(1)(2).jpg)
कोरोना महामारीका कारण विगत डेढ वर्षदेखि फिल्मको काम ठप्पझैँ छ । गत वर्ष लकडाउन अन्त्यपछि फिल्म क्षेत्र जुर्मुराउन थालिसकेको थियो । तर, कोरोनाको दोस्रो महामारी फैलिएसँगै सरकारले तीन महिनामै फेरि फिल्म क्षेत्रका गतिविधिमा रोक लगायो । कोरोना महामारीले धरासायी अवस्थामा पुगेको फिल्म क्षेत्र अब कहिलेदेखि सञ्चालनमा आउँछ अन्योलको स्थिति छ ।
निषेधाज्ञा खुकुलो भएसँगै म्यूजिक भिडियोको छायांकन सुरु हुँदा फिल्मका धेरै कलाकारहरुले निरन्तर काम पाइरहेका छन् । जसले गर्दा उनीहरुलाई फिल्मको न्यास्रो लागेको छैन । तर, फिल्मबाहेक अरुतिर ध्यान नदिएका कलाकारहरु भने महिनौदेखि फुर्सदिला छन् । पाइपलाइनमा फिल्मको ताँती भए पनि कोरोनाका कारण छायांकन सुरु नहुँदा उनीहरु चिन्तित देखिएका छन् ।
कोरोना महामारीभन्दा अगाडि अभिनेता सौगात मल्ल फुर्सदमा कमै बस्न पाउँथे । एउटा फिल्मको छायांकन नसकिँदै उनी अर्को फिल्ममा अनुबन्ध भएको खबर मिडियामा आइसक्थ्यो । उनको हातमा २/३ वटा फिल्म टुट्दैन थिए । अफर आएका फिल्म अस्वीकार गर्ने उनको बानी थिएन र छैन । तर, कोरोना संक्रमणका कारण डेढ वर्षदेखि उनको दैनिकी घरभित्रै वितिरहेको छ ।
लकडाउन अन्त्य भएपछि उनी फिल्म ‘कबड्डी ४’ को छायांकनमा निस्कने तयारीमा थिए । तर, फिल्मको मुहुर्त भएको केही दिनमा नै कोरोनाको दोस्रो महामारीका कारण सरकारले छायांकनमा प्रतिबन्ध लगायो । अब यो फिल्मको छायांकन कहिलेबाट सुरु हुन्छ, निर्माण टिमलाई नै थाहा छैन । उनले लकडाउनअघि अभिनेत्री रेखा थापाको एक अनटाइटल प्रोजेक्ट पनि साइन गरेका थिए ।
लकडाउनपछि उनले निर्देशक आकाश अधिकारीको फिल्म साइन गरे । आइतवार उनी फेरि अर्को फिल्ममा अनुबन्ध भएका छन् । उनले फिल्म ‘एक्स ९’ साइन गरेका हुन् । उनी निर्देशक निश्चल बस्नेतको फिल्म ‘जिन्दावाद’ मा पनि काम गर्ने तयारीमा छन् । यसरी हेर्दा स्थिति सामान्य भएर फिल्मको छायांकन सुचारु भएपछि एक वर्षका लागि सौगातको सेड्युल ‘प्याक’ हुने देखिन्छ ।
उनको पाइपलाइनमा मात्र होइन, रिलिजको तयारीमा रहेका फिल्मको पनि कमी छैन । उनी अभिनीत ‘माइकल अधिकारी, राधा, लप्पन छप्पन २, मन्त्र, घनचक्कर, मासु भात’ फिल्म प्रदर्शनको पखाईमा छन् । फिल्म ‘लुट’ मा ‘हाकु काले’ को भूमिका निर्वाह गरेपछि एकाएक चम्किएका सौगात मल्लले पछिल्लो समय गुणस्तरीय फिल्मभन्दा संख्यात्मक अभिनयमा जोड दिएको देखिन्छ ।

