
काठमाडौं । ‘द ब्याटम्यान’ र ‘द ओडिसी’पछि अभिनेता रोबर्ट प्याटिन्सन अब जेम्स बन्डजस्तो प्रतिष्ठित भूमिका निर्वाह गर्ने तयारीमा छन् । केही दिनअघि निर्माता कम्पनी अमेजन एमजीएम स्टुडियोले उनलाई नयाँ जेम्स बन्डका रूपमा सार्वजनिक गरेको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनी जेम्स बन्डका आगामी तीनवटा फिल्ममा देखिनेछन् ।
रोबर्ट फिल्ममा अनुबन्ध भएसँगै उनको पारिश्रमिकलाई लिएर पनि चर्चा सुरु भएको छ । बेलायती अखबार ‘द मिरर’का अनुसार उनले फिल्मका लागि अडिसन दिन मात्रै १० लाख अमेरिकी डलर (७ लाख ६० हजार पाउन्ड) पाएका थिए । उनले तीनवटा फिल्मका लागि भने करिब ७ करोड ५० लाख अमेरिकी डलर अर्थात् ५ करोड ७३ लाख पाउन्डको सम्झौता गर्न लागेको चर्चा छ ।
यो सम्झौता भए रोबर्टले एउटा फिल्मबाट औसत २ करोड ५० लाख अमेरिकी डलर पारिश्रमिक पाउनेछन् । यो रकम ‘स्पेक्टर’ र ‘नो टाइम टु डाइ’मा अभिनय गरेबापत ड्यानियल क्रेगले पाएको पारिश्रमिककै हाराहारीमा हुनेछ । यद्यपि, प्याटिन्सन र अमेजन एमजीएम स्टुडियो दुवैले उनको पारिश्रमिकबारे आधिकारिक रूपमा केही खुलाएका छैनन् ।
जेम्स बन्डको भूमिकाले रोबर्टको करिअरलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ । फिल्म ‘द ट्वाइलाइट सागा’मा एडवर्ड कलेनको भूमिका निर्वाह गरेपछि उनी विश्वभर चर्चित भएका थिए । त्यसपछि उनले ‘गुड टाइम’, ‘टेनेट’, ‘द ड्रामा’ र ‘द लाइटहाउस’जस्ता फिल्मबाट अभिनयको प्रशंसा बटुले । अब जेम्स बन्ड चरित्रमा उनको अभिनय कस्तो रहन्छ भन्ने चासो बढेको छ ।

