कोरोनाको संक्रमण फैलने भयले सरकारले सबैभन्दा अगाडि सिनेमा हल सञ्चालनमा रोक लगाएको थियो । यसको केही दिनमा देश लकडाउन भएपछि अन्य क्षेत्र पनि बन्द भए । तर, अहिले भीडभाड हुने प्रायः सबै क्षेत्र खुलिसकेका छन् । फिल्म क्षेत्रमाथिको प्रतिबन्ध भने कायमै छ । ९ महिनादेखि फिल्म क्षेत्र ठप्प हुँदा यस क्षेत्रमा आश्रित फिल्मकर्मीहरु अन्य पेशा रोज्न बाध्य भएका छन् ।
(2).jpg)
फिल्म सम्बद्ध संघ-संस्थाहरुले फिल्म क्षेत्रमाथिको प्रतिबन्ध हटाउन सरकारका विभिन्न मन्त्रालय तथा विभागहरूलाई पटक-पटक आग्रह गर्दा पनि त्यसको सुनुवाई भएको छैन । केही हप्ता अगाडि ६ वटा फिल्म सम्बन्धित संघ-संस्थाले पत्रकार सम्मेलन गर्दै फिल्म क्षेत्रलाई सञ्चालन अनुमति नदिए आन्दोलनमा उत्रने चेतावनी दिएका थिए । तर, अहिले ती संस्थाहरु कहाँ छन्, पत्तो छैन ।
फिल्म क्षेत्रप्रति सरकारले देखाएको उदासिनताले फिल्मकर्मीहरु निराश र आक्रोशित भएको अवस्थामा निर्माता तथा हल सञ्चालक प्रदीप कुमार उदयले सरकारले यो क्षेत्रका संघ-संस्थाको अस्तित्व स्विकार्न गर्न नसकेको र संघ-संस्थाले आफ्नो अस्तित्व देखाउन नसकेको आरोप लगाएका छन् । सरकारलाई दबाब दिन फिल्मकर्मीबीच हिम्मत र एकता नभएको पनि उनको भनाई छ ।
उनले लेखेका छन्, ‘सरकारको चलचित्र क्षेत्रप्रतिको उदासिनता देख्दा यी दुई कुरा पुष्टि भएको छ । १. कोरोना सर्ने मुख्य क्षेत्र चलचित्र क्षेत्र रहेछ । विशेष गरेर चलचित्र घर । २. चलचित्रकर्मीहरू यो देशको नागरिक होइन र सरकारको यिनीहरूप्रति कुनै दायित्व छैन । होइन भने सरकारले चलचित्रकर्मीहरूलाई भन्न सक्नु पर्यो यो कारण चलचित्र क्षेत्र खोल्ने स्विकृति नदिएको भनेर ।’
फिल्म क्षेत्रलाई पुनः सञ्चालनमा ल्याउन उद्योग बाणिज्य महासंघले चासो र चिन्ता लिनु पर्दैन भनेर पनि उनले प्रश्न गरेका छन् । सरकारलाई देशमा फिल्म क्षेत्र पनि छ भन्ने सम्झना भएपछि मात्र फिल्म क्षेत्र खोल्न उनको सुझाव छ । सरकारले फिल्म क्षेत्रमाथिको प्रतिबन्ध नहटाउँदा सबैभन्दा समस्या हल सञ्चालकलाई भएको छ । उनीहरुको करोडौंको लगानी जोखिममा परेको छ ।

