.jpg)
मंसिर, लगनको महिना । यो महिनामा धेरैको लगनगाँठो बाँधिन्छ । यस वर्ष कोरोना भाइरसको जोखिमका कारण केही समस्या देखिएपनि मंसिरको प्रभाव कम छैन । लगनको महिनामा उमेर पुगेका छोरा-छोरीलाई परिवारबाट विवाहको लागि दबाब पनि हुन्छ । अविवाहित नेपाली सेलिब्रेटीहरुलाई पनि मंसिर महिना सुरु भएपछि परिवारबाट विवाहका लागि दबाब आउने गरेको छ ।
‘ब्लाइन्ड रक्स’ फेम्ड अभिनेत्री बेनिशा हमालले विगत तीन वर्षदेखि आफूले विवाहको दबाब सामना गरिरहेको बताएकी छन् । शनिवार सामाजिक सञ्जाल फेसबुकमा आफ्ना नजिकका साथीहरुको विवाहमा उपस्थित भएका तस्विरहरु शेयर गर्दै उनले घरपरिवार, आफन्त, साथी, साथीका साथी, शुभचिन्तक र मिडियाकर्मीबाट विवाहको दबाब महशुस गरेको उल्लेख गरेकी छन् ।
‘तपाईं कसैसँग सम्बन्धमा भए वा नभए पनि एक महिलालाई विवाह गर्नका लागि दबाब आउने गर्दछ । विगत तीन वर्षमा मैले परिवार, आफन्त, साथी, अनुयायी र मिडियाबाट धेरै दबाब महशुस गरेको छु,’ उनले लेखेकी छन् । विवाहको दबाबले कहिले काहिँ तनावपूर्ण पनि हुने उनले बताएकी छन् । अहिले उनी ‘कबड्डी’ का निर्माता रौनक विक्रम कँडेलको प्रेममा रहेको चर्चा छ ।
डेढ वर्ष अगाडि फिल्म ‘घर’ मा देखिएकी बेनिशाले कोरोना महामारीभन्दा अगाडि ६ महिना मुम्बई बसेर फिल्म मेकिङ (फिल्म निर्माण, निर्देशन र लेखन) को अध्ययन गरेकी थिइन् । नेपालमा लकडाउन हुनुभन्दा एक हप्ता अगाडि नेपाल आएकी उनी माघ अन्तिमबाट फिल्म ‘भाँडाकुटी’ को छायांकनमा व्यस्त हुँदैछिन् । यसमा उनको जोडी अभिनेता मुकुन भुषालसँग बाँधिएको छ ।

