
पछिल्लो समय बलिउडमा उच्च माग भएका अभिनेता हुन्, अक्षय कुमार । हरेक जनराका फिल्ममा आफूलाई सशक्त रुपमा प्रस्तुत गर्दै आएका उनी कोरोना महामारीभन्दा अगाडि एक वर्षमै ४ देखि ५ वटासम्म फिल्मको छायांकन भ्याउँथे । कोरोना महामारीपछि पनि यो क्रम रोकिएको छैन । कोभिड १९ सुरु भएयता मात्र उनले ५ वटा फिल्मको छायांकन गरिसकेका छन् ।
२०२० मा कोरोनाका कारण भएको लकडाउन अन्त्यपछि अक्षयले फिल्मको छायांकन सुरु गरेका थिए । सबैभन्दा पहिला ‘बेल बटम’, त्यसपछि ‘बच्चन पान्डे’ र ‘अतंरगी रे’ को छायांकन भ्याएका उनी अहिले ‘पृथ्वीराजको छायांकनमा व्यस्त छन् । त्यस्तै, उनको मुख्य भूमिका रहने फिल्म ‘रक्षाबन्धन’ पनि यतिबेला फ्लोरमा छ । आउँदो हप्ता ‘बेल बटम’ सिनेमा हलमा रिलिज हुँदैछ ।
उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘यदी मलाई राम्रो स्क्रिप्टबाट अफर आउँछ भने म फिल्ममा काम गर्न तयार हुन्छु । म राम्रो स्क्रिप्ट कदापी गुमाउन चाहन्नँ । मलाई थाहा छ कि कुनै पनि निर्माताले कुनै कलाकारका लागि प्रतिक्षा गर्न चाहँदैन । विषेशगरी, ओटीटीको यो समयमा आफ्नो स्टार पावर देखाउन बन्द गर्नुपर्छ । स्टार पावर भन्ने केही हुँदैन । सबै स्क्रिप्टमा निर्भर गर्छ ।’

