
आगामी बैशाख १२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘भूठान’को पहिलो गीत ‘कागजको खोस्टो’ सार्वजनिक गरिएको छ । गीतमा पुष्पन प्रधानको स्वर तथा संगीत र नवराज पराजुलीको शब्द रचना छ । नवराज पराजुलीको युट्युब च्यानलबाट सार्वजनिक गीतले आफ्नो देश फर्किन नपाएको आप्रवासीको व्यथा बोलेको छ । गीतमा नवराजको वाचन गरेको कविता पनि सुन्न सकिन्छ ।

ऋषिराज आचार्यको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘द्रोपदी’को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेटभन्दा लामो ट्रेलरले कथावस्तुबारे महत्त्वपूर्ण खुलासा गर्छ । फिल्मले नेपालमा विद्यमान बहुपति प्रथाको कथा उठाएको छ । रोजगारीका लागि विदेश गएका श्रीमानको दाजुभाईसँग सम्बन्ध राख्न बाध्य पारिएकी एक महिलाको कथालाई ट्रेलरले मर्मस्पर्शी रुपमा देखाएको छ ।

आगामी फूलपातीबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बलिदान’मा अभिनेता समीर भट्टको जोडी बनेकी अभिनेत्रीलाई निर्माण टिमले छायांकन अवधिभर सार्वजनिक गरेन । पोस्टरबाट अभिनेत्री सार्वजनिक गर्ने रणनीति निर्माताको थियो । तर, छायांकनकै क्रममा फिल्मकी मुख्य अभिनेत्री कविता राय रहेको खबर केही मिडियामा चुहियो । अन्ततः उक्त खबरमा सत्यता देखिएको छ ।

अभिनेत्री तथा निर्मात्री निशा अधिकारी कार्यकारी निर्माता रहेको फिल्म ‘माया प्रीति’मा ‘एक्टर’ डेब्यु गर्ल अभिनेत्री दिव्या रायमाझी मुख्य भूमिकामा देखिँदैछिन् । यसमा उनको जोडी कोसँग बाँधिनेछ भन्ने निश्चित भइसकेको छ । फिल्मवृतमा भने अभिनेता प्रदीप खड्काको नाम चर्चामा छ । तर, शुक्रबार निर्माण टिमले एक पोस्टरमार्फत दिव्याको जोडीका लागि अडिसन आह्वान गरेको छ ।

अचेल नेपाली फिल्मलाई एकल रिलिजको अवसर विरलै मिल्ने गरेको छ । फिल्म निर्माणको संख्या बढ्दा एउटै मितिमा २/३ वटा फिल्म भिडिरहेका हुन्छन् । गत साता मात्र तीनवटा फिल्म प्रदर्शनमा आएका थिए । तर, फिल्म ‘होस्टेल ३’ले भने एकल रिलिजको दुर्लभ अवसर पाएको छ । शुक्रबारदेखि प्रदर्शनमा उत्रिएको यो फिल्मसँग बक्स अफिस स्पर्धामा अरु कुनै नेपाली फिल्म छैनन् ।

अभिनेत्री गौरी मल्ललाई मातृशोक परेको छ । उनकी आमा हेमाकुमारी मल्लको ८८ वर्षको उमेरमा बिहीबार दिउँसो २:१५ बजे उपचारको क्रममा शहीद गंगालाल अस्पतालमा निधन भएको छ । उनी लामो समयदेखि मुटुको समस्याबाट पीडित थिइन् ।

