
वर्ष २०८२ सुरु भएसँगै नयाँ फिल्म घोषणाको लहर नै चलेको छ । नयाँ वर्षको पहिलो दिन अर्थात् बैशाख १ गते मात्र करिब आधा दर्जन नयाँ फिल्म घोषणा भए । बुधबार अर्को एक फिल्मको निर्माण घोषणा गरिएको छ । त्यो फिल्म हो, ‘मैना’ । चन्द्र कुमार भट्टराईको निर्देशनमा बन्न लागेको यो फिल्म क्राइम-थ्रिलर जनरामा बन्नेछ ।

यही बैशाख १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘भूठान : घर हराएको मान्छे’को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे महत्त्वपूर्ण खुलासा गर्छ । तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका पुगेका भुटानी शरणार्थीको कथा ट्रेलरमा छ । एक पात्रले आफ्नो देश भुटान फर्किन गरेको प्रयासलाई ट्रेलरमा मर्मस्पर्शी रुपमा देखाइएको छ ।

आगामी मे १३ देखि २१ तारिखसम्म हुन लागेको विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभल अन्तर्गतको ‘प्रोड्युसर्स नेटवर्क’का लागि निर्देशक तथा निर्माता प्रदीप शाही चयन भएका छन् । कान्सले विश्वभरका निर्माताहरुलाई अन्तर्राष्ट्रिय नेटवर्क निर्माण गर्न सन् २००३ बाट यो कार्यक्रम सुरु गरेको थियो । यसमा वर्षेनि संसारभरबाट ४ सयभन्दा धेरै फिल्म निर्माताहरुले भाग लिने गरेका छन् ।

आगामी बैशाख २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ऊनको स्वीटर’को ‘काफ्ले’ बोलको गीत सार्वजनिक गरिएको छ । मङ्गलवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गीतमा युवराज काफ्लेको शब्द रचना, झुमा लिम्बुको सङ्गीत तथा झुमा र सुजन चापागाईँको युगल गायन रहेको छ । कार्यक्रममा झुमा र सुजनले प्रत्यक्ष प्रस्तुति समेत दिएका थिए ।

अभिनेता पल शाहले अब फिल्म निर्माण गर्ने भएका छन् । सोमबार उनले सामाजिक सञ्जालमार्फत् फिल्म ‘यानीमाया’को निर्माण घोषणा गरे । पल शाह फिल्म्सको ब्यानरमा बन्न लागेको फिल्मलाई विकास सुवेदीले निर्देशन गर्नेछन् । उनले यसैबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । यसअघि पललाई लिएर उनले थुप्रै म्यूजिक भिडियो बनाएका छन् । उनीहरूबीच निकै घनिष्ट सम्बन्ध छ ।

अशोक शर्माको निर्देशनमा बन्न लागेको फिल्म ‘डबल ट्रिपल’को गत महिना निर्माण घोषणा गर्दै दशैंको फूलपातीलाई प्रदर्शन मिति तय गरिएको थियो । तर, फूलपातीमा धेरै फिल्म आउने भएपछि निर्देशक शर्माले प्रदर्शन मिति हेरफेर गरेका छन् । अब उनको फिल्म भ्यालेनटाइन डेको अवसर पारेर आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

