्द्र पन्त । फिल्ममा कलाकारलाई एक्सन गराउने उनको शैली भिन्न मानिन्छ । यसैले, कुनै निर्माता/निर्देशकले एक्सन फिल्म बनाउँदै गर्दा द्वन्द्व निर्देशनमा उनी नै पहिलो रोजाइ हुने गरेका छन् । अभिनेता अनमोल केसी स्टारर फिल्म ‘कृ’ मा उनको द्वन्द्व निर्देशन कलाको निकै प्रशंसा भएको थियो ।
५० बढी फिल्ममा एक्सन कोरियोग्राफी गरिसकेका चन्द्र यतिबेला भोजपुरी इन्डस्ट्रीमा आफूलाई स्थापित गर्न संघर्ष गरिरहेका छन् । केही भोजपुरी फिल्ममा द्वन्द्व निर्देशकको रुपमा कामपछि उनले ‘निरहुवा चलल लन्डन’ नामक फिल्मबाट निर्देशनको कमान्ड सम्हाले । यसपछि उनले फिल्म ‘रण’ को निर्देशन गरे । अहिले उनी तेस्रो भोजपुरी फिल्म ‘माही’ को छायांकन गरिरहेका छन् ।
.jpg)
अब उनी नेपाली फिल्म पनि निर्देशन गर्ने तयारीमा छन् । आफू यसै वर्ष नेपाली फिल्म निर्देशन गर्ने योजनामा रहेको उनले बताए । भोजपुरी फिल्म ‘माही’ को छायांकनका लागि लखनऊमा रहेका उनले फिल्मीखबरसँग फोनवार्तामा भने- ‘मलाई धेरै पहिलादेखि निर्देशनको अफर आएको थियो । तर, म आफैं 'कन्फिडेन्ड' नभएकाले निर्देशन गरिनँ । अब चाहिँ नेपाली फिल्म निर्देशन गर्नेछु ।’
निर्माता द्वय छविराज ओझा र भुवन केसीले आफूलाई फिल्म निर्देशनको अफर गरेको उनी बताउँछन् । छवि ओझाको फिल्मको स्क्रिप्ट फाइनल भइसकेका कारण यो फिल्म अगाडि हुनसक्ने उनले बताए । ‘मैले इन्डस्ट्रीमा छवि बा र भुवन दाईलाई सबैभन्दा बढी सम्मान र विश्वास गर्छु । उहाँहरुले धेरै पहिलादेखि मेरो फिल्म निर्देशन गर भन्नु भएको थियो । अब त्यो दिन आएको छ ।’
फिल्ममा अनमोल केसीलाई निर्देशन गर्ने आफ्नो ठूलो इच्छा रहेको उनले बताए । उनलाई अनमोल अत्यन्त मिहिनेती लाग्छ । ‘कृ’ मा उनले गरेको मिहिनेतबाट आफू प्रभावित भएको चन्द्र बताउँछन् । उनले भने- ‘फिल्म इन्डस्ट्रीमा मलाई अनमोल सबैभन्दा बढी मनपर्छ । ऊसँग केही फिल्ममा काम गरे पनि अझै धित मरेको छैन । अब उसलाई फिल्ममा निर्देशन गर्ने इच्छा चाँडै पूरा हुँदैछ ।’
चन्द्रले भोजपुरी फिल्मलाई पनि निरन्तरता दिने बताएका छन् । नेपाली फिल्मको निर्देशन गरेपछि उनी पुनः अर्को भोजपुरी फिल्मको निर्देशन गर्दैछन् । जसमा उनले भोजपुरी सुपरस्टार दिनेशलाल यादव ‘निरहुवा’ सँग नेपाली अभिनेत्री नीता ढुंगानाको जोडी बाँध्दैछन् । आफूले भोजपुरी फिल्म निर्देशन गर्दा नेपाली कलाकार र प्राविधिकलाई पनि अवसर दिने उनको भनाई छ ।

