
आगामी चैत ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘११:५५’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक साढे तीन मिनेट लम्बाईको ट्रेलरमा विवाहेत्तर सम्बन्ध र सम्पत्तिका लागि भएको धोका, षड्यन्त्र र अपराधलाई केन्द्रमा राखिएको छ । फिल्मको कथा मध्यराति ११ः५५ बजे घटेको एउटा घटनामा केन्द्रित रहेको ट्रेलरले प्रष्ट पार्छ ।

यही फागुन २९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘आउट ल : दफा २१९’बाट अभिनेता सुशील श्रेष्ठले ५ वर्षपछि कमब्याक गरेका हुन् । यसमा उनी एक्सन भूमिकामा छन् । उनले ज्यानलाई जोखिममा राखेर समेत फिल्मका लागि दृश्य दिएका छन् । फिल्मका दुई दृश्यमा उनको शरीरको पछाडिको भाग र हातमा आगो बालिएको छ । यस्तो दृश्य उनले फिल्ममा पहिलो पटक दिएका हुन् ।

‘स्टार’ जन्माउने फ्रेन्चाइजको रुपमा चिनिएको ‘होस्टेल’को तेस्रो श्रृंखला यही शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा छ । ‘टिकटक स्टार’देखि ‘स्टार किड्स’सम्मको अभिनय रहेको फिल्मलाई एकल रिलिजको दुर्लभ अवसर मिलेको छ । शुक्रबार रिलिजमा दुई हलिउड फिल्म भए पनि नेपालीतर्फ ‘होस्टेल ३’ एक्लै लाग्दैछ । यसैले देशभरका मल्टीप्लेक्सहरूमा फिल्मले राम्रो शो पाएको छ ।

२०७९ सालमा प्रदर्शन भएको फिल्म ‘छड्के २’का निर्माता प्रशान्त गिरीले नयाँ फिल्मको रुपमा ‘जवाफ’ निर्माणको घोषणा गरेका छन् । उनले बुधबार एआई (आर्टिफिसियल इन्टेलिजेन्स)बाट तयार पारिएको थिम पोस्टर सार्वजनिक गर्दै फिल्म घोषणा गरेका हुन् । पोस्टरले फिल्म एक्सन-थ्रिलर जनरामा बन्ने संकेत गर्छ ।

सुदीप भुपाल सिंहले सात वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को प्रदर्शन मिति घोषणा बिनै बुधबार दोस्रो टिजर सार्वजनिक गरिएको छ । डेढ मिनेट लम्बाइको टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । अभिनेत्री लक्ष्मी गिरीले गम्भीर भावमा वाचन गरेको कविताको अंशबाट सुरु भएको टिजरमा एउटा परिवारको कथालाई प्रस्तुत गरिएको छ ।

हिमाल न्यौपानेको निर्देशनमा बन्न लागेको फिल्म ‘जनै हराएको बाहुन’मा कलाकारको लाइनअप रोचक बनिरहेको छ । कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड अभिनेता विजय बरालको मुख्य भूमिका रहने फिल्ममा अब दुई अभिनेत्रीको प्रवेश भएको छ । उनीहरु हुन्, केकी अधिकारी र मिरुना मगर । फिल्मका निर्माताले गत सोमबार दुवै अभिनेत्रीसँग लिखित सम्झौता गरेका हुन् ।

