Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१६ वर्षपछि पर्दामा एकसाथ शिव र भुवन

फिल्मीखबर, काठमाडौं, 2021/08/11
 
एक समय नेपाली फिल्ममा एकछत्र राज गरेका दुई सुपरस्टार शिव श्रेष्ठ र भुवन केसीलाई १६ वर्षपछि एकसाथ काँचको पर्दामा हेर्न पाइने भएको छ । २००५ मा रिलिज भएको शोभित बस्नेत निर्देशित सुपरहिट फिल्म ‘राजु राजा राम’ पछि उनीहरुले सँगै काम गरेका थिएनन् । १६ वर्षपछि शोभितले नै फिल्म ‘डाँडाको बर पीपल’ मा उनीहरुलाई एकसाथ अभिनय गराउन लागेका हुन् । 
 
यो फिल्ममा यसअघि नै शिव श्रेष्ठ अनुबन्ध भइसकेका थिए । उनी फिचर गीत समेत सार्वजनिक भइसकेको छ । भुवनसँग शनिवार निर्माण टिमको कागजी सम्झौता भएको हो । फिल्मभर शिव र भुवनलाई एकसाथ देख्न पाइने शोभित बताउँछन् । उनले भने- ‘चरित्र फरक भए पनि दुवैलाई फिल्ममा सँगै देख्न पाइनेछ । १६ वर्षपछि फेरि उहाँहरुलाई एकसाथ निर्देशन गर्न उत्साहित छु ।’
 
भदौ ५ गते चित्लाङ (मकवानपुर) बाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ । कोरोनाको दोस्रो लहरभन्दा अगाडि फिल्मको मुहूर्त गर्दै छायांकन सुरु गरिएको थियो । तर, गीतको छायांकन हुँदाहुँदै निषेधाज्ञा जारी भयो । अब चित्लाङबाट फिल्मको दृश्य खिच्न सुरु गरिने निर्देशक बस्नेतले बताए । ६० दिनभित्र फिल्मको छायांकन पूरा गर्ने निर्माण टिमको लक्ष्य छ ।
 
नवराज गिरी निर्माता रहेको फिल्ममा गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा र राजिव जंग बस्नेतको पनि मुख्य भूमिका रहनेछ । शान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, रामकाजी घिमिरेको लेखन, शिव मुखिया/एलिस कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य र नवराज गिरीको शब्द रहेको फिल्ममा शिव र गौरी श्रीमान-श्रीमतीको भूमिकामा छन् ।
Most Visited News (monthly)