Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म क्षेत्रलाई चलायमान बनाउन सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

फिल्मीखबर, काठमाडौं, 2021/08/12
 
किस्ताबन्दीको कोरोना महामारीले फिल्म क्षेत्र सबैभन्दा बढी प्रभावित छ । गत वर्ष ९ महिना फिल्म क्षेत्र पूर्ण रुपमा ठप्प भयो । लकडाउन अन्त्यपछि केही मात्रामा फिल्म निर्माण र प्रदर्शन भए पनि त्यसले फिल्म क्षेत्रलाई प्राण भर्न सकेन । कोरोनाको दोस्रो महामारी फैलिएसँगै फेरि यो क्षेत्र बन्द छ । भीडभाड हुने प्रायः क्षेत्र खुलिसक्दा समेत फिल्म क्षेत्र खुल्ने अझै टुंगो लागेको छैन । 
 
सरकारले फिल्म क्षेत्रलाई चलायमान बनाउन चासो नदेखाएपछि फिल्मकर्मीहरु राजनीतिक दलका नेतासँग भेटवार्तामा जुटेका छन् । बुधवार कलाकार, निर्माता तथा निर्देशक नवल खड्काले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वसभामुख कृष्णबहादुर महरालाई भेट गरेर फिल्म क्षेत्रलाई चलायमान बनाउन सहयोग गरिदिन आग्रह गरेका छन् ।
 
खड्काले प्रचण्ड र महरासँगको भेटमा फिल्म क्षेत्रका समस्या र चुनौतीबारे व्याख्या गरेका थिए । पहिलो र दोस्रो चरणको कोरोना महामारीका कारण धरासायी बनेको फिल्म क्षेत्रलाई माथि उठाउन र नेपाली मौलिक फिल्मको प्रवर्द्धनका लागि विशेष पहल गर्न आफूले आग्रह गरेको उनले बताए । भेटमा दुवै नेताले नेपाली फिल्म क्षेत्रका समस्याप्रति चिन्ता व्यक्त गरेको उनको भनाई छ ।
 
प्रचण्डले फिल्म क्षेत्रका समस्याप्रति आफू गम्भीर रहेको र यस विषयमा आफू र आफ्नो पार्टीको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको अभिनेता खड्काले बताए । प्रचण्डले फिल्म क्षेत्रका गतिविधि खुलाउन पनि पहल गर्ने आश्वासन दिएका छन् । त्यस्तै, पूर्वसभामुख महराले फिल्म क्षेत्रलाई चलायमान बनाउन आफूले विशेष अनुदानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
Most Visited News (monthly)