
श्रीमानको निधन भएपछि महिलाले जीवनभर विधवा भएर बस्नुपर्ने रुढीबादी सोच नेपाली समाजमा विद्यमान छ । एकल महिलाको पुनर्विवाहलाई समाजले नकारात्मक दृष्टि हेर्ने गरेको छ । तर, श्रीमतीको निधन भएको एक महिनामा नै पुरुषले दोस्रो विवाह गर्दा समाजले कुनै प्रश्न उठाउँदैन । पछिल्लो समय भने एकल महिलाले पतिको मृत्युपश्चात दोस्रो विवाह गरेका उदाहरण धेरै छन् ।
अभिनेत्री श्वेता खड्काले पनि श्रीमानको निधनको ६ वर्षपछि सोमवार दोस्रो विवाह गरिन् । उनको यो निर्णयले समाजको डरले एकल जीवन विताउन बाध्य महिलाहरुका लागि हौसला मिलेको छ । अभिनेत्री करिश्मा मानन्धरले श्वेताको निर्णयलाई एउटा उदाहरणीय सुरुवात भनेकी छन् । समाजमा जनजागरण फैलाउन कहिले काहिँ आफैं उदाहरण बनेर दिनुपर्ने उनको भनाई छ ।
सोमवार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उनले लेखेकी छन्, ‘आएको हरेक परिस्थितिको सामना गर्दै, साथै समाजका मुल्य मान्यतालाई कायम राख्दै र मान्दै जीवनलाई हिम्मतका साथ जिउन ठूलो आँट चाहिन्छ । यस्तोमा कतिपय अवस्थामा आफ्ना भावनाहरुलाई पैताला मुनी कुल्चिनु पर्ने स्थिति पनि आउँछ । हरेक मानिसको खुसी भएर बाँच्न पाउने अधिकार छ ।’
‘पुरुष प्रधान मानसिकता रहेको हाम्रो यो समाजमा ठूला-ठूला आवाजमा कस्तो प्रकारको महिला सशक्तिकरणका कुरा गरिरहेका छौं हामी ? जो विचरी अवस्थामा छिन् र अरुको सहयोगको अपेक्षा गरेर आँखा तानेर बसेकी छिन् या जो हिम्मतका साथ ती सबै समस्याहरुसँग जुधेर आफूलाई भित्रैबाट सशक्तिकरण गरेर आफ्नो लागि नयाँ बाटोको निर्माण गर्दैछिन् र यो पनि समाजको अगाडि प्रस्तुत भएर गर्दैछिन् । यो एउटा उदाहरणीय सुरुवात हो,’ उनले लेखेकी छन् ।
जीवनका परेका भवितव्यबाट लथालिङ्ग नभइ त्यसबाट सिकेर बलियो भएर अगाडिको बाटो बनाउनु पर्ने उनको भनाई छ । श्वेतालाई बैबाहिक जीवनको शुभकामना दिँदै उनले अगाडि लेखेकी छन्, ‘समाजमा जनजागरण कहिले काहिँ आफैं उदाहरण बनेर पनि दिनुपर्छ । तिम्रो हिजोको स्टाटस लेखाइमा भएको तिम्रा भाव बुझेँ जस्तो लागेर यी शब्दहरु लेख्दैछु । नवीन बैबाहिक जीवनको शुभकामना श्वेता । तिमी वास्तविक जीवनको नायिका हौ ।’

