अहिले नेपाली फिल्ममा सर्वाधिक माग भएका र सिनेमा हलको टिकट काउन्टरमा सर्वाधिक विक्ने अनुहार हुन्, अनमोल केसी । उनी फिल्ममा अनुबन्ध भएदेखि नै फिल्मले हाइप बनाउन सुरु गर्छ । उनले गरेका हरेक क्रियाकलाप मिडियाका लागि मसला बन्छ । उमेरभन्दा पाको स्टारडम बनाएका अनमोल अहिलेको नेपाली फिल्मका ‘नम्बर वान नायक’ हुन भन्दा फरक पर्दैन ।
फिल्मको स्क्रिप्टसहित हस्ताक्षर मात्र गरिएको बैंकको चेक बोकेर उनको घरसम्म पुग्ने निर्माता/निर्देशकको भीड ठूलै छ । उनले फिल्ममा ‘खेल्छु’ मात्र भनिदिए निर्माताहरु आफ्नो बैंक खाता रित्ताउन तयार छन् । तर, अनमोललाई संख्या मात्र बढाउन फिल्ममा काम गर्नु छैन । जबसम्म स्क्रिप्टले मन पगाल्दैन, तबसम्म उनले फिल्म साइन गर्नु भनेको ‘सम्झिनी पानी छम्किनी’ भनेझैँ हो ।
 (2)(4).jpg)
तर, बेला बखतमा उनले गरेको अपरिपक्क निर्णयले दुःख पनि पाएका छन् । स्क्रिप्ट राइटरले सुनाएको ‘वानलाइन स्टोरी’ को भरमा उनले केही फिल्म साइन गरे । जब स्क्रिप्ट फाइनल भयो तब उनले सुरुमा सुनेको ‘वानलाइन स्टोरी’ सँग छेउ-टुप्पै मिलेन । जसका कारण उनले साइन गरिसकेको फिल्म नै छाडिदिए । यो प्रशंगमा एउटा उखान मिल्छ, ‘दुःख पाइस् मंगले आफ्नै ढंगले ।’
कोरोना महामारीका कारण एक वर्ष लगाएर फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन पूरा गरेका अनमोल कोरोनाको दोस्रो लहर नफैलिएको हुन्थ्यो भने यतिबेलासम्म घरको फिल्म ‘पारस’ को छायांकन भ्याइसकेका हुने थिए । तर, कोरोना महामारीले फिल्म पोस्ट प्रोडक्सनमै अड्कियो । उनको पाइपलाइनमा होम प्रोडक्सनको अर्को दुई फिल्म ‘एन्टी हिरो र माइतीघर २’ पनि छ ।
यसैबीच, शनिवार उनले बाहिरी ब्यानरको फिल्म ‘एक्स ९’ साइन गरे । आउँदो जनवरीबाट यो फिल्मको छायांकन सुरु हुँदैछ । उनले नयाँ फिल्म साइन गरेसँगै होम प्रोडक्सनका तीन फिल्म अलपत्र परेका छन् । स्क्रिप्ट ‘लक’ भइसकेको घरको फिल्म छाडेर अनमोल बाहिरी ब्यानरको फिल्ममा काम गर्न राजी हुनुले ‘पारस, एन्टी हिरो र माइतीघर २’ निर्माण हुनेमा शंका उब्जिएको छ ।
यद्यपि, उनले ‘एक्स ९’ पछि घरको फिल्म गर्ने बताएका छन् । तर, यसका लागि उनीभन्दा पनि उनका पिता भुवन केसी तयार हुनुपर्नेछ । भुवनले घरको फिल्मलाई रोकेर छोरालाई बाहिरी ब्यानरको फिल्म साइन गर्न अनुमति दिनुले उनी तत्काल फिल्म निर्माणको योजनामा नभएको बुझ्न सकिन्छ । अनमोल पनि घरभन्दा पहिला बाहिरी ब्यानरको फिल्म गर्न हतारिएको देखिन्छ ।

