
फिल्म ‘ग्याङस्टार ब्लूज’ का निर्माता सरोज न्यौपानेको ‘अनन्या फिल्मस्’ र दक्षिण भारतीय कम्पनी ‘एन्जल मारिया सिनेमाज्’ ले निर्माण गरेको साउथ फिल्म ‘थिरिमाली’ को सुटिङ प्याकअप भएको छ । भारतको मनालीको दृश्य कैद गर्दै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्माता न्यौपानेले जानकारी दिए । फिल्मको मध्यान्तरपछिको दृश्य निषेधाज्ञाअघि नेपालमै खिचिएको थियो ।
मनालीको दृश्य पनि नेपालको मुस्ताङ्गमा खिचिने तय भएको थियो । तर, कोरोनाका कारण सरकारले फिल्म छायांकनको अनुमति नदिएकाले नेपालको दृश्य भारतको मनालीमा कैद गरिएको हो । ‘थिरिमाली’ मा दक्षिण भारतीयसँगै नेपाली कलाकारहरु स्वस्तिमा खड्का, माओत्से गुरुङ, उमेश तामाङ लगायतको पनि अभिनय रहेको छ । उनीहरुको भागको छायांकन नेपालमै भएको हो ।
आइतवार निर्माण टिमले माओत्से गुरुङ फिचर सुटिङ सेटका केही तस्विरहरु सार्वजनिक गरेको छ । जसमा उनी नेपालको पहाडी क्षेत्रमा दृश्य दिँदै देखिएका छन् । फिल्ममा उनको महत्त्वपूर्ण भूमिका रहेको छ । स्वस्तिमाको भूमिका भने दर्शकका लागि सरप्राइज हुने निर्माता न्यौपानेले बताए । हिन्दीसहित मलयालम, कन्नड, तमिल र तेलूगू भाषामा फिल्म रिलिज हुने बताइएको छ ।

राजिव सेट्टीको निर्देशन रहेको फिल्ममा भारतीय कलाकार विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मा लगायत मुख्य भुमिकामा छन् । निर्माण टिमले छायांकन सुरु हुनुभन्दा अगाडि नै फिल्मको मोशन पोस्टर सार्वजनिक गरेको थियो । निर्माता न्यौपानेले नेपाल र भारतमा स्थिति सहज भएर पूर्ण रुपमा सिनेमा हलहरु खुलेपछि फिल्म प्रदर्शन गरिने बताए ।

